१४ कार्तिक २०८३, शनिबार

राष्ट्रिय वाणिज्य बैंकको ब्यालेन्स सिटमा चामत्कारिक ग्राेथ: ३ महिनामै ५ गुणाले बढ्यो बाँड्न मिल्ने नाफा, अन्य सूचक कस्ता ?



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा निकै नै उत्साहजनक वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकद्वारा सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको नाफासँगै बाँड्न मिल्ने मुनाफा (वितरणयोग्य नाफा), सञ्चालन नाफा र व्यवसाय विस्तारका प्रमुख सूचकहरूमा व्यापक उछाल देखिएको छ।

चालु आर्थिक वर्ष २०८३/८४ को असारदेखि असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफामा सबैभन्दा बढी ४९४.४२ प्रतिशतले बढेर १ अर्ब २७ करोड २९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा बैंकको यस्तो नाफा २१ करोड ४१ लाख ७५ हजार रुपैयाँ मात्र रहेको थियो।

यस अवधिमा बैंककाे खुद नाफा ६६.३० प्रतिशतले बढेर १ अर्ब ६४ करोड ९६ लाख ३७ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले ९९ करोड १७ लाख १३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

यसैगरी बैंकको सञ्चालन नाफा १०८.१६ प्रतिशतले उकालो लागेर २ अर्ब ३५ करोड १३ लाख ५४ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको पहिलो त्रैमासमा १ अर्ब १२ करोड ९५ लाख ८५ हजार रुपैयाँमा सीमित थियो।

नाफामा आएको यो उछालसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि ६६.२९ प्रतिशतको वृद्धि भएको छ। गत वर्षको पहिलो तीन महिनामा वार्षिक २५.४३ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर ४२.२८ रुपैयाँ पुगेको छ। यस्तै प्रतिसेयर नेटवर्थ पनि ३०.३३ प्रतिशतले बढेर २७४.०४ रुपैयाँबाट ३५७.१६ रुपैयाँ कायम भएको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३८.०६ प्रतिशतले विस्तार भएको छ। असोज मसान्तसम्म बैंकले ४ अर्ब ४ करोड ६६ लाख ७२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिमा २ अर्ब ९३ करोड ९ लाख ७२ हजार रुपैयाँ रहेको थियो।

यसैगरी कुल सञ्चालन आम्दानी पनि २७.४८ प्रतिशतले बढेर ५ अर्ब २ करोड ९२ लाख ७५ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्ष ३ अर्ब ९४ करोड ५१ लाख ७९ हजार रुपैयाँ थियो।

व्यवसाय विस्तारतर्फ बैंकको कर्जा प्रवाह र निक्षेप दुवैमा बढोत्तरी देखिएको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा बैंकको कर्जा प्रवाह २१.०५ प्रतिशतले बढेर २ खर्ब ४७ अर्ब ९ करोड ६० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कुल निक्षेप संकलन पनि ११.७७ प्रतिशतले वृद्धि भई ४ खर्ब ५१ अर्ब ३९ करोड ७१ लाख रुपैयाँ कायम भएको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३.९२ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ३.६५ प्रतिशतमा झरेको छ।