एकै वर्षमा झण्डै ८ लाख नयाँ व्यक्तिगत प्यान दर्ता, कुल करदाता कति ?
काठमाडौं । नेपालमा करदाता दर्ता संख्या ८४ लाख नाघेको छ । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म देशभर ८४ लाख २१ हजार ८०४ करदाता दर्ता भएका छन्।
मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल करदातामध्ये व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या सबैभन्दा धेरै रहेको छ। आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म कुल ५६ लाख ९६ हजार ७०८ जनाले व्यक्तिगत प्यान लिएका छन्।
त्यस्तै, व्यावसायिक प्यान लिने करदाताको संख्या २१ लाख ७४ हजार ९९२ पुगेको छ।
यस्तै, सरकारी कार्यालय, मन्त्रालय, अदालत तथा संवैधानिक निकायका लागि प्रयोग हुने डब्लू प्यानमा दर्ता हुने करदाताको संख्या ३९ हजार १६४ पुगेको मन्त्रालयले जनाएको छ।
गत आर्थिक वर्षमा मात्रै व्यक्तिगत प्यान लिनेको संख्या ७ लाख ९३ हजार ९८६ ले बढेको छ। सोही अवधिमा १ लाख १४ हजार ३३४ नयाँ व्यावसायिक प्यान दर्ता भएका छन् भने डब्लू प्यान लिने करदाता ३ हजार २९४ ले वृद्धि भएका छन्।
मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ पनि करदाता दर्तामा वृद्धि देखिएको छ। आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म ३ लाख ७८ हजार २६८ करदाता भ्याटमा आबद्ध भएका छन्। समीक्षा अवधिमा मात्र २६ हजार ५३३ नयाँ करदाता भ्याट प्रणालीमा दर्ता भएका छन्।
त्यसैगरी, अन्तःशुल्क तर्फ दर्ता भएका करदाताको संख्या १ लाख ३२ हजार ६७२ पुगेको छ। एक वर्षको अवधिमा अन्तःशुल्कतर्फ ७ हजार ६७५ नयाँ करदाता थपिएका हुन्।
अर्थ मन्त्रालयका अनुसार सार्वजनिक गरिएको विवरण सक्रिय करदाताको तथ्यांकमा आधारित हो। मन्त्रालयले करदाताको दायरा विस्तार हुँदै जानुले औपचारिक अर्थतन्त्रको विकास र कर प्रशासनको पहुँच विस्तार हुँदै गएको रुपमा बुझिएको छ।














