२ कार्तिक २०८३, सोमबार

नेपाल टेलिकम एनपीएल- ३ को अफिसियल पार्टनर



काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को ‘अफिसियल पार्टनर’ बनेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताका लागि टेलिकम र क्यानबीच प्रायोजनसम्बन्धी औपचारिक सम्झौता भएको हो । सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्याल र क्यानका महाप्रबन्धक उत्सव ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

सम्झौता कार्यक्रममा बोल्दै टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रिय स्तरका खेलकुद तथा क्रिकेट प्रतियोगिताहरूमा टेलिकमले सुरुआतदेखि नै निरन्तर सहकार्य र प्रवर्द्धन गर्दै आएको बताए । उनले यस किसिमको ठूलो प्रतियोगितासँग जोडिन पाउँदा खुसी लागेको बताउँदै देशमा क्रिकेटको संस्थागत, व्यावसायिक र समग्र खेल क्षेत्रको विकासमा यस साझेदारीले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

क्रिकेट एसोसिएसन नेपाल (क्यान) ले एनपीएललाई भव्य र अन्तर्राष्ट्रिय स्तरको बनाउने तयारी तीव्र पारेको छ । यस संस्करणको नेपाल प्रिमियर लिग आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियू) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व तथा खेलकुद प्रवर्द्धनअन्तर्गत विभिन्न राष्ट्रिय खेल तथा खेलाडीहरूलाई प्रोत्साहन गर्दै आइरहेको छ । एनपीएलसँगको यस सहकार्यले नेपाली क्रिकेटप्रेमी दर्शकहरूलाई डिजिटल प्रविधि र सञ्चार सञ्जालसँग थप नजिक ल्याउने अपेक्षा गरिएको छ ।