कर्मचारी सरुवा र धितो लिलामी नियमित प्रक्रिया हो, भ्रामक प्रचार नगरियोस्: प्रभु बैंक
काठमाडौं । प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक, यसको सञ्चालक, पदाधिकारी तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित र प्रसारित भएका भ्रामक तथा आधारहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रेस विज्ञप्ति जारी गर्दै बैंकले तथ्य र प्रमाणविनाका सामग्रीले संस्थाको प्रतिष्ठामात्र होइन, सार्वजनिक विश्वाससमेत प्रभावित हुने भएकाले यस्ता गतिविधिप्रति आफ्नो गम्भीर असहमति रहेको स्पष्ट पारेको छ।
तथ्यहीन समाचारले संस्थागत छवि, सञ्चालक तथा पदाधिकारीहरूको व्यक्तिगत मान–मर्यादा, बैंकिङ प्रणालीप्रतिको जनविश्वास र नियामक निकायप्रतिको धारणा समेत अनावश्यक रूपमा प्रभावित पार्ने भन्दै बैंकले जिम्मेवार पत्रकारिताको अभ्यास गर्न आग्रह समेत गरेको छ।
प्रभु बैंकले कर्मचारी सरुवा, कार्य जिम्मेवारीमा गरिने हेरफेर, आन्तरिक व्यवस्थापन, कर्जा असुली प्रक्रिया तथा धितो लिलामी सूचना प्रकाशनजस्ता विषय बैंकिङ व्यवसायका नियमित प्रशासनिक र व्यावसायिक प्रक्रिया भएको स्पष्ट पारेको छ। यस्ता नियमित कार्यलाई आधार, प्रमाण वा आधिकारिक पुष्टि बिना नकारात्मक रूपमा प्रस्तुत गर्नु पत्रकारिताको व्यावसायिक आचारसंहितासँग मेल नखाने बैंकको भनाइ छ।
केही कर्जा फाइलसँग सम्बन्धित विषयमा अधिकारप्राप्त निकायबाट अनुसन्धान भएको र सम्बन्धित मुद्दा सक्षम अदालतमा विचाराधीन रहेको उल्लेख गरिएको छ। बैंकले नियामकीय व्यवस्था तथा प्रचलित कानुनको पूर्ण पालना गर्दै आवश्यक जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण र सुधारात्मक उपायहरू कार्यान्वयन गरिरहेको तथा भविष्यमा यस्ता कमजोरी दोहोरिन नदिन थप सुदृढ प्रणाली अवलम्बन गर्ने प्रतिबद्धता पनि जनाएको छ।
त्यस्तै, सञ्चालक समिति र व्यवस्थापनबाट हुने सम्पूर्ण निर्णय सम्बन्धित कानुन, नेपाल राष्ट्र बैंकको निर्देशन तथा नियामकीय मापदण्डअनुसार नै हुने बैंकले दोहोर्याएको छ। आगामी दिनमा पनि सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेर बैंक सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरेकाे छ।













