महासङ्घका अध्यक्ष श्रेष्ठ र रसियान राजदूत सुरोभेस्तोभबीच भेटवार्ता, नेपाल–रसिया आर्थिक सम्बन्ध र सहकार्यमा जोड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल र रसियाबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप विस्तार गर्न सहकार्यलाई नयाँ चरणमा लैजानुपर्नेमा जोड दिएको छ ।
नेपालका लागि रसियाली राजदूत अलेक्सेइ भी. सुरोभेस्तोभसँग महासङ्घ सचिवालय टेकुमा भएको भेटमा महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले रसियाली बजारमा नेपाली वस्तुको निर्यात विस्तार तथा नेपालको जलविद्युत, पर्यटन, पूर्वाधार र प्रविधिमा रसियाली लगानी भित्र्याउन सकिने सम्भावना रहेको बताए ।
अध्यक्ष श्रेष्ठले दुई देशबिचको व्यापारको वर्तमान आकार अपेक्षाकृत सानो रहेकाले निजी क्षेत्रबिच प्रत्यक्ष सम्पर्क, व्यवसाय–व्यवसाय (बीटुबी) बैठक र व्यापारिक अवसरको पहिचानलाई प्राथमिकता दिनुपर्ने बताए । महासङ्घ र रसियन फेडेरेसनको च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीबिच सन् २०११ मा भएको सहकार्यलाई पुनः सक्रिय गर्दै निकट भविष्यमा बिजनेस फोरम वा बिजनेस काउन्सिलको बैठक आयोजना गर्नुपर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिए ।
नेपाल–रसिया कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्ष पुगेको बताउँदै नेपालका लागि रसियाली राजदूत अलेक्सेइ भी. सुरोभेस्तोभले नेपाल र रसियाबिच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक तथा व्यावसायिक सहकार्यमा थप प्रभावकारी रूपमा रूपान्तरण गर्न रसिया सकारात्मक रहेको बताए ।
नेपालले आर्थिक विकास र समृद्धिका लागि अघि सारेका प्राथमिकतामा रसियाली पक्षबाट सहयोग र सहकार्यलाई थप विस्तार गर्न सकिने उहाँले उल्लेख गरे । दुई देशका निजी क्षेत्रबिचको सम्पर्क र व्यावसायिक संवाद बढाउन पनि राजदूतले सकारात्मक धारणा व्यक्त गरे ।
भेटमा पर्यटनलाई आर्थिक सम्बन्ध विस्तारको महत्त्वपूर्ण माध्यमका रूपमा अघि बढाउने, भौगोलिक दूरी, ढुवानी लागत र भुक्तानी प्रणालीका व्यावहारिक जटिलता समाधानका लागि सरकारी तथा निजी क्षेत्रबिच निरन्तर संवादमा जोड दिइएको छ । सो अवसरमा दूतावासका उच्च अधिकारी तथा महासङ्घका महानिर्देशक लगायतको सहभागिता थियो















