बाढीपछि व्यापारको नयाँ लाइफलाइन बन्यो ‘कोरला’, दैनिक ३० करोड हाराहारीमा राजस्व संकलन
काठमाडौँ। रसुवागढी–केरुङ र तातोपानी नाका अवरुद्ध भएपछि मुस्ताङको उत्तरी कोरला नाकाबाट चिनियाँ सामान तथा विद्युतीय सवारीसाधनको आयात बढेको छ। यसको प्रत्यक्ष प्रभाव मुस्ताङ भन्सार कार्यालयको राजस्व सङ्कलनमा पनि देखिएको छ।
लोमान्थाङ–४, न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पछिल्लो १५ दिनमा मात्रै १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व उठाएको छ। भन्सार प्रमुख विदुर चुडालका अनुसार शुक्रबार एकै दिन २७ करोड ११ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो। भदौ २२ यता दैनिक औसतमा करिब ३० करोड रुपैयाँ राजस्व उठिरहेको उनले बताए।
रसुवाको भोटेकोशीमा आएको बाढीपछि रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द छ। तातोपानी नाका पनि सञ्चालनमा नरहेपछि चीनबाट नेपाल भित्रिने मालवस्तुको वैकल्पिक मार्गका रूपमा कोरला नाकाको प्रयोग बढेको हो।
शुक्रबार मात्रै कोरला नाकाबाट ७१ वटा कन्टेनर र १०६ वटा विद्युतीय सवारीसाधन भन्सार प्रक्रिया पूरा गरी गन्तव्यतर्फ पठाइएको भन्सार कार्यालयले जनाएको छ। भदौ १० देखि २५ गतेसम्म यस नाकाबाट ४३४ कन्टेनर र ६४१ वटा विद्युतीय सवारीसाधनको जाँचपास भएको छ।
चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरला नाकाबाट आयात भएका सवारी तथा मालसामानको भन्सार जाँचपासबाट २ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन भइसकेको छ। भदौ ९ गतेसम्म भने १३३ कन्टेनर र १६३ वटा विद्युतीय सवारीसाधन मात्रै नेपाल भित्रिएका थिए।
यसअघि उपल्लो मुस्ताङका स्थानीयवासीका लागि मात्र खुला रहेको कोरला नाका २०८२ भदौअघि सीमित प्रयोजनमा सञ्चालन हुँदै आएको थियो। तातोपानी र रसुवागढी क्षेत्रमा बाढीपहिरोका कारण सडक तथा नाका अवरुद्ध भएपछि सरकारले गत वर्ष भदौ ३१ गतेदेखि यसलाई वैकल्पिक निकासी–पैठारी नाकाका रूपमा सञ्चालनमा ल्याएको थियो।
गत आर्थिक वर्ष २०८२/८३ मा कोरला नाकाबाट भएको वैदेशिक व्यापारबाट मुस्ताङ भन्सार कार्यालयले ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। सो अवधिमा १४ अर्ब ४१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो भने २० करोड ५० लाख रुपैयाँ बराबरका वस्तु निर्यात भएका थिए।
त्यसैगरी, गत आर्थिक वर्षमा कोरला नाकाबाट ३ हजार २२३ वटा विद्युतीय सवारीसाधन र १ हजार ८७३ वटा कन्टेनरको भन्सार जाँचपास गरिएको थियो।












