भोटेकोशी बाढीमा मृत्यु भएकामध्ये १ हजार ३४१ शव फेला, ४ हजार बढी अझै बेपत्ता
काठमाडौँ। रसुवामा भदौ १० गते आएको भीषण भोटेकोशी बाढीबाट ज्यान गुमाएका १ हजार ३ सय ४१ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार बाढीमा परी ४ हजार ४४ जना अझै सम्पर्कविहीन छन्।
प्रहरी प्रधान कार्यालय नक्सालले आज आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार फेला परेका शवमध्ये ३ सय २५ महिला र ५ सय २३ पुरुष का शव फेला परेका छन् भने थप ४ सय ९३ शव पहिचान गर्न नसकिने अवस्थामा भेटिएका छन्।
सम्पर्कविहीनको सूचीमा २ हजार ८६३ नेपाली पुरुष, ५७५ नेपाली महिला, २६९ विदेशी पुरुष र ३३२ विदेशी महिला रहेका छन्। यसबाहेक अन्य समूहका पाँच जना पनि अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा हराइरहेकाहरूको खोजी तथा उद्धार अभियानलाई सुरक्षा निकायले निरन्तर जारी राखेको छ। भेटिएका शवमध्ये १ हजार ३७ शवको सुरक्षित रूपमा अन्त्येष्टि तथा व्यवस्थापन भइसकेको छ भने बाँकी शवको पहिचान र व्यवस्थापनको काम अघि बढिरहेको छ।
बाढीपछि उद्धार गरिएका घाइतेको संख्या ९ हजार १५१ पुगेको छ। तीमध्ये ३ हजार ९८ जनालाई सुरक्षित होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ।
मृतक तथा उनीहरूका आफन्तबाट हालसम्म २ हजार ४७२ जनाको डीएनए नमूना संकलन गरिएको छ। यसमा मृतकका १ हजार २८६ जनाको डीएनए नमूना र मृतकका आफन्तको १ हजार १८६ जनाको डीएनए नमूना रहेका छन्।
बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको सनाखत गर्न डीएनए परीक्षणलाई प्राथमिकताका साथ अघि बढाइएको प्रहरी केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अवि नारायण काफ्लेले बताए।
भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि बेपत्ता व्यक्तिको खोजी, घाइतेको उद्धार र शव व्यवस्थापनका लागि नेपाल प्रहरीसहित अन्य सुरक्षा निकाय तथा सरकारी संयन्त्रहरू निरन्तर परिचालित छन्।












