पहिलो तीन महिनामै १६ प्रतिशतभन्दा माथि पुग्यो कामना सेवाको नाफा, वित्तीय सूचक बलियाे
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कामना सेवा विकास बैंकले आफ्नो व्यावसायिक विस्तारलाई तीब्र बनाउँदै खुद नाफामा उल्लेखनीय प्रगति हासिल गरेको छ भने शेयरधनीको ओठमा पनि मुस्कान छर्ने कोसिस गरेको छ ।
काठमाडौँ । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आफ्नो वित्तीय स्थितिमा उत्साहजनक सुधार गरेको छ। समीक्षा अवधिमा बैंकले २३ करोड ११ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएको छ।
गत वर्षको सोही अवधिसँग दाँज्दा बैंकको नाफा १६ प्रतिशतभन्दा बढीले बढेको देखिएको छ। यसअघिको पहिलो त्रैमासमा बैंकले १९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
व्यवसाय विस्तारका क्रममा बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानीमा पनि सामान्य वृद्धि भएको छ। यस अवधिमा बैंकले ६२ करोड ६४ लाख रुपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेको छ, जुन गत वर्षको तुलनामा १ प्रतिशत बढी हो।
त्यस्तै, बैंकले यस त्रैमासमा ७४ करोड ५८ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी र ३३ करोड ८७ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ भने खुद शुल्क तथा कमिशन आम्दानी ११ करोड २ लाख रुपैयाँ पुगेको छ।
वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १५ करोड २१ लाख रुपैयाँ रहेको छ। यसको आधारमा बैंकको लाभांश क्षमता १५ प्रतिशतभन्दा माथि देखिएको छ। बैंकको चुक्ता पुँजी ४ अर्ब २१ करोड रुपैयाँभन्दा बढी रहेको छ भने जगेडा कोषमा २ अर्ब २२ करोड रुपैयाँभन्दा बढी सञ्चित रहेको छ। यसले बैंकको वित्तीय आधार थप मजबुत बन्दै गएको संकेत गर्छ।
समीक्षा अवधिमा बैंकले निक्षेप सङ्कलन र कर्जा प्रवाह दुवैतर्फ सकारात्मक प्रगति हासिल गरेको छ। चालु आर्थिक वर्षको पहोजो असोज मसान्तसम्ममा बैंकले ६७ अर्ब ९० करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ५६ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
गत वर्षको सोही अवधिको तुलनामा निक्षेप सङ्कलन २ प्रतिशतभन्दा बढी र कर्जा लगानी करिब ४ प्रतिशतले बढेको छ। यसले बजारमा बैंकको व्यावसायिक गतिविधि सक्रिय रहेको देखाउँछ।
बैंकले आफ्नो व्यावसायिकगत वृद्धिसँगै कर्जाको गुणस्तरमा पनि विशेष ध्यान दिएको देखिएको छ। समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात घटाउन सफलता पाएको छ। गत वर्षको असोज महिनामा ४ प्रतिशतभन्दा माथि रहेको खराब कर्जा अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ३ प्रतिशतको बिन्दुमा झरेको छ।
खराब कर्जामा आएको यस किसिमको सुधारले बैंकको जोखिम व्यवस्थापन प्रभावकारी बन्दै गएको स्पष्ट हुन्छ। खराब कर्जा घटेसँगै गत वर्ष ११ करोड रुपैयाँभन्दा बढी रहेको इम्पेरिमेन्ट चार्ज पनि घटेर यसपटक ४ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ।
बैंकले आफ्ना शेयरधनीहरुका लागि पनि खुसीको खबर दिएको छ । अघिल्लो साल यही अवधीमा १३ करोड ५२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा कमाएकोमा यस वर्ष १५ करोड २१ लाखभन्दा बढी यस्तो नाफा आर्जन गरेको छ । यसलाई वार्षिक तथ्यांकमा ढाल्ने हो भने यो सालको नाफाबाट बैंकले १५.७६ प्रतिशत लाभांश क्षमता बनाउने देखिन्छ, जुन गत साल १४ प्रतिशतमात्रै थियो ।
यससँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि महत्वपूर्ण सुधार आएको छ। गत वर्ष २० रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर २३ रुपैयाँ पुगेको छ। यता, बैंकको प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २० गुणाको आसपास रहेको छ। यी सबै सूचकहरूले बैंकको समग्र कार्यसम्पादन सन्तोषजनक रहेको देखाउँछन्।
















