१७ भदौ २०८३, बुधबार

त्रिशुलीमा हराएका इञ्जिनियरको परिवार भन्छ– खोजि पनि छैन, सान्त्वना पनि छैन!



काठमाडौँ । त्रिशूली नदीमा प्रलयकारी भेल आएको हप्तादिन बितिसक्दा पनि आफ्नो भाइको अत्तोपत्तो नभएपछि निराश भएकी सृष्टी बेलबासे सरकार र ठेकेदार दुबैको शैली देखेर आजित छिन् ।

अर्घाखाँचीको शितगंगा नगरपालिका–४ का सुबोध बेलबासे माथिल्लो त्रिशूली ३ बी परियोजनामा २ वर्षदेखि सिभिल इञ्जिनियरको काम गर्दै थिए । भारतमा सिभिल इञ्जिनियर (स्नातक) पढेर आएका बेलबासे स्नातकोत्तरका लागि अमेरिका जाने तयारीमा थिए ।

बुबा सुरेन्द्र र सावित्राका दुई सन्ताान । एक छोरी, एक छोरा । सुरेन्द्र पनि पेशाले इञ्जिनियर हुन् । सुबोधले पैतृक पेशा नै छानेर करियर सुरु गरेका थिए । २६ वर्षको कलिलो उमेरमा एउटा उज्वल भविष्यको कल्पना गर्दै गरेको ठिटो एक हस्तादेखि सम्पर्क बिहिन भएको छ ।

भदौ १० मा आएको भीषण बाढीपश्चात् सुबोधको सम्पर्क टुट्यो । उनकी दिदी सृष्टिका अनुसार अन्तिम मोबाइल लोकेशन हेर्दा पावरहाउस वा ब्याचिङ एरियातिर हुनुपर्ने हो । तर अहिलेसम्म उनको शरीर कुन हालतमा छ भन्ने पत्तो लागेको छैन ।

उनकी आमा सावित्रा अर्घाखाँचीबाट छोरो खोज्न काठमाडौँ आइन् । यहाँका हरेक अस्पतालहरु चाहर्दा कतै पत्तो लागेन । उनी हानिएर त्रिशूली पुगिन् । त्यहाँबाट अघि बढ्ने बाटो नै भएन ।

माथिल्लो त्रिशूली ३ बीको आयोजनास्थलमा पुग्न त असम्भवप्राय: भयो । अनि उनी काठमाडौँ फर्किइन् । छोरो हराएको पीडाले सावित्राको पुरा समय बरिद्रधारा आँशुले डुबेको छ । उनी रुँदारुँदा पटक पटक बेहोस हुने गरेको उनको परिवार बताउँछ ।

तर सुबोधको स्थिति पत्ता लाग्न सकेको छैन ।

माथिल्लो त्रिशुली ३ बी (३७.५ मेगावाट)को मुख्य ठेकेदार कम्पनी हो– फेवा कन्स्ट्रक्सन । उसले सम्पूर्ण सिभिल कन्स्ट्रक्सन प्याकेज (सबै भौतिक संरचना)को ठेक्का लिएको छ । यही निर्माण व्यवसायीको तर्फबाट सुबोधले त्यो परियोजनामा काम गरिरहेका थिए ।

‘बाढी आएको दिनदेखि नै भाइ सम्पर्क विहिन छ । अहिलेसम्म पनि खोजि कार्य हुन सकेको छैन’, सृष्टि भन्छिन्, ‘इभ्याकुएटर लगेको छ भनेर सामाजिक सञ्जालमा राखेको छ । त्यो कोदालो जस्तो इभ्याकुएटरले खनेर भ्याउन १–२ वर्ष लाग्छ । सामाजिक सञ्जालमा हल्लामात्रै भएको छ । काम भएको छैन ।’

अहिले उद्धारको कोसिस भइरहेको क्षेत्र नेपाल विद्युत् प्राधिकणको साइट भएको सृष्टि बताउँछिन् । ‘तर कन्ट्रयाक्टरको तर्फबाट पावरहाउस, टनेल एरिया, ब्याचिङ एरियातिर केही पनि खोजि कार्य हुन सकेको छैन’, उनले थपिन् ।

बाढीले बगाएर संरचना केही पनि बाँकी छैन भने पनि संरचना भित्र पुरिएको हुनसक्ने आशामा उनी छिन् । बाबु आमालाई सम्हाल्दै भाइको खोजिमा होमिएकी यी युवती भन्छिन्, ‘अब हामी सासको अपेक्षा त गर्दैनौँ, यति लामो समयसम्म । कम्तिमा लास भेटियो भने पनि हामीले विधिविधान अनुसारको कार्य गथ्र्यौँ । हामी आफ्नो चित्त बुझाउँथ्यौँ ।’

तर उनलाई आफ्नो भाइको रोजगारदाता कम्पनी फेवा कन्स्ट्रक्सनले केही चासो समेत नदेखाएकोमा दु:ख लागेकोछ । उक्त कम्पनीले बेपत्ता भएका आफ्ना कर्मचारीको परिवारसँग सम्पर्क गर्ने, समन्वय गर्ने काम पनि नगरेको उनी बताउँछिन् ।

हुन त, भेलबाढी आएको एक सातासम्म पनि सरकारले निर्माण व्यवसायी कम्पनीहरुलाई प्रभावित क्षेत्रमा गएर खोजतलास गर्न दिएको थिएन । निर्माण कम्पनीहरुले पटक पटक आफ्ना हराएका कर्मचारी खोज्न पाउनु पर्ने माग राख्दा पनि संघीय सरकारले उनीहरुलाई जान दिएन ।

पैसा तिरेर हेलिकप्टर लैजान्छु र उद्धार गर्छु भन्दा पनि सरकारले त्यसो गर्न दिएन । बीबीसी नेपाली सेवामा काम गरिसकेका पत्रकार लक्ष्मण डंगोलले यस्तै पीडा सामाजिक सञ्जालमा साझा गरेका छन् ।

उनले बेत्रावती स्थिति आफ्नो नातेदारको घरमा थुप्रै मान्छे दलदलमा फसेको सूचना पाएपछि गृहमन्त्री सुधन गुरुङदेखि नुवाकोटका प्रमुख जिल्ला अधिकारीसम्मलाई टेलिफोन गरेर उद्धारको गुहार लगाउँदा उल्टै मन्त्रीले आफूलाई हप्काएको उनले लेखेका छन् । त्यही घरबाट हिजो २४ जनाको शव निकालिएको थियो ।

संघीय सरकारको यस्तो रबैयाले बेपत्ताका परिवार, रोजगारदाता कम्पनी वा कसैलाई पनि खोज तथा उद्धारमा जान नदिएको परिणाम, अहिलेसम्म सुबोधजस्ता सयौँ इञ्जिनियर र कर्मचारी त्रिशुली किनारका विद्युत् आयोजनाहरुमा बेपत्ता छन् ।

सरकारको एक्लो प्रयासले काम नगरेपछि भारत र चीनबाट उद्धारमा सहायता स्वीकार गर्ने निर्णय सरकारले गरेको थियो । अब त्यसबाट पनि काम हुन नसकेपछि हिजो मंगलबारमात्रै सरकारले निर्माण कम्पनीहरुलाई प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा खोजि कार्यमा सहभागी हुन अनुमति दिएको छ । सायद बुधबारबाट निर्माण कम्पनीहरु त्यहाँ पुग्दै छन् ।

तर परिवारलाई यी सब कुरामा सरोकार हुनु आवस्यक छैन । कम्तिमा निर्माण कम्पनीले बेपत्ता कर्मचारीको परिवारसँग समन्वय गरेको भए एक सातापछि पाइने अनुमति पहिले नै पाउन सक्थ्यो । बेपत्ताको परिवारलाई सरकारले नै खोजी तथा उद्धारमा काम गर्न दिएको छैन भन्ने थाहै भएन । त्यसैले सामाजिक स्तरबाट दबाब सिर्जना हुन सकेन ।

तर सृष्टिको चिन्ता निर्माण कम्पनीको बेवास्ता पनि हो । उनी भन्छिन्, ‘हामी खोज्छौँ, भए सास नभए लास भेटिन्छ, नआत्तिनुस् भनेर सम्झाईबुझाइ गर्ने पनि त उनीहरुको दायित्व होला । तर त्यस्तो केही पनि गरेको छैन ।’

उनले केही दिन अघि नै सामाजिक सञ्जालमा लेखेकी थिइन्– ‘एक–एक मिनेट हाम्रो लागि आशा र पीडाबीचको संघर्ष बनेको छ। सम्भावित सबै ठाउँमा तत्काल खोजी तथा उद्धार टोली परिचालन गरी मेरो भाइलाई सकुशल खोजेर परिवारको जिम्मा लगाइदिनुहोस्।’

तर अब उनलाई ‘सकुशल’ होस् वा नहोस् भन्नेमा ज्यादा चिन्ता छैन । सास सहित वा सास रहित भए पनि उनी भाइको शरीर खोजिरहेकी छिन् । ताकी आफ्नी आमालाई ‘त्यो कलेजाको टुक्रा’को एक झल्को मुख हेर्ने मौका मिलोस् ।’

उनले लेखेकी छिन्– ‘सरकार ज्यू, यो केवल एउटा परिवारको माग होइन—आफ्नो मान्छे पर्खिरहेको परिवारको अन्तिम आशा हो। हामीलाई जवाफ होइन, हाम्रो भाई चाहिएको छ।’