विश्व अटोमोबाइल बजारमा दबदबा बढाउने लक्ष्यसहित चीनद्वारा नयाँ रोडम्याप सार्वजनिक
काठमाडाैँ । स्मार्ट विद्युतीय सवारी उद्योगलाई थप सुदृढ बनाउने उद्देश्यले चीनको मन्त्रालयले बिहीबार एउटा नयाँ रणनीतिक खाका सार्वजनिक गरेको छ।
सन् २०३० सम्ममा ठूलो मात्रामा स्वचालित सवारी साधन अर्थात् अटोमोनस ड्राइभिङ भेहिकलहरूको व्यावसायिक विस्तार गर्ने र विश्व अटोमोबाइल बजारमा चिनियाँ गाडीहरूको प्रभावलाई अझ फराकिलो बनाउने मुख्य लक्ष्य यस खाकामा राखिएको छ।
सार्वजनिक गरिएको खाका अनुसार आगामी दिनमा अटोमोनस सवारी साधनहरूको ठूलो मात्रामा विस्तार गरिनेछ। राजमार्ग, सहरी एक्सप्रेस-वे तथा तोकिएका सहरी सडकहरूमा स्वचालित ड्राइभिङ प्रणालीलाई क्रमशः कार्यान्वयनमा ल्याइनेछ।
चीनले बिक्रीका आधारमा विश्वका शीर्ष १० मोटर वाहन निर्माता कम्पनीहरूभित्र आफ्ना धेरैभन्दा धेरै कम्पनीहरूलाई उभ्याउने योजना बनाएको छ। यसका साथै चिनियाँ अटो ब्रान्डहरूको विश्वव्यापी लोकप्रियता बढाउनुका साथै अन्तर्राष्ट्रिय अटोमोबाइल मापदण्डहरूमा चीनको प्रभाव र आवाजलाई अझ बलियो बनाउने लक्ष्य लिइएको छ।
मन्त्रालयले राष्ट्रिय अर्थतन्त्रको मुख्य खम्बाका रूपमा अटोमोबाइल क्षेत्रको भूमिकालाई थप मजबुत बनाउने योजना अघि बढाएको छ। यस अन्तर्गत स्वचालित ड्राइभिङ सवारी साधनहरूले मानवीय चालकहरूको तुलनामा उच्च स्तरको सुरक्षा सुनिश्चित गर्ने दाबी पनि चिनियाँ पक्षले गरेकाे छ।
उक्त रणनीतिकाे खाका अनुसार सवारी साधन उत्पादन, सडक सुरक्षा, सेल्फ–ड्राइभिङ प्रणाली र सफ्टवेयर अपडेटसम्बन्धी नियमहरूलाई अझ कडा बनाइनेछ भने प्रमुख पार्टपुर्जा र कम उत्पादन हुने सवारी साधनहरूका लागि विशेष अनुमति मार्गहरूको खोजी गरिनेछ।
सवारी साधन र ब्याट्री उत्पादन क्षमतामाथिको निगरानी बढाउँदै चीनले अत्यधिक लगानीलाई नियन्त्रण गर्ने र उद्योगहरूबीचको एकीकरणलाई प्रोत्साहन गर्ने नीति लिएको छ। यसबाट असक्षम र कम उत्पादन क्षमता भएका एकाइहरू स्वतः विस्थापित हुनेछन्।
बजारमा निष्पक्ष प्रतिस्पर्धालाई बढावा दिन र उत्पादनको गुणस्तरमा निगरानी राख्न प्रतिलिपि अधिकार तथा एकाधिकारसम्बन्धी कानुनको कडाइका साथ कार्यान्वयन गरिनेछ। साथै, स्थानीय सरकारहरूबाट आउने अनुपयुक्त प्रोत्साहन र अनुदानहरूलाई पनि नियन्त्रण गरिनेछ।
चिनियाँ अटो निर्माता कम्पनीहरू विदेशमा विस्तार हुँदा सम्बन्धित देशका कानुन र नियमहरूको पूर्ण पालना गर्न सहयोग पुर्याउने उद्देश्यले नयाँ निर्देशिका ल्याइने भएको छ। यसका अतिरिक्त, सवारी साधन तथा मुख्य पार्टपुर्जाको अनुसन्धान, लगानी र विश्वव्यापी बजार विस्तारका क्षेत्रमा चिनियाँ र विदेशी कम्पनीहरूबीचको पारस्परिक सहकार्यलाई अझ गहिरो बनाउन मन्त्रालयले प्रोत्साहन गर्ने बताएको छ।












