सोमबारदेखि सुरु हुँदै क्रिकेटको महासङ्ग्राम, विजेताले डेढ करोड पाउने
काठमाडौँ । क्रिकेट खेल पारखीहरूलाई भोलिदेखि थप व्यस्तता बढ्ने छ । नेपालको गौरवपूर्ण बन्दै आएको क्रिकेट खेल नेपाल प्रिमियर लिग (एनपीएल) भोली सोमबार भव्य उद्घाटनसहित सुरु हुँदैछ ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको खेलमा विजेता टोलीले १ करोड ५० लाख नगद पुरस्कार जित्नेछ । आइतबार क्यानले पत्रकार सम्मेलन गरेर सो को जानकारी दिएको हो । नेपाल प्रिमियर लिग (एनपीएल) उपाधि विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउने भएको हो ।
क्यानका कोषाध्यक्ष पदम बहादुर खड्काका अनुसार नेपाल प्रिमियर लिग (एनपीएल)को उपविजेता टोलीले ८० लाख तथा खेलमा तेस्रो बन्ने टोलीले ४० लाख पुरस्कार जित्नेछन् ।
सिद्धार्थ बैंक मुख्य स्पोन्सड रहेको नेपाली क्रिकेट खेलको तेस्रो संस्करणसम्म आइपुग्दा धेरै कर्पोरेट हाउसहरू आबद्ध हुँदै आएका छन् ।
विभिन्न संस्थाहरूको प्रायोजनबाट करिब २० करोड सङ्कलन हुने कोषाध्यक्ष खड्काले बताए । झन्डै १ महिना चल्ने यस महासङ्ग्राममा प्रायोजन, टिकेट विक्री तथा विभिन्न टिमले गर्ने खर्चसहित करिब डेढ अर्बभन्दा बढीको कारोबार हुने जनाइएको छ । यसले धेरै खेलाडीहरुको मनोबल बढ्दै आएको छ ।















