१३ कार्तिक २०८३, शुक्रबार

डिब्यानको नेतृत्वमा दिनेश थकाली पक्का, पदाधिकारी छनोटका लागि आन्तरिक गृहकार्य तीव्र



धुलिखेलमा जारी साधारणसभाले विकास बैंकहरूको छाता संस्था डिब्यानको नयाँ अध्यक्षमा दिनेश थकालीलाई चयन गरेको छ भने अन्य पदाधिकारीको टुंगो लगाउन आन्तरिक छलफल अन्तिम चरणमा पुगेको छ।

काठमाडाैँ । विकास बैंकहरूको छाता संस्था “डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल (डिब्यान)” को नयाँ अध्यक्ष पदमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाइ चुन्ने पक्कापक्की भएकाे छ ।

संस्थाकाे एक्काइसौं वार्षिक साधारणसभाले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्न लागेकाे हाे। यस क्रममा हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेका थकालीलाई संस्थाको नयाँ अध्यक्षको रूपमा सर्वसम्मतिले चयन गरिएको छ।

बैंकिङ क्षेत्रमा लामो अनुभव संगालेका थकालीले यसअघि पनि संस्थालाई गतिशीलता दिन विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन्। वित्तीय बजारमा देखिएका जटिलता र तरलता व्यवस्थापनका चासोबीच आएको यो नेतृत्व परिवर्तनलाई वित्तीय क्षेत्रमा चासोका साथ हरिएकाे छ।

सांग्रीला डेभेलपमेण्ट बैंकका प्रमुख कार्यकारी सुयाेग श्रेष्ठ यसअघि अध्यक्ष थिए । तर बैंकमा उनकाे कार्यकाल गत भदाै १७ मा सकिएपछि उनी संघकाे अध्यक्ष पदमा पनि बहाल रहेनन् । पदमा बहाल नरहेकाे व्यक्ति उक्त संस्थाकाे सदस्य नरहने भएका कारण सुयाेगकाे पद गयाे र थकालीले कार्यवहाक अध्यक्षकाे भूमिका सम्हालेका थिए ।

नयाँ नेतृत्व चयनको यस प्रक्रियामा अध्यक्षसँगै अन्य महत्त्वपूर्ण पदहरूको समेत खाका लगभग तयार भइसकेको छ। साधारणसभामा सहभागी एक उच्च स्रोतले दिएको जानकारी अनुसार संगठनको उपाध्यक्ष पदका लागि गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव उपाध्यायको नाम लगभग पक्कापक्की भइसकेको छ।

त्यसैगरी, सचिव पदमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई ल्याउने विषयमा व्यापक छलफल चलेको छ भने कोषाध्यक्षको जिम्मेवारी महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साललाई दिने लगभग सहमति जुटिसकेको छ।

डिब्यानको कार्यसमितिमा चारजना पदाधिकारी, तीनजना सदस्य र दुईजना प्रादेशिक क्षेत्रबाट प्रतिनिधित्व रहने गरी संगठनात्मक संरचना तयार गरिएको छ। हालै मात्र सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा चयन भएका रविन सिजापती र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरलाई कार्यसमितिमा कसरी र कुन जिम्मेवारीमा व्यवस्थापन गर्ने भन्ने विषयमा अहिले तीव्र रूपमा छलफल भइरहेको छ।

संस्थाभित्र सबैको उचित सम्मान र सहभागिता सुनिश्चित गर्नका लागि नेतृत्वले विभिन्न कोणबाट गृहकार्य गरिरहेको छ। बाँकी रहेका सदस्य पदहरूको विषयमा समेत औपचारिक निर्णय छिट्टै बाहिर आउने र यसले समग्र विकास बैंकहरूको एजेन्सीलाई अझ बढी प्रभावकारी बनाउने विश्वास गरिएको छ।