डिजिटल वेलनेस उद्योगले महिलाको स्वास्थ्य र गोपनीयतामाथि कसरी खेलबाड गरिरहेको छ?
महिलाहरूको स्वास्थ्य र प्राकृतिक शारीरिक परिवर्तनलाई नाफा कमाउने हतियार बनाउँदै डिजिटल वेलनेस उद्योगले भ्रामक विज्ञापन र गलत तथ्यांकको पासोमा थापिरहेको छ। यस्तो डिजिटल हेरफेरले उनीहरूको व्यक्तिगत गोपनीयता र स्वास्थ्य अधिकारमाथि गम्भीर प्रहारमात्रै गरेकाे छैन, बरू वास्तविक चिकित्सा सेवाबाट नै टाढा धकेलिरहेको छ।
आइफोन उत्पादक कम्पनी एप्पलको हेल्थ एपमा एउटा नयाँ फिचर थपिएको छ, जसले कुनै महिला महिनावारी सुक्ने उमेर (पेरिमेनोपज) मा प्रवेश गरेकी छिन् वा छैनन् भन्ने पत्ता लगाउन सक्ने दाबी गरिएको छ।
यो एपले प्रयोगकर्तालाई उनको नयाँ स्वास्थ्य स्थितिको बारेमा सूचना पठाउँछ र थप जानकारी लिन चाहनेहरूका लागि च्याटबोट पनि उपलब्ध गराउँछ। त्यो बटले सोध्छ, “के तपाईंलाई थकान महसुस भइरहेको छ र यौनसम्पर्कप्रति रुचि घटेको छ?” “के तपाईंलाई राति पसिना आउने समस्या छ?” “के तपाईंलाई सधैं चिलाइरहन्छ?”
यी तीन वटै प्रश्नको उत्तरमा ‘हो’ भनिसकेएपछि, बटले पुष्टि गर्छ कि सम्भवतः ती महिलामा पेरिमेनोपजका सुरुवाती लक्षणहरू देखा पर्दैछन् र सम्भवतः उनको शरीरमा टेस्टोस्टेरोन वा इस्ट्रोजन हर्मोनको कमी भएको छ।
त्यसपछि के हुन्छ भने, ब्राउजर खोल्दा ती महिलाले हर्मोनसम्बन्धी समस्याका लागि विभिन्न सप्लिमेन्ट, क्रिम र अन्य ‘समाधानहरू’ का विज्ञापनहरू देख्न थाल्छिन्।
इन्स्टाग्रामको फिडमा अचानक यस्ता पोस्टहरू देखिन थाल्छन्, “के तपाईं हर्मोन रिप्लेसमेन्ट थेरापी सुरु गर्न चाहनुहुन्छ? यदि तपाईंलाई तपाईंको लक्षणहरू केवल उमेर ढल्केको कारणले हो भनिएको छ वा एक डाक्टरबाट अर्को डाक्टरकहाँ धाइरहनुपरेको छ भने—हामी तपाईंको पीडा बुझ्छौं। वास्तविक आराम पाउन सम्भव छ… हाम्रा विज्ञ चिकित्सकहरूसँग कुरा गर्नुहोस्।”
३० वर्षको आसपास देखिने इन्फ्लुएन्सरहरू उनको फिडभरि छरिएर विभिन्न वेलनेस सप्लिमेन्टहरू सिफारिस गर्न थाल्छन्।
यी विज्ञापन र पोस्टहरूले दाबी गर्छन् कि ती महिलामा देखिएका लक्षणहरूले कुनै गम्भीर चिकित्सा समस्यातर्फ संकेत गरिरहेका छन्, जबकि त्यस्तो भएको कुनै प्रमाण नै हुँदैन ।
उदाहरणका लागि, उनले विगत केही वर्षदेखि आफ्नो पार्टनरसँग यौनसम्पर्क गरेकी छैनन्, अत्यधिक गर्मीको लहर (हिटवेभ) चलेका कारण उनको शरीर तातिरहेको छ, र हरेक गर्मीयाममा उनको छाला चिलाउने गर्छ। तर यी कुराहरूको कुनै मतलब हुँदैन।
उनले ती सप्लिमेन्टहरू अर्डर गर्छिन् र अनलाइन स्वास्थ्य सेवा प्रदायकसँग सम्पर्क गर्छिन् । जसका दूर चिकित्सकहरूले (रिमोट डक्टरहरूले) उनलाई प्रत्यक्ष नभेटिकनै तुरुन्तै टेस्टोस्टेरोन, इस्ट्रोजन र प्रोजेस्टेरोनजस्ता हर्मोनहरू (प्याच वा चक्कीको रूपमा) सिफारिस गरिदिन्छन्।
तर अर्कोतर्फ, जुन कुरा हुनुपर्ने हो, त्यो हुँदैन । ती महिलाले आफ्नो लामो समयदेखिको पारिवारिक चिकित्सकसँग कुनै सल्लाह गर्दिनन्, जसलाई उनको सम्पूर्ण स्वास्थ्य इतिहास (जस्तैः रगत जम्ने समस्या, माइग्रेन, र पक्षघातको पारिवारिक इतिहास), उनले खाइरहेका औषधिहरू (एन्टिडिप्रेसन्टहरू), उनको शारीरिक व्यायामको दिनचर्या (शून्य), र उनको व्यक्तिगत अवस्था (बिग्रिँदै गएको वैवाहिक जीवन) राम्ररी थाहा हुन्छ।
पेरिमेनोपज र मेनोपजजस्ता वास्तविक जैविक अवस्थालाई अर्थपूर्ण तरिकाले सम्बोधन गर्न बिरामीको चिकित्सा र व्यक्तिगत इतिहासको व्यापक क्लिनिकल समीक्षा गर्नुपर्ने हुन्छ, र चिकित्सकहरू पनि यस्तै प्रकारको गुणस्तरीय स्वास्थ्य सेवा दिन चाहन्छन्। तर बिरामीहरूले त्यो सेवा पाइरहेका छैनन्, किनकि स्वास्थ्य क्षेत्रका स्टार्टअपहरू, इन्फ्लुएन्सरहरू र विज्ञापनदाताहरूको एक विशाल “डिजिटल नेटवर्क”ले यसमा बारम्बार अवरोध सिर्जना गरिरहेको छ।
यो डिजिटल इकोसिस्टमले मेनोपजको नाममा एक किसिमको सुनको खोज (गोल्ड रश) मच्चाइरहेको छ, जसले महिलाको स्वास्थ्यलाई एक नाफामूलक व्यापारमा परिणत गरेको छ।
उचित क्लिनिकल डाइग्नोसिस (समस्या पहिचान) दिनुको साटो, स्वास्थ्य एपहरूले उनीहरूलाई वेलनेस कम्पनीहरूको मार्केटिङ प्रिफरेन्सले भरिदिन्छन्। यी कम्पनीहरूले भेन्चर क्यापिटलबाट करोडौंदेखि अर्बौं डलरसम्म लगानी भित्र्याइरहेका छन्।
डिजिटल वेलनेस उद्योगलाई महिलाको भलाइको कुनै चासो छैन। यसको व्यावसायिक मोडेल नै अस्पष्ट तथ्यांकबाट निकालिएका त्रुटिपूर्ण निष्कर्षहरू, एल्गोरिथ्मको भरमा गरिने भविष्यवाणीहरू र व्यक्तिगत गोपनीयताको हननमा आधारित छ।
विज्ञापनदाता र बजार विज्ञहरूले डाटा ब्रोकरहरूबाट महिलाहरूको तथ्यांक खरिद गर्छन्, जसले महिलाहरूलाई “सम्पन्न उमेर ढल्केका महिलाहरूको स्वास्थ्य र वेलनेस,” “मध्य उमेरको संक्रमणमा केन्द्रित,” र “जेन एक्स सप्लिमेन्ट खरिदकर्ता” जस्ता वर्गमा वर्गीकरण गरेका हुन्छन्।
डाटा ब्रोकरका विवरणहरू, महिलाहरूको सर्च इतिहास, इमेल, वेब ब्राउजिङ, सामाजिक सञ्जालका पोस्टहरू र जिओलोकेशन (स्थान) डेटाको खानी पल्टाएर विज्ञापनदाता तथा बजार विज्ञहरूले कुन समयमा र कुन दिन लक्षित गर्दा महिलाहरूबाट बढी सामान बिक्री गराउन सकिन्छ भनेर ठ्याक्कै अनुमान लगाउन सक्छन्।
उदाहरणका लागि, विज्ञापनदाताहरूलाई यो राम्ररी थाहा हुन्छ कि महिलाहरू सोमबार बिहानको सुरुवाती समयमा आफूलाई खासै राम्रो वा फ्रेस महसुस गर्दैनन्। स्त्रीरोग विशेषज्ञ न्यानेट सान्तोरोले स्पष्ट पार्नुभएझैं, महिलाहरूलाई मेनोपजसम्बन्धी सप्लिमेन्टहरूको मार्केटिङ “अत्यधिक मात्रामा आक्रामक बन्दै गएको छ,” जबकि सप्लिमेन्ट प्रदायकहरूले गर्ने धेरैजसो दाबीहरूको पछाडि कुनै वैज्ञानिक आधार नै हुँदैन।
सबैभन्दा ठूलो कुरा त, पेरिमेनोपज र मेनोपज अहिले एउटा तीव्र रूपमा बढिरहेको बजार बनेको छ। गत फेब्रुअरी महिनामा मात्रै महिनावारीसँग सम्बन्धित एक लोकप्रिय टेलिहेल्थ कम्पनीको बजार मूल्य १ अर्ब डलर पुगेको थियो। यसरी सेल्फ-ट्र्याकिङ (आफैंले स्वास्थ्य ट्र्याक गर्ने) एपहरूद्वारा निकालिएका भविष्यवाणीहरू अब सन् २०३३ सम्ममा २८.८ अर्ब डलर पुग्ने अनुमान गरिएको बजारका लागि सामान बिक्री गर्ने फनेल (खरीद माध्यम) बन्न पुगेका छन्।
यसैबीच, बिरामीहरूले यस्ता भविष्यवाणीबाट प्रभावित भएर लिने निर्णयहरूले चिकित्सकहरूका लागि भने ठूलो समस्या सिर्जना गरेको छ । उनीहरूले यसको परिणामको सामना गर्नुपरिरहेको छ।
चिकित्सकहरूले अहिले अनुचित सप्लिमेन्ट र हर्मोनल उपचारका कारण उत्पन्न भएका गम्भीर स्वास्थ्य समस्याहरूको उपचार गरिरहेका छन्, जसमा शल्यक्रिया नै गर्नुपर्ने जटिलताहरू पनि समावेश छन्। साथै, उनीहरूले बिरामीहरूलाई पेरिमेनोपज र मेनोपजका लागि वैज्ञानिक रूपमा प्रमाणित र चिकित्सा तवरले उपयुक्त हुने तरिकाहरूबारे बुझाउने प्रयास गरिरहेका छन्।
चिकित्सकहरू चाहन्छन्- उनीहरूका बिरामीहरूले आफ्नो कुरा सुनिएको र बुझिएको महसुस गरून्। उनीहरू उच्च स्तरको हेरचाह प्रदान गर्न र बिरामीहरूको विश्वास तथा भरोसा जित्न चाहन्छन्। तर आजको अवस्थामा चिकित्सकहरूले आफ्ना बिरामीहरूलाई यो समेत सम्झाउन बाध्य हुनुपरेको छ कि उनीहरू ठगिएका छन् र उनीहरूको स्वास्थ्य अवस्था, पारिवारिक इतिहास तथा सेवन गरिरहेका औषधिसँग मेल नखाए पनि महँगा औषधि र सप्लिमेन्टहरू किन्नका लागि उनीहरूलाई भ्रमित पारिएको छ।
चिकित्सकहरूले बिरामीहरूलाई यो पनि बुझाउनुपरेको छ- ती महँगा सप्लिमेन्टहरूको पछाडि कुनै वैज्ञानिक सत्यता छैन, बरु ती केवल कसैको व्यावसायिक नाफाको पाकेट भर्ने माध्यम मात्र हुन् । बिरामीको आफ्नै हितमा छैनन्।
महिलाहरूको स्वायत्तता, गोपनीयता र स्वास्थ्यमा डिजिटल हेरफेरको प्रभाव दूरगामी छ। भविष्यवाणी र विज्ञापनमा आधारित यो डिजिटल-स्वास्थ्य इकोसिस्टमले महिला र चिकित्सकहरूको ध्यान र समयलाई हाइज्याक गरिदिएको छ।
यसले महिलाहरूले आफूलाई हेर्ने दृष्टिकोणलाई पनि फेदबाटै बदलिदिएको छ । उनीहरूले आफ्ना हर्मोन र शरीर बिग्रिएका छन् र काम नलाग्ने वा अझ खतरनाक सप्लिमेन्टहरू प्रयोग गरेर मात्र यसलाई ठीक पार्न सकिन्छ भनेर सोच्न थालेका छन्।
क्लिनिकल भेटघाटहरूको स्वरूपलाई नै बदलेर एपमा आधारित भविष्यवाणीहरू र अनलाइन विज्ञापनहरूले महिलाहरूको आत्मनिर्णयको अधिकार र आत्मसम्मानलाई कमजोर बनाएका छन् । साथै व्यक्तिगत गोपनीयतामाथि प्रहार गरेका छन्, जसले स्वास्थ्यको परिणाममा गम्भीर असर पुर्याएको छ।
विज्ञहरूको स्वविवेक अब क्लिनिकल निर्णयबाट हटेर, त्रुटीपूर्ण डेटामा आधारित मेसिन-निर्मित भविष्यवाणीहरूको न्याय गर्ने तहमा पुगेको छ।
यस समस्याको कुनै सजिलो समाधान त छैन, तर सांसद र नियामक निकायहरूले अर्थपूर्ण कदमहरू चाल्न सक्छन्। संयुक्त राज्य अमेरिकामा कंग्रेस (त्यहाँकाे संसद) ले व्यक्तिगत र अन्तरंग जानकारीको प्रयोग तथा बिक्रीमा प्रतिबन्ध लगाउनुपर्छ र डेटा ब्रोकरहरूको गतिविधिहरूलाई कडा रूपमा नियन्त्रण गर्नुपर्छ।
संघीय व्यापार आयोग र खाद्य तथा औषधि प्रशासनले अनलाइन विज्ञापनदाता र सप्लिमेन्ट कम्पनीहरूका अनुचित तथा भ्रमपूर्ण विज्ञापनहरू विरुद्ध कडा कारबाही गर्न सक्छन्। बेलायतले भने कयौं भ्रामक विज्ञापनहरूमाथि प्रतिबन्ध लगाएर यसअघि नै सही दिशामा कदम चालिसकेको छ।
त्यतिञ्जेलसम्म, प्रयोगकर्ताहरूले आफ्नो फोनमा प्राप्त हुने स्वास्थ्यसम्बन्धी सूचनाहरूको अर्थ लगाउँदा सावधानी अपनाउनु पर्छ। विज्ञापन र एपका सुझावहरूले भनेझैं उनीहरूले सधैं “डाक्टरसँग कुरा गर्न” पर्छ।
महिलाहरूको मध्य उमेरको स्वास्थ्यलाई दशकौंदेखि बेवास्ता गरिँदै आएको छ र यसमा पर्याप्त अनुसन्धान गरिएको छैन। ट्र्याकिङ उपकरणहरूले महिलाहरूलाई उनीहरूले लामो समयदेखि पाउन नसकेका तथ्यांक र शब्दावलीहरू उपलब्ध गराउन सक्छन्, तर त्यसका लागि उनीहरूलाई भ्रामक विज्ञापनको पासोमा भने पार्नु हुँदैन।
कसैले देख्नु र सुन्नुको मतलब उनीहरूलाई खण्ड-खण्डमा बाँडेर नाफा कमाउने वस्तु बनाइनु हुँदैन।
(भर्जिनिया विश्वविद्यालयको 'स्कुल अफ ल' की प्राध्यापक ड्यानियल किट्स सिट्रन 'द फाइट फर प्राइभेसी: प्रोटेक्टिङ डिग्निटी, आइडेन्टिटी, एन्ड लभ इन द डिजिटल एज' की लेखिका तथा सन् २०१९ की म्याकआर्थर फेलो हुन्। जिनिन के. मोरिस-रस न्युयोर्कस्थित प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् भने मोना स्लोन भर्जिनिया विश्वविद्यालयमा डेटा विज्ञान र मिडिया अध्ययनकी सहायक प्राध्यापक तथा 'प्रिडिक्टेड: हाउ एआई इज रिस्ट्रक्चरिङ सोसल लाइफ' की लेखिका हुन्। )















