सिंहदरबारबाटै पक्राउ परेका तामाङविरुद्ध मुद्दाका चाङ : ९ करोड ८ लाख बढी बिगो दाबी
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङविरुद्ध बैंकिङ कसुर तथा ठगीसम्बन्धी १० वटा मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सोमबार बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री वालेन्द्र शाहले गरेको छलफलमा तामाङ पनि सहभागी भएका थिए। छलफल सकिएलगत्तै उनलाई सिंहदरबार परिसरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।
अरुण अर्यालको जाहेरीका आधारमा तामाङविरुद्ध यसअघि नै बैंकिङ कसुरको मुद्दा दर्ता भएको थियो। सोही प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट प्रहरीले उनलाई पक्राउ गर्न अनुमति लिएको थियो।
काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार तामाङको सीआरएस अभिलेख परीक्षण गर्दा बैंकिङ कसुर र ठगीसँग सम्बन्धित १० वटा मुद्दा रहेको खुलेको हो। मुद्दाहरूको कुल बिगो ९ नौ करोड ८ लाख ३५ हजार रुपैयाँ कायम भएको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरीका एसपी दानबहादुर थापाका अनुसार तामाङविरुद्ध अभिलेखमा देखिएका सबै मुद्दामा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइनेछ।













