२९ भदौ २०८३, सोमबार

आज हरितालिका तीज, कठोर तपस्या र आस्थाको प्रतीक बनेको पौराणिक पर्व कसरी मनाइन्छ?



सत्ययुगमा माता पार्वतीले कठोर तपस्या गरी भगवान शिवलाई प्राप्त गरेको स्मृतिका रूपमा आज देशविदेशमा हरितालिका तीज पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ।

काठमाडाैँ । आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका तीज। यस विशेष दिनमा नेपाली हिन्दु समुदायका महिलाहरूले देवादिदेव महादेवको विधिपूर्वक पूजा–आराधना गरी धूमधामका साथ यो पर्व मनाइरहेका छन्।

भाद्र शुक्ल तृतीयाका दिन व्रत बसी शिव र पार्वतीको उपासना गर्नाले पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने प्रगाढ धार्मिक विश्वास रहिआएको छ।

आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका विभिन्न शिवालयहरूमा भक्तजनहरूको बाक्लो भिड लागेको छ भने महिलाहरू व्रत बसेर शिवजीको पूजाआजा तथा नाचगानका साथ यो पर्व मनाइरहेका छन्।

पौराणिक पृष्ठभूमि

पौराणिक मान्यता अनुसार, सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएकी थिइन्। तर, त्यो वरदान विपरीत उनका पिता हिमालयले पार्वतीको इच्छाबिना नै भगवान विष्णुसँग विवाह गरिदिन खोजेपछि उनले आफ्ना साथीहरूलाई यो समस्या सुनाएकी थिइन्।

पार्वती समस्यामा परेको थाहा पाएपछि साथीहरूले उनलाई हरण गरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेका थिए। साथीहरूले लुकाएकै स्थानमा पार्वतीले निराहार व्रत बसिन् र अन्त्यमा महादेवलाई पतिका रूपमा प्राप्त गरिन्।

पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीया परेकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन बस्यो भन्ने धर्मशास्त्रीय मान्यता छ। संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको हो, जसमा ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी भन्ने हुन्छ।

अर्को एक कथा अनुसार, पार्वतीले सुरुमा तपस्याको विधि नमिलेर भगवान विष्णुको प्रार्थना गरेकी थिइन्। विष्णुले शिवलाई प्राप्त गर्ने व्रत र पूजा विधिको बेलिबिस्तार लगाएपछि हरिको सल्लाह अनुसार पूजा आराधना गरेर पार्वतीले शिवलाई प्राप्त गर्न सफल भइन्। यसरी हरि र तालिका मिलेर हरितालिका रहन गएको जनविश्वास पनि पाइन्छ।

तपस्याको स्मरण र आधुनिक सन्दर्भ

वास्तवमा हरितालिका तीजले माता पार्वतीले भगवान शिव पाउनका लागि गरेको १०८ वर्षको तपस्याको स्मरण गराउने गर्छ। आधुनिक युगमा बर–बधूले त्यस्तो कठोर तपस्या गर्नुपर्ने अवस्था नरहे पनि सामाजिक अन्धविश्वास, आर्थिक असमानता र भौतिकवादी सोचले प्रेमका क्षेत्रमा उत्पन्न हुने समस्याहरू अझै पनि विद्यमान छन्।

यस पर्वको अवसरमा तीजको साँझ १०८ सुते बत्ती वा दियो प्रज्वलन गर्ने चलन छ। ती दीपशिखाहरू रातभर नै बल्नुपर्ने मान्यता राखिन्छ भने साँझमा चन्द्रमाको पूजाअर्चना गरिन्छ। पति–पत्नी, भावी पति–पत्नी तथा सम्पूर्ण परिवारबीचको आपसी माया र सद्भाव अझ बलियो होस् भन्ने कामना यस पर्वले गर्दछ।

मन्दिरहरूमा महिलाहरूको उल्लास

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकाले आजको दिन व्रत बस्दा मनोकामना पूरा हुन्छ भन्ने सांस्कृतिक विश्वास छ। तर यसको अर्थ सबै नारीहरूले अनिवार्य रूपमा निराहार नै बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरू बताउँछन्।

पतिको दीर्घायु र अटल सौभाग्य तथा सदासर्वदा भरिभराउँ कोखको कामना गर्दै महिलाहरूले हिजोको दरको थालनीसँगै आज आस्था र परम्पराको यो अर्चना गर्छन्। आजको दिन निराहार र निर्जला व्रत बस्ने चलन पनि रहेको छ।

आज बिहानैदेखि मुलुकभित्र तथा मुलुक बाहिर रहेका नेपाली महिलाहरूले यो पर्व उत्साहका साथ मनाइरहेका छन्। पशुपतिनाथ मन्दिर परिसर रातो पहिरनमा सजिएका हर्षित र उत्साहित विवाहित तथा अविवाहित महिलाहरूको बाक्लो उपस्थितिले गुञ्जायमान बनेको छ।

अविवाहित नारीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकियोस् भनी व्रत–आराधना गर्छन् भने विवाहित महिलाहरूले पारिवारिक सुखशान्ति र दाम्पत्य जीवनको सफलताका लागि कामना गर्छन्।

यो पर्वले महिलाहरूको नेतृत्व शक्ति तथा परिवार, समाज र राज्यमा उनीहरूको समान पहुँचलाई अझ सशक्त रूपमा अगाडि बढाउन सकारात्मक ऊर्जा प्रदान गर्दछ।