पहिलो त्रैमासमा माछापुच्छ्रे बैंककाे छलाङ: नाफा ३१.८७% ले बढ्दा अधिकांश सूचकमा लोभलाग्दो सुधार
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा माछापुच्छ्रे बैंककाे नाफा ३१.८७ प्रतिशतले बढेकाे छ। असारदेखि असोज मसान्तसम्म बैंकले ५५ करोड ११ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
गत आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बैंकले ४१ करोड ७९ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.१५ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकले १ अर्ब ६६ करोड ६५ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ४६ करोड २ लाख ४० हजार रुपैयाँ रहेको थियो।
यस्तै, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानीमा पनि ६.२३ प्रतिशतको सुधार देखिएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको कुल सञ्चालन आम्दानी २ अर्ब १७ करोड ९० लाख ९४ हजार रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ५ करोड १२ लाख रुपैयाँ रहेको थियो।
त्यस्तै, बैंकको सञ्चालन मुनाफा ३४.४६ प्रतिशतले बढेको छ। गत वर्षको पहिलो तीन महिनामा ५९ करोड ८४ लाख ३१ हजार रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर यस अवधिमा ८० करोड ४६ लाख ५५ हजार रुपैयाँ पुगेको छ।
यसैगरी, बैंकको वितरणयोग्य मुनाफामा पनि भारी सुधार आएको छ। समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ११ करोड २१ लाख १४ हजार रुपैयाँ कायम भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा ११ करोड ४२ लाख ८२ हजार रुपैयाँ ऋणात्मक (घाटामा) रहेको थियो।
सम्पत्तिको गुणस्तरमा पनि केही सुधार देखिएको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा ४.१५ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ३.९७ प्रतिशतमा झरेको छ।
यस अवधिमा बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी १३.४३ रुपैयाँबाट बढेर १७.७१ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ बढेर १५४.०४ रुपैयाँ कायम भएको छ।
समीक्षा अवधिमा बैंकको व्यवसाय विस्तारतर्फ कर्जा प्रवाह र निक्षेप संकलन दुवैमा वृद्धि देखिएको छ। बैंकको कुल निक्षेप संकलन २.१८ प्रतिशतले बढेर २ खर्ब २८ अर्ब ३७ करोड २३ लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १२.३३ प्रतिशतले बढेर १ खर्ब ७२ अर्ब ६४ करोड ९३ लाख रुपैयाँ पुगेको छ।















