विदेशी पर्यटकको रोजाइमा डिजिटल भुक्तानी, एक वर्षमा झण्डै ३ अर्बको अन्तरदेशीय कारोबार
काठमाडौँ। नेपालमा विदेशी पर्यटकको खर्च गर्ने शैली बदलिँदै गएको छ। केही वर्षअघिसम्म नेपाल आउने भारतीय तथा चिनियाँ पर्यटकले दैनिक खर्चका लागि पर्याप्त नगद बोकेर हिँड्नुपर्ने अवस्था थियो। अहिले भने डिजिटल भुक्तानीको विस्तारसँगै त्यो बाध्यता क्रमश: हट्दै गएको छ।
नेपाल राष्ट्र बैंकले अन्तरदेशीय डिजिटल भुक्तानीलाई अनुमति दिएपछि विदेशी पर्यटकले नेपालमै आफ्नो देशमा प्रयोग गर्ने भुक्तानी प्रणालीबाट सामान तथा सेवाको मूल्य तिर्न सक्ने भएका छन्। यसको प्रत्यक्ष प्रभाव होटल, रेस्टुरेन्ट, पसल तथा पर्यटनसँग सम्बन्धित व्यवसायमा देखिन थालेको छ।
भारतीय पर्यटकको रोजाइमा युपीआई
भारतीय पर्यटकका लागि युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपीआई) यस्तो भुक्तानीको प्रमुख माध्यम बनेको छ। नेपालका विभिन्न व्यवसायमा उपलब्ध क्युआर कोड स्क्यान गरेर भारतीय पर्यटकले आफ्नो बैंक खाताबाटै भुक्तानी गर्न सक्छन्।
नेपाल राष्ट्र बैंकको पेमेन्ट सिस्टम ओभरसाइट रिपोर्ट २०२४/२५ अनुसार समीक्षा अवधिमा युपीआईमार्फत ९ लाख ८१ हजारभन्दा बढी कारोबार भएका छन्। ती कारोबारबाट करिब २ अर्ब ६९ करोड रुपैयाँ बराबरको भुक्तानी भएको देखिन्छ। यसले भारतीय पर्यटकलाई नेपालमा खर्च गर्दा नगद बोक्ने तथा मुद्रा साट्ने झन्झट कम गरेको छ।
चिनियाँ पर्यटक पनि डिजिटल भुक्तानीतर्फ
चिनियाँ पर्यटकका लागि पनि डिजिटल भुक्तानीको विकल्प विस्तार भएको छ। अलिपे, अलिपे प्लस, युनियनपे तथा वीच्याट पे लगायतका माध्यमबाट नेपालमा भुक्तानी गर्न सकिने व्यवस्था भएपछि चिनियाँ पर्यटकको खर्च गर्ने तरिका पनि डिजिटल माध्यमतर्फ सरेको छ।
राष्ट्र बैंकको विवरणअनुसार आर्थिक वर्ष २०२४/२५ मा वीच्याटमार्फत ५ हजार ७०१ कारोबार भएका छन्। यसको कुल कारोबार रकम ८ करोड ४५ लाख ३० हजार रुपैयाँ रहेको छ। त्यस्तै, अलिपेमार्फत ६ हजार १०२ कारोबार हुँदा ८ करोड ९८ लाख ८० हजार रुपैयाँ बराबरको भुक्तानी भएको छ।
युनियनपेमार्फत भने १२५ पटक कारोबार भएको र त्यसको मूल्य करिब १० लाख १ हजार रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। विभिन्न चिनियाँ डिजिटल भुक्तानी प्रणालीमार्फत भएको कारोबारले नेपालमा विदेशी पर्यटकका लागि डिजिटल भुक्तानीको प्रयोग बढिरहेको संकेत गरेको छ।
डिजिटल भुक्तानीले अर्थतन्त्रमा पारेको प्रभाव
अन्तरदेशीय भुक्तानीको विस्तारसँगै नेपालमा डिजिटल कारोबारको आधारसमेत फराकिलो हुँदै गएको छ। राष्ट्र बैंकका अनुसार देशभर क्युआर कोडमा आधारित भुक्तानी स्वीकार गर्ने मर्चेन्टको संख्या करिब २९ लाख पुगेको छ।
मुद्रा सटही दर र नगद बोक्ने जोखिमबाट पर्यटक मुक्त भएका छन् र डिजिटल भुक्तानी बढ्दा कारोबार पारदर्शी बनेको छ जसले समग्र अर्थतन्त्रलाई औपचारिक प्रणालीमा ल्याउन मद्दत गरेको छ ।
डिजिटल कारोबार विस्तारसँगै यसको सुरक्षालाई पनि राष्ट्र बैंकले प्राथमिकतामा राखेको छ। भुक्तानी प्रणालीको सम्भावित दुरुपयोग रोक्न ग्राहक पहिचान (केवाइसी), अनुपालन तथा निगरानीसम्बन्धी व्यवस्थालाई कडाइ गरिएको छ। डिजिटल माध्यमलाई हुण्डी लगायतका गैरकानुनी कारोबारमा प्रयोग हुन नदिन नियामकीय निगरानीसमेत बढाइएको छ।
नेपालमा अन्तरदेशीय डिजिटल भुक्तानीको विस्तारले विदेशी पर्यटकका लागि खर्च गर्न सजिलो बनाउनुका साथै पर्यटन व्यवसायलाई पनि डिजिटल अर्थतन्त्रसँग जोडिरहेको छ। भारतीय र चिनियाँ पर्यटकको डिजिटल भुक्तानी बढ्दै जाँदा नेपालमा नगदरहित कारोबारको दायरा थप विस्तार हुने अपेक्षा गरिएको छ।













