१९ आश्विन २०८३, सोमबार

मधेशी एकता समाज युएईद्वारा दुबईमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना



काठमाडौं। नेपालीहरुको महान् चाडहरु दशैं, तिहार र छठ पर्वको पूर्व संध्यामा मधेशी एकता समाज, युएईले शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ। दुबईको जबिल पार्कमा समाजका युएई च्याप्टरका पदाधिकारीहरुले आउन लागेका चाडपर्वहरुको शुभ अवसरमा कार्यक्रम आयोजना गरेर शुभकामना साटासाट गरेका हुन्।

त्यस अवसरमा युएई च्याप्टरका पदाधिकारीहरुले मातृभूमि नेपालको रसुवा र नुवाकोट जिल्लामा भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दु:ख र सम्वेदना पनि प्रकट गरेका थिए। उनीहरुले समाजको अन्तर्राष्ट्रिय समितिको पहल र संयोजनमा तराईमधेशका विभिन्न जिल्लामा बाढी पीडितका लागि जारी राहत वितरण कार्यबारे पनि चर्चा र समीक्षा गरेका थिए।

त्यसैगरी एकता समाजका पदाधिकारीहरुले उक्त संस्थालाई अझ सशक्त, संगठित र प्रभावकारी बनाउने विषयमा पनि छलफल गरेको युएई च्याप्टरका महासचिव आदित्य कुमार अटलले जानकारी दिए। कार्यक्रममा समाजका अन्तर्राष्ट्रिय समिति संयोजक डा. रविन्द्र कुमार यादवले एकता समाजको उद्देश्य, हालसम्म संस्थाले समाजका विभिन्न व्यक्तिहरूलाई पुर्याउँदै आएको सहयोग तथा आगामी दिनमा संस्थालाई अझ मजबुत र प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा विस्तृत रूपमा प्रकाश पारे।

उनले एकता, सहकार्य, आपसी सहयोग र सामाजिक उत्तरदायित्वलाई संस्थाको मुख्य मन्त्रको रुपमा अगाडि बढाउनुपर्ने कुरामा जोड दिए। कार्यक्रममा समाजका युएई शाखाका पूर्व अध्यक्ष धर्मेन्द्र गोहिबार, निवर्तमान अध्यक्ष रोशन देव, वर्तमान अध्यक्ष शैलेन्द्र यादव, संस्थापक सदस्यहरू लालबाबु, तनवीर आलमलगायतका पदाधिकारी तथा सदस्यहरूले पनि आफ्नो धारणा राखेका थिए।

त्यस अवसरमा संस्थाको आगामी कार्यलाई अझ व्यवस्थित, सक्रिय र प्रभावकारी रूपमा अगाडि बढाउने उद्देश्यले सर्वसम्मतबाट आदित्य कुमार अटललाई समाजको युएई शाखाको महासचिवको जिम्मेवारी प्रदान गरेको छ।