२८ भदौ २०८३, आइतबार

नेटा भी र केवाईसीको कारोबार बन्द हुँदा सीजी मोटर्सको वित्तीय दबाब बढ्यो



मुख्य ब्रान्डको कारोबार रोकिएपछि अटोमोबाइल बजारको खस्कँदो नाफादर र ऋणको भारसँग जुधिरहेको छ चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्स।

काठमाडाैँ । अटोमोबाइल क्षेत्रको स्थापित नाम सीजी मोटर्सको वित्तीय स्वास्थ्यमा केही महिनायता स्पष्ट दबाब देखिन थालेको छ। पछिल्लो समीक्षा अवधिमा कम्पनीको आम्दानी र नाफा खुम्चिँदै गएको वित्तीय विवरणबाट खुलेको छ। चालु आर्थिक वर्षको पहिलो नौ महिनाको अवधिमा कम्पनीले कुल आठ अर्ब ८९ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ।

तर, यसलाई वार्षिकीकरण गरी हेर्दा कम्पनीको कुल आम्दानी करिब २१ प्रतिशतले ओरालो लागेको पाइएको छ। केही समयअघिसम्म बजारमा राम्रो पकड जमाएका प्रमुख ब्रान्डहरूको कारोबार थपिन नसक्नु र बिस्तारै बन्द हुँदै जानु नै आम्दानी घट्नुको मुख्य कारण बनेको छ।

कम्पनीको व्यापारमा मुख्य आधार बनेका दुई प्रमुख ब्रान्डको कारोबार विभिन्न समयमा रोकिएको छ। जसमध्ये विद्युतीय कारको रूपमा चिनिएको नेटा भीको बिक्री सन् २०२५ को मे महिनादेखि नै बन्द भइसकेको थियो। यसैगरी, केवाईसी ब्रान्डको कारोबार पनि सन् २०२६ को जनवरीदेखि ठप्प भएको छ।

यी दुई ब्रान्डले कम्पनीको समग्र व्यापारमा ठूलो हिस्सा ओगटेका थिए। आर्थिक वर्ष २०८०/८१ मा सीजी मोटर्सको कुल आम्दानीमा यी ब्रान्डको हिस्सा करिब ६८ प्रतिशत रहेको थियो भने आर्थिक वर्ष २०८१/८२ मा पनि यो २७ प्रतिशतको बलियो स्थितिमा थियो। यी गाडीहरूको आयात र बिक्री रोकिएसँगै कम्पनीको व्यावसायिक ढाँचामा ठूलै फेरबदल आएको छ।

दुईपांग्रे सवारीको बढेको हिस्सा

प्रमुख चारपांग्रे ब्रान्डको कारोबार बन्द भएपछि कम्पनीको व्यापारमा दुईपांग्रे सवारीसाधनको हिस्सा ह्वात्तै बढेको छ। अघिल्लो आर्थिक वर्षमा कुल आम्दानीको करिब ३२ प्रतिशत मात्र रहेको दुईपांग्रे सवारीसाधनको हिस्सा समीक्षा अवधिमा बढेर ५७ प्रतिशत पुगेको छ।

तर, चारपांग्रेको तुलनामा दुईपांग्रे सवारीसाधनमा नाफाको मार्जिन धेरै कम हुने गर्छ। यही कारणले गर्दा व्यापारको संरचना बदलिँदा कम्पनीको समग्र नाफा दरमा निकै ठूलो दबाब सिर्जना भएको छ।

यसबाहेक, बजारमा बढ्दै गएको कडा प्रतिस्पर्धाका कारण बिक्री तथा वितरणमा हुने खर्चसमेत आकाशिएपछि यसले प्रत्यक्ष रूपमा सञ्चालन मुनाफालाई खुम्च्याइदिएको छ।

व्यापारिक रणनीति बदल्नुपरेको र खर्च बढेको असर कम्पनीको सञ्चालन नाफामा स्पष्ट देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा १५ दशमलव १ प्रतिशतको सन्तोषजनक अवस्थामा रहेको कम्पनीको सञ्चालन नाफा दर नौ महिनाको अवधिमा घटेर ६ दशमलव ८ प्रतिशतमा सीमित हुन पुगेको छ।

यसअघि सन्तोषजनक रूपमा उकालो लाग्दै आएको कम्पनीको आर्थिक ग्राफमा यो ठूलै धक्का हो। कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा १५ अर्ब दुई करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो भने त्यसअघिका वर्षहरूमा ६ अर्ब ९९ करोड र दुई अर्ब पाँच करोड रुपैयाँको हाराहारीमा कारोबार गर्दै आएको थियो।

आगामी प्रतिस्पर्धाको चुनौती

सन् २००९ मा स्थापना भई २०२२ देखि अटोमोबाइल क्षेत्रमा सक्रिय रहेको सीजी मोटर्सले हाल नेपालभर बलियो साङ्गठनिक सञ्जाल फैल्याएको छ। ७५ वटा आधिकारिक बिक्रेता, आफ्नै स्वामित्वका १० वटा शोरुम र २१ वटा सेवा केन्द्रमार्फत सेवा दिँदै आएको यस कम्पनीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटरहरू नेपालमै जडान गर्ने गरी फ्याक्ट्री समेत सञ्चालन गरिरहेको छ।

यद्यपि, बजारमा चिनियाँ विद्युतीय सवारीसाधनको बाढी र बजाज, होन्डा, यामाहा तथा टीभीएसजस्ता स्थापित ब्रान्डसँगको तीव्र प्रतिस्पर्धाले चुनौती थपिदिएको छ।

त्यसमाथि, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिइएको छ अर्ब ४० करोड रुपैयाँको उच्च ऋणभार, घट्दो आम्दानी र खुम्चिएको नाफा दरका बीच सीजी मोटर्सले आगामी दिनमा आफ्नो बजार हिस्सा कसरी जोगाउँछ भन्ने विषय अटोमोबाइल क्षेत्रमा चासोको साथ हेरिएको छ।