चार वर्षमा सामाजिक उद्यमशीलताको नयाँ अध्याय लेख्दै नबिल एसएसई
काठमाडौँ । एउटा सफल उद्यमको सुरुवात कहाँबाट हुन्छ? धेरैले यसको उत्तर ‘पूँजी’ भन्ने गर्छन्। तर अनुभवले देखाएको छ, पूँजीभन्दा पहिले आवश्यक हुन्छ सही सोच, त्यस सोचलाई दिशा दिने ज्ञान, चुनौती पार गर्न सिकाउने अनुभव, साथ दिने मार्गदर्शक र अवसरसँग जोड्ने सञ्जाल । यी आधारबिना धेरै सिर्जनशील व्यावसायिक अवधारणाहरू जन्मिन नपाउँदै हराउने गरेका छन्।
नेपालमा हरेक वर्ष हजारौँ युवाले आफ्नै व्यवसाय गर्ने सपना देख्छन्। कसैले नयाँ प्रविधिको कल्पना गर्छ, कसैले कृषि, शिक्षा, पर्यटन वा वातावरणको क्षेत्रमा परिवर्तन ल्याउने योजना बनाउँछ। तर तीमध्ये धेरै सपना व्यवसायमा परिणत हुन सक्दैनन्। कारण एउटै हुन्छ- नयाँ सोचलाई व्यवहारमा उतार्ने वातावरणको अभाव।
व्यवसाय कसरी सुरु गर्ने? लगानीकर्ता कहाँ भेट्ने? बजार कसरी बुझ्ने? कानुनी प्रक्रिया के हुन्छ? व्यवसायिक योजना कसरी बनाउने? ग्राहकसम्म कसरी पुग्ने? यस्ता अनगिन्ती प्रश्नहरूको जवाफ नपाउँदा धेरै सम्भावनाहरू कागजमै सीमित हुने गरेका छन्। परिणामतः सिर्जनशील सोच बोकेका धेरै युवा रोजगारी खोज्ने भीडमा मिसिन्छन्, जबकि उनीहरू आफैँ रोजगारी सिर्जना गर्न सक्ने क्षमता बोकेका हुन्छन्।
यही यथार्थलाई बदल्ने उद्देश्यसहित चार वर्षअघि एउटा फरक अभियान सुरु भयो-नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) । नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सन् २०२१ नोभेम्बर २६ मा औपचारिक रूपमा सुरु गरिएको यो कार्यक्रमले उद्यमशीलतालाई केवल नाफा कमाउने माध्यमका रूपमा होइन, समाजका समस्या समाधान गर्ने शक्तिका रूपमा हेर्ने दृष्टिकोण विकास गरिरहेको छ।

कोरोनाको संकटबाट जन्मिएको एउटा सम्भावना
नबिल एसएसईको अवधारणा कुनै संयोग थिएन। यसको सुरुवात एउटा गम्भीर राष्ट्रिय आवश्यकता महसुस गरिएपछि भएको हो। यो ठ्याक्कै कोभिड–१९ महामारी लगत्तैको समय थियो। महामारीले नेपालको अर्थतन्त्रलाई गहिरो असर गरिरहेको बेला हजारौँ उद्योग–व्यवसाय प्रभावित भए। रोजगारी गुम्ने क्रम बढ्यो। धेरै युवाले भविष्यबारे अन्योल महसुस गरे।
तर ती युवासँग उत्साह थियो, प्रणाली थिएन। विचार थियो, तर त्यसलाई व्यवसायमा बदल्ने संरचना थिएन। उनीहरूलाई सिकाउने, परीक्षण गराउने, सुधार गर्ने, अनुभवी व्यक्तिसँग जोड्ने र आवश्यक वित्तीय पहुँचसम्म पु¥याउने एउटा संगठित प्रणालीको अभाव थियो।
यही आवश्यकतालाई मनन गर्दै नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) मार्फत नेपालमा केवल अल्पकालीन सहयोग मात्र गरेर पुग्दैन, बरु अलि दिगो र दीर्घकालीन प्रभाव ल्याउने खालको काम गर्नुपर्छ भन्ने सोचले सामाजिक उद्यमशीलता विकासमा लगानी गर्ने निर्णय ग¥यो।
यसका लागि भारतमा सफलतापूर्वक सञ्चालन भइरहेको स्कुल फर सोसल इन्टरप्रेनरसिप इन्डियाको अनुभवलाई अध्ययन गरियो। नबिल बैंकका तत्कालिन निर्देशक साथै हालका अध्यक्ष निर्वाण चौधरीको पहलमा शिक्षाविद्, उद्यमी र सम्बन्धित क्षेत्रका विज्ञसँगको विस्तृत परामर्श पश्चात नबिल सकुल अफ सोसियल इन्टरप्रेनरसिप अन्तर्गत फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्सको कार्यक्रम विकास भयो ।
बैंकिङ क्षेत्रमै यति ठूलो स्केलको उद्यमशीलता कार्यक्रम पहिलो पटक सुरु हुन लागेकाले सुरुवाती चरणमा यो प्रोग्राम कस्तो हुन्छ र कसरी अगाडि बढ्छ भन्ने अन्यौलता थियो तर सुरुवातदेखि नै यस क्षेत्रका विज्ञ र उद्यमीहरूसँग सँगै बसेर उनीहरूको वास्तविक आवश्यकतालाई बुझ्ने प्रयास गरियो। त्यही आवश्यकतालाई परिपूर्ति गर्ने गरी निकै व्यवस्थित र सुदृढ ढाँचामा यो कार्यक्रम तयार पारेर कार्यान्वयनमा ल्याइयो।
यसरी सुरु भएको नबिल एसएसईले पहिलो दिनदेखि नै एउटा स्पष्ट उद्देश्य लियो–सामाजिक, आर्थिक र वातावरणीय समस्या समाधान गर्न सक्ने उद्यमी उत्पादन गर्ने। नबिल एसएसईको सबैभन्दा ठूलो विशेषता यसको सिकाइ पद्धति हो। यहाँ उद्यमशीलतालाई केवल सिद्धान्तमा सीमित राखिँदैन, बरु व्यवहारमै उतार्न सिकाइन्छ। कक्षाकोठामा सिकेका अवधारणालाई आफ्नो व्यवसायमा कसरी लागू गर्ने भन्ने विषयलाई केन्द्रमा राखेर सम्पूर्ण तालिम डिजाइन गरिन्छ । त्यसैले यहाँ सहभागीहरू विद्यार्थीभन्दा बढी आफ्नो उद्यमका निर्माता हुन्छन्।
आज कृषि, खाद्य प्रशोधन, सूचना प्रविधि, नवप्रवर्तन, शिक्षा, महिला सशक्तीकरण, वातावरण संरक्षण, हरित उद्यम, पर्यटन, स्वास्थ्य, हस्तकला लगायतका विविध क्षेत्रमा काम गरिरहेका सयौँ उद्यमी नबिल एसएसईसँग जोडिएका छन्। उनीहरूले आफ्नो व्यवसाय मात्र विस्तार गरेका छैनन्, आफ्ना समुदायमा परिवर्तनको नयाँ सम्भावना पनि सिर्जना गरिरहेका छन्।
हराउँदै गएको रैथाने हिमाली बुनाइ कलालाई व्यावसायिक ब्रान्डमा रूपान्तरण गरेकी सानदेवी तामाङ त्से–रिङ सोलक्राफ्ट, रसुवाकी संस्थापक हुन्। हिमाली क्षेत्रमा सीप भएर पनि बजार र व्यवसाय नजानेका स्थानीय आमाहरूको शिपलाई प्रोत्साहन गर्दै उनले यो व्यवसाय सुरु गरेकी हुन् । हाल आफ्ना मौलिक उत्पादनहरू फ्रान्स, जर्मनी र न्युजिल्यान्ड जस्ता देशका पर्यटकहरूमाझ पु¥याएर उनी हिमाली सीपलाई विश्वमाझ चिनाउँदै छिन्।
उनी भन्छिन्, ‘मेरो बिजनेस सुरु भएको भर्खर ५–६ महिना मात्र भएको थियो र म टेस्टिंग पिरियडमै थिएँ। नबिल एसएससीमा गएर कस्टमर सेग्मेन्टेसन र प्रोडक्टको स्टोरी टेलिङ मार्फत यसको भ्यालु बढाउन सिकेपछि मात्र मलाई व्यवसाय दर्ता गर्ने आत्मविश्वास आयो।’
हिमाली भेगका आमाहरूसँग सीप त थियो, तर त्यसलाई कसरी बजारमा लैजाने र व्यवसाय बनाउने भन्ने ज्ञान थिएन। नबिल एसएससीमा जोडिएपछि नै स्थानीय सीप र स्रोतको संरक्षण गर्दै ती आमाहरूको बुनाइलाई रोजगारी र दिगो आम्दानीसँग जोड्ने तरिका सिकेको उनको भनाइ छ।
उत्पादनको ९८ प्रतिशत बजार अन्तराष्ट्रिय पर्यटकीय बजार भएको र फ्रान्स, जर्मनी, न्युजिल्यान्ड तथा चीन जस्ता देशमा सामान निर्यात भइरहेको उनले भन्दै उनले नबिल एसएसइले स्थानीय सीप बचाउन मात्र सिकाएन, हाम्रा आमाहरूको हातको कलालाई विश्व बजारमा परिचित गराउने बलियो माध्यमसमेत बनेको बताइन् ।

फेलोशिप कार्यक्रम र सर्टिफिकेट कोर्स
नबिल एसएसईले उद्यमी बन्न आवश्यक पर्ने चार आधारभूत पक्ष–ज्ञान, सीप, सोच (माइन्डसेट) र स्रोतलाई एउटै मञ्चमा जोडेको छ। यही अवधारणालाई आधार मानेर यसले दुई प्रमुख कार्यक्रम सञ्चालन गर्दै आएको छ। नबिल एसएसई फेलोशिप कार्यक्रम र सर्टिफिकेट कोर्स हो ।
नबिल एसएसईको मुख्य र फ्ल्यागशिप कार्यक्रम फेलोसिप हो। यो साधारण तालिम होइन, बरु एउटा उद्यमीको यात्रालाई आकार दिने गहन आवासीय (रेसिडेन्सियल) प्रक्रिया हो।
देशैभरिबाट खुलाइएको आवेदनबाट छानिएका उत्कृष्ट २० जना उद्यमीहरूलाई एउटै ब्याचमा राखेर यो कार्यक्रम चलाइन्छ। ६ महिनासम्म चल्ने यस कार्यक्रममा सहभागीहरूले प्रत्येक महिना कम्तीमा तीन देखि चार दिन आवासीय सिकाइ सत्रमा बिताउँछन् । साथै, एक वर्षसम्म अनुभवी मेन्टरहरूबाट निरन्तर मार्गदर्शन (मेन्टरिङ) पाउने सुनिश्चितता यहाँ छ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय अन्तर्गतको स्कूल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालित यस फेलोसिपले शैक्षिक अध्ययन र व्यावहारिक व्यावसायिक अनुभवलाई सुन्दर ढंगले एकै ठाउँमा जोडेको छ। यहाँ परम्परागत व्याख्यानभन्दा बढी जोड अनुभवमा आधारित सिकाइमा हुन्छ, जहाँ अनुभवी उद्यमी, लगानीकर्ता र व्यवस्थापन विज्ञहरूले आफ्ना भोगाइ साट्छन्।
यस अन्तर्गत व्यवसाय दर्ता, कानुनी प्रक्रिया र कर प्रणालीका व्यवहारिक ज्ञानदेखि व्यावसायिक मोडेल निर्माण, ग्राहक पहिचान, बजार विश्लेषण, वित्तीय योजना, ब्रान्डिङ र लगानी आकर्षित गर्ने प्रस्तुतीकरण कला (पिचिङ) जस्ता इन्टरप्रेनरसिपका प्राक्टिकल एस्पेक्टहरू सिकाइन्छ।
यससँगै स्थलगत अध्ययन र सफल उद्यमहरूको अवलोकनले सहभागीहरूलाई वास्तविक बजारको धरातलमा उभ्याउँछ। यसको सबैभन्दा बलियो पक्ष भनेको मेन्टरसिप प्रणाली हो, जसले उद्यमीलाई समाजको समस्या पहिचान गरी आइडियेसन फेज (सोचको चरण) देखि मार्केट इन्ट्री (बजार प्रवेश) सम्म पुग्न मद्दत गर्दै एउटा रोल मोडलका रूपमा स्थापित गर्न मद्दत पुर्याउँछ ।
यता, उद्यमशीलताको यो ज्ञान केवल काठमाडौँमा मात्र सीमित नहोस् र यसलाई ठूलो स्तरमा विस्तार (स्केल) गर्न सकियोस् भन्ने उद्देश्यले यसको दोस्रो कार्यक्रम ’सामाजिक उद्यमशीलता प्रमाणपत्र (सर्टिफिकेट) कोर्स’ सञ्चालन भइरहेको छ। यो तीन महिना अवधिको कार्यक्रम हो, जुन नेपालका सातै प्रदेशका शैक्षिक संस्थाहरुसँग सहकार्य गरेर सञ्चालन हुँदै आएको छ।
यसको विशेषता के छ भने, सातै प्रदेशका कलेजहरूमै सिकाइका लागि छुट्टै र विशेष खालको भेन्यु (कक्ष) सेटअप गरेर कम्तीमा १४ देखि १५ दिनको प्रत्यक्ष ट्रेनिङ दिइन्छ। विद्यार्थी, उद्यमी बन्न चाहने वा कुनै न कुनै रूपमा उद्यमशीलता प्रवद्र्धनमा योगदान दिन इच्छुक व्यक्तिलाई लक्षित गरिएको यस कोर्सले उद्यमशील सोच विकास गर्ने, व्यावसायिक योजना तयार गर्ने र सामाजिक प्रभाव सिर्जना गर्ने सीप सिकाउँछ।
यसरी फेलोसिप कार्यक्रमले गहन रूपमा उद्यमी तिखार्ने र प्रमाणपत्र कोर्सले उद्यमशिलतामा लाग्न चाहेका लागिसकेका तथा उद्यमशीलता प्रवद्र्धनमा टेवा पुर्याउन चाहेका व्यक्तिहरुका लागि प्रयोगात्मक तवरले तालिम सञ्चालन गरिन्छ । जसले राजधानीभित्र मात्र होइन, गाउँ–गाउँ र प्रदेश–प्रदेशमा पनि सम्भावना उत्तिकै रहेको सन्देश दिँदै देशका विभिन्न भूगोलमा उद्यमशीलताको एउटा दिगो संस्कृति विस्तार गरिरहेको छ।
यता १० वर्ष लामो शिक्षण अनुभव बोकेपश्चात नबील एसईई फेलो दिपर्शन श्रेष्ठ परम्परागत कम्प्युटर शिक्षालाई बदल्न अन्तर्राष्ट्रिय डिजिटल साक्षरताको मोडल नेपालका विद्यालयहरूमा पु¥याइरहेका छन्। विशुद्ध टिचिङ र आईटी ब्याकग्राउन्डको मान्छे भएकाले सुरुमा उद्यम सञ्चालन गर्न सक्दिनँ कि जस्तो लागेको बताउने उनी नबिल एसएसइमा जोडिएपछि सेल्स, मार्केटिङ र वित्तीय रणनीतिमा स्पष्ट कार्यदिशा पहिल्याएको बताउँछन् ।
नबिल एसएसइमा जोडिनुअघि ६ हजार विद्यार्थीमाझ पुगेकोमा अहिले बजार बढेर ८ हजार विद्यार्थी पुगेको उनले बताए। काठमाडौँ बाहेक पोखरा, बुटवलसहित देशका ११ जिल्लामा सफ्टवेयर पु¥याएको र बुढानीलकण्ठ तथा नागार्जुन नगरपालिकासँग व्यावसायिक सहकार्य गरी सरकारी विद्यालयमा कोर्ष बेचिरहेको जानकारी दिँदै उनले सन् २०३० सम्ममा १ लाख विद्यार्थीको कम्युनिटी बनाएर एड–टेक बिजनेश स्केल गर्ने स्पष्ट खाका तयार भएको बताए।

रोजगारीदेखि वित्तीय पहुँचसम्म
आर्थिक वर्ष २०८२÷८३ सम्म यसका दुवै कार्यक्रममार्फत १ हजार ५८० जना इच्छुक सामाजिक उद्यमी प्रत्यक्ष रूपमा लाभान्वित भइसकेका छन्। तीमध्ये ११३ जनाले फेलोसिप पूरा गरेका छन् भने १ हजार ४६७ जना सहभागी प्रमाणपत्र कोर्षबाट निस्किएका हुन्। यो तथ्याङ्कले यो अभियान केवल केही दर्जन उद्यमी उत्पादन गर्ने परियोजना नभई, नेपालभर उद्यमशीलताको संस्कृति विस्तार गर्ने राष्ट्रिय माध्यम बनेको देखाउँछ।
‘तर, यसको वास्तविक सफलता सहभागीको सङ्ख्याले मात्र होइन, बरु उनीहरूले समाजमा पारेको प्रभावले मापन गर्छ। कार्यक्रमको उद्देश्य प्रमाणपत्र बाँडेर कार्यक्रम टुङ्ग्याउने होइन, सहभागीलाई आफ्नो विचारलाई दिगो व्यवसायमा रूपान्तरण गर्न आवश्यक सम्पूर्ण यात्रा पार गराउन सहयोग गर्नु हो। त्यसैले उद्यमीसँगको यो सम्बन्ध कक्षा सकिएपछि अझ मजबुत बन्दै जान्छ’ बैंक भन्छ।
अहिलेसम्म तयार भएका ११३ जना फेलोमध्ये ९३ वटा सामाजिक उद्यमहरू सफलतापूर्वक बजारमा आइसकेका छन्, जसले संयुक्त रूपमा १५ हजार ७०६ जनाका लागि रोजगारी सिर्जना गरेका छन्। बेरोजगारी न्यूनीकरणमा उद्यमशीलताको यो बलियो उदाहरण हो। यहाँ आवद्ध उद्यमीहरूले राष्ट्रिय सीमाभित्र मात्रै होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो क्षमता प्रमाणित गर्दै हालसम्म १८ वटा राष्ट्रिय तथा ५ वटा अन्तर्राष्ट्रिय पुरस्कार जितिसकेका छन् भने ४ वटा उद्यमले विभिन्न प्रतिस्पर्धात्मक अनुदान प्राप्त गरेका छन्।
फेलोसिप कार्यक्रममा हालसम्म सातै प्रदेशको प्रतिनिधित्व भइसकेको छ। अछाम, डोटी, इलाम र मधेस जस्ता देशका विभिन्न भूगोल, संस्कृति र सामाजिक परिवेशबाट आएका सहभागीहरू हरेक महिना यो आवासीय कार्यक्रम सहभागी हुन काठमाडौँ आउँछन् र आ–आफ्नो समुदायका समस्यालाई उद्यममार्फत समाधान गरिरहेका छन्।
धेरै स्टार्टअपका लागि सबैभन्दा कठिन चरण सुरुवाती लगानी जुटाउनु हो। यस कार्यक्रमले उद्यमीलाई ‘ऋण लिन सिकाउने’ मात्र होइन, लगानीकर्तासमक्ष आफ्नो व्यवसाय कसरी प्रस्तुत गर्ने, विश्वास कसरी निर्माण गर्ने र दिगो वित्तीय व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सक्षम बनाउँदै वित्तीय पहुँचको सेतुको काम गरेको छ।
यस कार्यक्रममा सहभागी उद्यमीहरुले विभिन्न तवरका लगानीहरुको पहूँच भर्ई आफ्नो उद्यमको निम्ति लगानी जुटाउने क्षमता पनि विकास गर्न सक्षम भएका छन् । गैरसरकारी संस्थाहरुमार्फत् अनुदानदेखि लगानीकर्ता (व्यक्ति, संस्था तथा वित्तीय संस्था)मार्फत् लगानी जुटाउन सफल भइसकेका छन् ।
हालसम्म १७ जना उद्यमीले लगानीकर्ता, बैंक, सरकारी कार्यक्रम तथा सिड फन्ड मार्फत वित्तीय पहुँच प्राप्त गरिसकेका छन्। यहाँ भर्खर आइडिया मात्र लिएर आएका
उद्यमीहरूले सानो स्केलमा प्रोडक्ट ल्याएर बजारमा राम्रो स्थान बनाइसकेका छन् । बिजनेस रुमल्लिरहेकाहरूले समेत आफ्नो बजार बढाएका छन्।
यहाँ सहभागी भएका दुई जना उद्यमीहरू (फेलोशिप कार्यक्रम तर्फबाट सरला महर्जन र सर्टिफिकेट कार्यक्रममार्फत् मनिशंकर शाहले १५—१५ लाख रुपैयाँ लगानी चर्चित टिभी शो ‘शार्क ट्याङ्क’ मा गएर जित्न सफल भएका छन् ।
अर्घाखाँचीमा ‘बिन टु बार’ प्रिमियम चकलेटको व्यावसायिक उत्पादन गरिरहेका मोहित भुसाल डोपामिन चकलेटका संस्थापक हुन्। इलेक्ट्रोनिक्स इन्जिनियरिङको पढाइलाई चकलेटको स्वाद र प्रविधिसँगै मिसाएर नेपालमै कोको र नट्स (बदाम) को बगैँचा बनाउने सपना उनी बुनिरहेका छन्।
नबिल एसएससीको अनुभव साट्दै भुसाल भन्छन्, ’इन्जिनियरिङ ब्याकग्राउन्ड भएकाले मलाई मेसिनरी र रेसिपी बनाउन त आउँथ्यो, तर प्रोडक्ट राम्रो भए बजारमा आफैँ बिक्छ भन्ने भ्रम थियो। नबिल एसएससीमा आएपछि मेरो व्यापारिक दृष्टिकोण नै बदलियो। आइडिया मात्र ठूलो कुरा होइन रैछ, त्यसले समाजको कुन समस्या हल गर्छ र त्यसलाई आर्थिक रूपमा कमर्सियलाइज गरेर कसरी बजारमा भ्यालु क्रिएट गर्ने भन्ने बुझ्न मलाई त्यहाँका सेसनहरूले एकदमै सघायो।’
भर्खरै परीक्षणको चरण पार गरेर व्यावसायिक मार्केटमा जाँदा एक हप्तामै साढे १ लाखदेखि २ लाख रुपैयाँसम्मको व्यापार भइरहेको उनले बताए। आफ्नो उद्योगमा १०० भन्दा बढी किसानहरू पनि जोडिएको उल्लेख गर्दै उनले हाल अस्ट्रेलिया र अमेरिकामा उपहारका रूपमा चकलेटहरू गइरहेको र एफडीए डकुमेन्टेसन पूरा गरेर ठूलो स्केलमा अन्तर्राष्ट्रिय निर्यातको तयारी भइरहेको जानकारी दिए।

सीएसआरको फरक अभ्यास
यसको अर्को विशेषता नेपालमा सामाजिक उद्यमशीलताको बलियो इकोसिस्टम र नेटवर्क निर्माण गर्नु हो। यसका लागि बैंकले विश्वविद्यालय, शैक्षिक संस्था, निजी क्षेत्र, विकास साझेदार, लगानीकर्ता, नीति–निर्माता र अनुभवी व्यवसायीलाई एउटै मञ्चमा जोडेको छ। यही सहकार्यका कारण सहभागीहरूले कक्षाकोठाको ज्ञानसँगै व्यावसायिक सञ्जाल, बजार र सम्भावित साझेदार पाउँछन्।
तालिम सकिएपछि पनि फेलोजहरू बीचको सम्बन्ध टुट्दैन; उनीहरूको एउटा बलियो एलुम्नाइ नेटवर्क छ। यसले फेलोहरुलाई आफ्ना वस्तु तथा सेवा प्रवर्धन गर्न विभिन्न किसिमका प्रदर्शनी तथा अवसरहरुसँग जाोडिदिन्छ ।
बजारमा उपलब्ध हुने जुनसुकै व्यावसायिक अवसरहरूको जानकारी उनीहरूलाई प्रदान गरिन्छ । यसको सुखद परिणाम स्वरूप, फेलोज उद्यमीहरूले एक–आपसमा पनि उत्कृष्ट सहकार्य गरेका छन् । जहाँ एउटै काम गरिरहेका उद्यमीहरूले आफ्नो व्यावसायिक साथीसँग टाइअप गरेर नयाँ प्रोडक्टहरू बनाउने, एकअर्कालाई कच्चा पदार्थ सप्लाई गर्ने र प्रोडक्ट मार्केटिङमा एक अर्कालाई सपोर्ट गर्ने काम गरिरहेका छन्।
यहाँ सहभागीहरूलाई एउटा प्रश्न बारम्बार सोधिन्छ ‘तपाईंको व्यवसायले समाजको कुन समस्या समाधान गर्छ?’ यही प्रश्नले यसलाई अन्य उद्यमशीलता कार्यक्रमभन्दा फरक बनाउँछ। यसैले कृषि क्षेत्रमा काम गर्ने उद्यमीले किसानको आम्दानी बढाउने, शिक्षामा सिकाइलाई पहुँचयोग्य बनाउने, वातावरणमा प्लास्टिक प्रदूषण र फोहोर व्यवस्थापनका नवीन हरित उद्यम चलाउने तथा महिला उद्यमीहरूले आर्थिक सशक्तीकरणका नयाँ मोडेल प्रस्तुत गरिरहेका छन्।
सामान्यतया संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विद्यालय निर्माण वा राहत सामग्री वितरणजस्ता तत्कालीन कार्यक्रम सञ्चालन गरिन्छन्, जुन आवश्यक र महत्वपूर्ण पनि छन्। तर नबिल बैंकले तत्काल सहयोग गर्नेभन्दा पनि दीर्घकालीन रूपमा आत्मनिर्भरता निर्माण गर्ने क्षेत्रमा लगानी गर्नु बढी प्रभावकारी हुन्छ भन्ने सोचका साथ सीएसआरको यो फरक र दिगो अभ्यास गरिरहेको छ।
हाल यसको विस्तृत प्रभाव मूल्याङ्कन भइरहेको छ, जसले कार्यक्रमलाई आफ्नै प्रभावको निरन्तर समीक्षा र आगामी रणनीति सुधार्ने अभ्यासमा डो¥याएको छ। र, यो यात्रा आज सपनालाई दिगो उद्यममा रूपान्तरण गर्ने एउटा बलियो राष्ट्रिय आन्दोलन बनेको छ।
नेपालको अर्थतन्त्रले अहिले उद्यमशीलताको नयाँ लहर खोजिरहेको छ। वैदेशिक रोजगारीप्रति निर्भरता घटाउने, स्वदेशमै रोजगारी सिर्जना गर्ने, स्थानीय उत्पादनको मूल्य अभिवृद्धि गर्ने र नवीन सोचलाई व्यवसायमा रूपान्तरण गर्ने चुनौती अहिले पनि उत्तिकै छ। यस्तो अवस्थामा नबिल एसएसईजस्ता कार्यक्रमको महत्व झन् बढेको छ। किनकि यसले केवल व्यवसाय सञ्चालन गर्ने सीप सिकाइरहेको छैन, बरु समस्या देख्ने दृष्टिकोण, समाधान खोज्ने क्षमता र परिवर्तनको नेतृत्व गर्ने आत्मविश्वास पनि निर्माण गरिरहेको छ।
चार वर्षअघि केही दर्जन युवाको सपनाबाट सुरु भएको यो यात्रा आज हजारौँ आकांक्षी उद्यमीको साझा अभियान बनेको छ। १ हजार ५८० भन्दा बढी सहभागी, सयौँ उद्यम, हजारौँ रोजगारी र देशभर फैलिँदै गएको सामाजिक उद्यमशीलताको संस्कृति यस यात्राका ठोस उपलब्धि हुन्।
यही कारण नबिल एसएसईको वास्तविक परिचय एउटा शैक्षिक कार्यक्रम वा बैंकको सामाजिक उत्तरदायित्व परियोजनाभन्दा धेरै ठूलो छ। यो त नेपालमा उद्यमशीलताको नयाँ पुस्ता तयार गर्ने, समाजका चुनौतीलाई अवसरमा बदल्ने र सपनालाई दिगो उद्यममा रूपान्तरण गर्ने एउटा आन्दोलन बनेको छ।














