‘अर्नब’ चक्रवातको प्रभाव: देशैभर वर्षा र हिमपात, आगामी ३० घण्टा संवेदनशील, विशेष सतर्कता अपनाउन आग्रह
काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको अवशेषको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा र हिमाली भूभागमा हिमपात भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कात्तिक १३ र १४ गते अर्थात आज र भोलि देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा र एक–दुई स्थानमा अति भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा पनि भारी वर्षा र हिमपात हुन सक्ने देखिएको छ ।
शनिबारसम्मै यो मौसम प्रणाली जारी रहने महाशाखाले जनाएको छ । चक्रवातको यो न्यूनचापीय प्रणाली साँझतिर नेपाल नजिक आइपुग्दा यसको प्रभावले थप ५ देखि १० घण्टासम्म भारी वर्षा हुन सक्नेछ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले आगामी ३० घण्टा विशेष सतर्क रहन आग्रह गरेका छन् । अर्नब चक्रवातका कारण विशेषगरी नारायणी, वाग्मती, कमला, कन्काई र कोसी नदी जलाधार तथा तिनका उपजलाधारका नदी र खोलाहरूमा पानीको बहाव उल्लेख्य बढ्ने देखिएको छ ।
यसैबीच, बाढी पूर्वानुमान महाशाखाले पनि देशका सानाठूला नदीहरूमा आगामी दुई दिनसम्म जलसतह बढ्ने भएकाले नदीनाला आसपासका बासिन्दा तथा हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।















