श्रम र सिर्जनाका देवताको सम्मान: प्रविधिलाई र औजारलाई ऊर्जा मानि आज देशभर विश्वकर्मा पूजा मनाइँदै
काठमाडाैँ । आधुनिक प्रविधि, कलकारखाना र श्रमका प्रतीक वास्तु तथा शिल्पकलाका अधिष्ठाता भगवान् विश्वकर्माको पूजाआराधना गरी आज देशभर यो पर्व श्रद्धा र उल्लासका साथ मनाइँदैछ।
हरेक वर्ष सौरमानअनुसार कन्या सङ्क्रान्तिको दिन अर्थात् आश्विन (असाेज) सङ्क्रान्तिका दिन पर्ने यो पर्वमा हिमवत् क्षेत्रकाे नेपाली समाजले श्रम, सीप र औजारप्रति गहिरो सम्मान प्रकट गर्दै आएको छ।
बिहानैदेखि राजधानीसहित देशैभरका ग्यारेज, कलकारखाना, उद्योग र घरहरूमा विशेष चहलपहल बढेको छ। श्रमिक, चालक, कालिगढ तथा व्यवसायीहरूले आफ्ना निजी तथा सार्वजनिक सवारीसाधन, मेसिनरी औजार र धातुजन्य उपकरणहरूलाई सफासुग्घर गरेर विधिपूर्वक पूजाआराधना गरेका छन्।
केही दिन अघिदेखि नै विश्वकर्माका आकर्षक मूर्ति निर्माण र कलकारखानाको साजसज्जामा जुटेका सर्वसाधारणले आज बिहानैदेखि तिनै मूर्तिहरू स्थापना गरी श्रद्धा व्यक्त गरिरहेका छन्।
धार्मिक मान्यताअनुसार आजको दिन आफूले प्रयोग गर्ने विभिन्न औजार तथा उपकरणहरूको पूजा गरेमा तिनको आयु लामो हुने, कामका बेलामा नबिग्रने र उत्कृष्ट कार्यक्षमता प्राप्त हुने जनविश्वास रहिआएको छ।
परम्परागत कालिगढदेखि आधुनिक इन्जिनियर र मजदुरसम्मले आफ्नो कर्मथलोमा विभिन्न सांस्कृतिक कार्यक्रम र पूजापाठ गरी यो दिवसलाई उत्सवको रूपमा मनाउने गरेका छन्। पूजा आराधना गरिएका तिनै मूर्तिहरूलाई पछि सुन्दरीजलस्थित वाग्मती मुहानस्थल वा अन्य पवित्र नदी तथा जलाशयमा लगेर विसर्जन गर्ने परम्परा छ।
पौराणिक ग्रन्थहरूका अनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएको बेला विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरी सुरक्षित राखेका थिए। एकै रातमा समुद्रबीच असाधारण सहर ठडाउने उनै वास्तुविद्को सम्झनामा यो परम्परा बस बसेको हो। प्राचीन भारतवर्षका चार दिशाका रक्षक देवतामध्ये पश्चिम दिशाको रक्षकका रूपमा समेत द्वारकालाई लिइन्छ।
वास्तुशास्त्रको प्रसिद्ध ग्रन्थ ‘विश्वकर्मा प्रकाश’ का रचयिता समेत मानिने विश्वकर्मालाई शिल्पकला र वास्तुकलाका आदिगुरु मानिन्छ। यसै ऐतिहासिक तथा पौराणिक महत्वका कारण वास्तुविद्हरूले आजको दिनलाई ‘वास्तु दिवस’ का रूपमा समेत विशेष रूपले लिने गर्छन्।
पछिल्लो समय नेपालमा समेत प्राचीन वास्तु विद्याको पुनर्जागरण तीव्र रूपमा भइरहेको छ। चार उपवेदमध्ये एक मानिने स्थापत्यवेदमा वास्तुशास्त्रको विस्तृत व्याख्या पाइन्छ। एक समय ओझेलमा परेको यस शास्त्रमा आधारित भएर आधुनिक सहर, घर र आवास निर्माण गर्ने क्रम बढेसँगै यसको महत्त्व थप उचाइमा पुगेको छ।
प्राचीन ज्ञान र आधुनिक प्रविधिको यो अनौठो संगमले आजका कालिगढ र शिल्पकर्मीहरूलाई थप ऊर्जा प्रदान गरेको छ।












