सुदूरपश्चिमको अर्थतन्त्र: जीडीपी साढे ४ खर्ब नाघ्ने अनुमान, कुन क्षेत्रको योगदान कति ?
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) साढे ४ खर्ब रुपैयाँ नाघ्ने अनुमान गरिएको छ।
नेपाल राष्ट्र बैंक, धनगढी कार्यालयले हालै सार्वजनिक गरेको ‘सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन’ अनुसार यस प्रदेशको जीडीपी ४ खर्ब ६३ अर्ब ८९ करोड पुग्ने प्रक्षेपण गरिएको हाे।
राष्ट्रिय अर्थतन्त्रमा सुदूरपश्चिमको हिस्सा ७.०३ प्रतिशत रहने प्रारम्भिक अनुमान छ। त्यस्तै, राष्ट्रिय स्तरमा उपभोक्ता मूल्यमा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएकोमा यस प्रदेशको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.२८ प्रतिशत र आधारभूत मूल्यमा २.७१ प्रतिशत रहने देखिएको छ। प्रदेशको कुल उत्पादनमा प्राथमिक क्षेत्र (कृषि, वन तथा मत्स्य) को योगदान ३३.६५ प्रतिशत, द्वितीय क्षेत्र (उद्योग) को १३.६९ प्रतिशत र तृतीय क्षेत्र (सेवा) को हिस्सा ५२.६६ प्रतिशत रहेको छ।
कृषि उत्पादनमा सामान्य वृद्धि, तर कर्जा प्रवाहमा भने गिरावट
प्रतिवेदनअनुसार समीक्षा वर्षमा प्रदेशभित्र मुख्य कृषि बालीले ओगटेको भू–क्षेत्र २.११ प्रतिशतले खुम्चिएर ४ लाख १८ हजार ५७९ हेक्टरमा सीमित भएको छ। भू–क्षेत्र घटे पनि उत्पादन भने ०.८२ प्रतिशतले बढेको छ।
दलहन र गेडागुडी: दलहन (११.८६%), तेलहन तथा भटमास (९.५२%), आलु (७.०१%) र उखुको उत्पादन बढे पनि फापर (६३.२४%) र जौको उत्पादन (३२.०१%) भने भारी मात्रामा घटेको छ।
पशुपालन: दूध ११.३० प्रतिशत, मासु ६.९१ प्रतिशत र अन्डा २.२४ प्रतिशतले बढेको छ।
सिँचाइ र कर्जा: खेतीयोग्य कुल जमिनको ४१.३७ प्रतिशत भागमा मात्र सिँचाइ पुगेको छ। २०८३ असार मसान्तसम्म कुल प्रवाह भएको कर्जाको ९.५६ प्रतिशत (रु. १५ अर्ब ६२ करोड) मात्र कृषि क्षेत्रमा गएको छ, जुन अघिल्लो वर्षको तुलनामा २.१३ प्रतिशतले कम हो। कृषि कर्जाको ६७.७५ प्रतिशत हिस्सा एक्लै कैलाली जिल्लामा केन्द्रित छ।
उद्योगको क्षमता उपयोग ५१ प्रतिशत, कर्जा पनि बढ्याे
नमुना छनोट गरिएका १४ वटा उद्योगहरूको औसत क्षमता उपयोग ५१.२९ प्रतिशत रहेको छ। जी.आई. तार, इँट्टा र खानेतेल उद्योगको क्षमता उपयोग ६० देखि ७० प्रतिशतसम्म हुँदा साबुन (२६.५२%) र रोजिन (३६.०४%) को उत्पादन क्षमता भने सुस्त देखिएको छ।
समीक्षा वर्षमा औद्योगिक कर्जा ३.७२ प्रतिशतले बढेर २७ अर्ब ७१ करोड पुगेको छ। चैतसम्म १ हजार ५९९ वटा उद्योग दर्ता हुँदा ५ हजार ४५२ जनाले रोजगारी पाएका छन्।
यसैबीच, चुरे गाउँपालिकास्थित द अर्गानिक भ्याली प्रालिले स्थानीय अदुवा प्रशोधन गरी वार्षिक करिब ५ करोड रुपैयाँ बराबरको सुकेको अदुवा जर्मनी निर्यात गरेको सकारात्मक तथ्य पनि प्रतिवेदनमा समेटिएको छ।
पर्यटन, घरजग्गा कारोबार र बैंकिङ गतिविधि
प्रदेशमा भ्रमण गर्ने बाह्य पर्यटकहरूको संख्यामा सुधार देखिएको छ। अध्ययनमा समेटिएका ११ वटा होटलको औसत अकुपेन्सी ३४.६९ प्रतिशत छ भने १७,९९७ भारतीयसहित १८,८२२ जना बाह्य पर्यटकले प्रदेश भ्रमण गरेका छन्। भारतीय पर्यटकको आगमन १७ प्रतिशतले बढेको छ।
त्यस्तै, घरजग्गा रजिस्ट्रेसन ११.४१ प्रतिशतले बढ्दा राजस्व १७.२९ प्रतिशतले वृद्धि भई १ अर्ब ४४ करोड पुगेको छ। वित्तीय क्षेत्रतर्फ, ८४४ वटा बैंक तथा वित्तीय संस्थाका शाखा सञ्चालनमा रहेका छन्। निक्षेप संकलन १८.५६ प्रतिशतले बढेर २ खर्ब ६ अर्ब र कर्जा प्रवाह ३.८२ प्रतिशतले बढेर १ खर्ब ६३ अर्ब पुगेको छ।
पूर्वाधार विकास र वैदेशिक रोजगारीमा छलाङ
सुदूरपश्चिमका ८७.३ प्रतिशत नागरिकमा विद्युत् पहुँच पुगेको छ भने विभिन्न जलविद्युत आयोजनाबाट १६९ मेगावाट बिजुली उत्पादन भएको छ।
राष्ट्रिय गौरवका आयोजनामध्ये महाकाली सिँचाइको भौतिक प्रगति ३० प्रतिशत र रानी जमरा कुलरिया सिँचाइको भौतिक प्रगति ७५.५ प्रतिशत पुगेको छ। महाकाली नदीमा चार लेनको पुल निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ।
रोजगारीको खोजीमा बाहिरिने क्रम भने उच्च दरले बढेको छ। समीक्षा वर्षमा यस प्रदेशबाट ६२ हजार ७३६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ५३.७९ प्रतिशतले बढी हो।
आन्तरिकतर्फ प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ७ हजार जनाले औसत ७८.५ दिनको रोजगारी पाएका छन्।















