डिजिटल बैंकिङ प्रणाली ढलेपछि पाराग्वेमा राजनीतिक भूकम्प, राष्ट्रपति पेन्याद्वारा राजीनामा
डिजिटल बैंक ‘उएनो’ को पतन र गहिरिँदो वित्तीय संकटका कारण महाअभियोगको सामना गरिरहेका पाराग्वेका राष्ट्रपति सान्तिआगो पेन्याले पदबाट राजीनामा दिएका छन्।
काठमाडाैँ । डिजिटल ऋणदाता संस्था ‘उएनो’ बैंकको अचानक पतनले गम्भीर राजनीतिक तथा वित्तीय संकट निम्त्याएपछि पाराग्वेका राष्ट्रपति सान्तिआगो पेन्याले बिहीबार पदबाट राजीनामा दिएका छन्।
दक्षिण अमेरिकाको सबैभन्दा स्थिर अर्थतन्त्र मानिने यो देशमा उक्त घटनाले लाखौं खातावालाहरूको रकम फ्रिज हुनुका साथै लगानीकर्ताको विश्वासमा समेत ठूलो धक्का पुर्याएको छ।
सत्तारुढ रूढिवादी कोलोराडो पार्टीभित्रैबाट समर्थन गुमाएपछि संसद्ले महाअभियोगको कारबाही अघि बढाउने तयारी गरिरहेको थियो। त्यसको केही घण्टाअघि नै राष्ट्रपति पेन्याले राजीनामा घोषणा गरेका हुन्। सामाजिक सञ्जालमार्फत जारी गरिएको एक वक्तव्यमा पेन्याले आफूमाथि लगाइएको महाअभियोगको सामना गर्न र आफ्नो बचाउको अधिकार प्रयोग गर्न संसदमा उपस्थित हुने बताएका छन्।
उनले व्यक्तिगत अहंकारका कारण नभई जफाफदेही बन्नु र स्पष्टीकरण दिनु पनि पाराग्वेली जनताप्रतिको आफ्नो जिम्मेवारी भएकाले यस्तो निर्णय लिएको उल्लेख गरे।
साथै, उनले आफ्ना खाताहरूमा पहुँच गुमाएका सर्वसाधारणका समस्याको तत्काल समाधान गर्न आग्रह गर्दै तथ्यहरूको स्पष्टीकरण र भुक्तानीको समस्या समाधान गर्ने काम सँगसँगै अगाडि बढ्नुपर्ने बताए।
केन्द्रीय बैंकको हस्तक्षेप
राष्ट्रपति पेन्याको राजीनामालगत्तै पाराग्वेको सार्वभौम बन्डको मूल्यमा गिरावट आएको छ। त्यस्तै, देशको मुद्रा गुआरानी प्रतिडलर (१ अमेरिकी डलरकाे भाउ) ६,५०० भन्दा तल झरेर कारोबार भयो र अन्त्यमा ६,४९० मा बन्द भयो, जुन एकै दिनमा करिब ५ प्रतिशतले कम हो।
गत साताको सुरुमा पाराग्वेको केन्द्रीय बैंकले ‘उएनो’ बैंकले न्यूनतम “सल्भेन्सी” (शोधन क्षमता) का मापदण्डहरू पूरा गर्न नसकेको भन्दै हस्तक्षेप गरेपछि यो उथलपुथलको सुरुवात भएको थियो।
यो छिटो फस्टाउँदै गएको डिजिटल बैंक हो। यस संकटका कारण केन्द्रीय बैंकका प्रमुखलाई पदबाट हटाइइसकेको छ भने उएनोका आठ जना कार्यकारीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो, जो पछि आफैं आत्मसमर्पण गर्न पुगेका थिए।
६५ लाख जनसंख्या भएको पाराग्वेमा उएनो बैंकले करिब ३० लाख ग्राहकहरूलाई सेवा दिँदै आएको थियो। यो बैंक एउटा सानो फिनटेक कम्पनीबाट बढेर मझौला बैंकको रूपमा स्थापित भएको थियो। यसले सरकारी संस्थाहरू र पेन्सनसँग जोडिएको रकमसहित करिब ८५ करोड अमेरिकी डलर बराबरको सार्वजनिक कोषको समेत व्यवस्थापन गर्दै आएको थियो।

राजनीतिक दबाब र जनआक्रोश
बैंकको पतनले गर्दा ग्राहकहरू आफ्नो खातामा रहेको रकम झिक्न असमर्थ भएका छन्। पाराग्वेका धेरैजसो नागरिकहरू बचत, भुक्तानी र विभिन्न सुविधाहरूका लागि यही बैंकमा निर्भर रहेका कारण यसले गम्भीर राजनीतिक दबाब सिर्जना गरेको छ।
विपक्षी सांसदहरूले राष्ट्रपति पेन्यामाथि स्वार्थको द्वन्द्व सिर्जना गरेको, पेन्सनको दुरुपयोग गरेको र बैंकलाई नियमनकारी निकायको छानबिनबाट बचाउन सहयोग पुर्याएको गम्भीर आरोप लगाएका छन्। तर, पेन्याले भने यी सबै आरोपहरू अस्वीकार गर्दै यो पूर्ण रूपमा अदालतले हेर्नुपर्ने नियमनकारी विषय भएको बताएका छन्।
सन् २०२३ मा निर्वाचित भएका राष्ट्रपति पेन्याले यसअघि ‘ग्रुपो भाज्केस’ सँगको आफ्नो सम्बन्धलाई लिएर पनि कडा छानबिनको सामना गर्नुपरिरहेको छ। यो त्यही व्यापारिक समूह हो, जसले सन् २०२५ को मार्चसम्म उएनो बैंकको स्वामित्व लिएको थियो।
पेन्याले भने सोही महिना नै उक्त समूहमा रहेको आफ्नो शेयर बिक्री गरिसकेको र बैंकको कारोबारमा आफ्नो कुनै पनि किसिमको अनुचित भूमिका नरहेको स्पष्ट पार्दै आएका छन्।
उएनो बैंकका खातावाला फिलिप रोड्रिगेजले गला अवरुद्ध पार्दै भने, “पेन्याले बचतकर्ताहरूको पैसासँग खेलबाड गरिरहेका छन्। यो कार्य कदापि दण्डहीन छुट्न सक्दैन।” उनले यस प्रकरणमा उपराष्ट्रपति पेड्रो अलिआनाको पनि संलग्नता रहेको आरोप लगाएका छन्।
राष्ट्रपतिको उत्तराधिकारीको लाइनमा रहेका अलिआनापनि पछिल्लो समय पेन्याबाट टाढिँदै आएका छन्। उनले वित्तीय संकट समाधान नभएसम्म आफ्नो तर्फबाट हुने राष्ट्रपतिको उम्मेदवारीको महत्वाकांक्षालाई तत्कालका लागि स्थगन गरेको बताएका छन्।
नेपालले के सिक्ने ?
नेपालमा पनि अहिले डिजिटल बैंक, डिजिटल मुद्राका विषयमा थुप्रै अध्ययनहरू भइरहेका छन् । नेपाली अर्थतन्त्र परम्परागत बैंकिङ प्रणालीले थेग्न नसक्ने अवस्थामा देखिएकाे छ । यसका लागि डिजिटल बैंकिङकाे अभ्यास थाल्नु जरूरी पनि छ । तर यसका सम्भावित जाेखिमहरू केलाउन पाराग्वेकाे याे घटना एक उत्कृष्ट “केश स्टडी” बन्न सक्छ ।















