२६ श्रावण २०८३, मंगलबार

माउण्टेन इनर्जीको नाफा २९ प्रतिशत बढ्यो, लाभांश क्षमता २५ प्रतिशत



काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा २९.०८ प्रतिशतले बढाएको छ। कम्पनीले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ७९ करोड ७० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ६१ करोड ७४ लाख रुपैयाँ थियो। विद्युत बिक्रीबाट हुने आम्दानीमा वृद्धि, बीमा दाबीबापत प्राप्त रकम तथा ब्याज खर्चमा आएको कमीका कारण नाफा बढेको देखिन्छ।

समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब ५३ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको १ अर्ब ३० करोड रुपैयाँको तुलनामा १७.३१ प्रतिशत बढी हो।

यस अवधिमा कम्पनीले बीमा दाबीबापत ९ लाख रुपैयाँ प्राप्त गरेको छ। त्यस्तै, कम्पनीको ब्याज खर्च २४ करोड ४३ लाख रुपैयाँबाट घटेर २० करोड १९ लाख रुपैयाँमा झरेको छ।

कम्पनीको सञ्चालन मुनाफासमेत बढेको छ। अघिल्लो आर्थिक वर्षमा ८९ करोड १८ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा समीक्षा अवधिमा १ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।

२५ प्रतिशत लाभांश दिनसक्ने क्षमता

कम्पनीको चुक्ता पुँजी ३ अर्ब १२ करोड ३२ लाख रुपैयाँ रहेको छ भने रिजर्भमा १ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिको नाफालाई चुक्ता पुँजीसँग तुलना गर्दा कम्पनीमा करिब २५ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता देखिन्छ।

तर, कम्पनीले मनाङमा निर्माण गर्न लागेको ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत आयोजनाका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले आगामी लाभांशमा बोनस सेयरलाई प्राथमिकता दिन सक्ने अनुमान गरिएको छ। कम्पनीले हालै उक्त आयोजनाको वित्तीय व्यवस्थापनसमेत सम्पन्न गरिसकेको छ।

माउण्टेन इनर्जीले आर्थिक वर्ष २०७८/७९ देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ। यसअघि पनि कम्पनीले नगदभन्दा बोनस सेयरलाई प्राथमिकता दिँदै आएको थियो।

प्रतिसेयर आम्दानी बढ्यो

कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। अघिल्लो आर्थिक वर्षमा २३ रुपैयाँ ७२ पैसा रहेको प्रतिसेयर आम्दानी समीक्षा अवधिमा बढेर २५ रुपैयाँ ५२ पैसा पुगेको छ।

आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट कम्पनीले २० प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पुँजी वृद्धि गरे पनि प्रतिसेयर आम्दानी २५ रुपैयाँभन्दा माथि कायम गर्न सफल भएको हो। कम्पनीको प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ७८ पैसा रहेको छ।

माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत आयोजना र ५ मेगावाट क्षमताको ताँदीखोला जलविद्युत आयोजनाबाट नियमित विद्युत उत्पादन भइरहेको छ।

यसैबीच, कम्पनीले मनाङमा ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत आयोजना निर्माण गर्ने तयारी अघि बढाएको छ। आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै निर्माण प्रक्रिया अघि बढ्नेछ।