अमित श्रेष्ठ बने आइसिएफसी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत
आइसिएफसी फाइनान्स लिमिटेडको मुख्य कार्यकारी अधिकृत (सीइओ) पदमा अमित श्रेष्ठ औपचारिक रूपमा नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समिति बैठकले गरेको निर्णयअनुसार उनले संस्थाको सर्वोच्च कार्यकारी भूमिको जिम्मेवारी सम्हालेका हुन्।
यसअघि कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा संस्थाको नेतृत्व गर्दै आएका श्रेष्ठलाई सञ्चालक समितिले पूर्णकालीन सीइओको जिम्मेवारी सुम्पिएको हो।
कार्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयले कार्तिक २० गतेदेखि नै लागु हुने गरी उनलाई उक्त पदमा नियुक्त गरेको हो। वित्तीय क्षेत्रमा अनुभवी र लामो समयदेखि संस्थाको विभिन्न तहमा रहेर कार्य गरेका श्रेष्ठको यो नियुक्तिलाई महत्त्वका साथ हेरिएको छ।
लामो समयदेखि आइसिएफसी फाइनान्समा आबद्ध रहँदै आएका श्रेष्ठ यसअघि बैंक तथा वित्तीय क्षेत्रमा विभिन्न जिम्मेवारी पूरा गर्दै आएका अनुभवी व्यावसायिक पात्र हुन्। उनले यसअघि संस्थाको नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कुशल भूमिका निर्वाह गरेका थिए।
तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तको कार्यकाल असोज २४ गते पूरा भएपछि रिक्त भएको उक्त पदमा संस्थाले असोज २५ गतेदेखि लागू हुने गरी श्रेष्ठलाई कायममुकायम सीइओको जिम्मेवारी दिएको थियो। कामु सीइओको रूपमा उनले गरेको कार्यसम्पादन र संस्थागत नेतृत्वको क्षमतालाई मूल्यांकन गर्दै सञ्चालक समितिले उनलाई आगामी कार्यकालका लागि पूर्ण सीइओको रूपमा चयन गरेको हो।
हालको अर्थतन्त्र र वित्तीय बजारको चुनौतीपूर्ण परिस्थितिका बीच आइसिएफसी फाइनान्सले नेतृत्व परिवर्तनसँगै नयाँ गति लिने अपेक्षा सञ्चालकहरूकाे छ। संस्थागत सुशासन, कर्जा लगानीको गुणस्तर र निक्षेप वृद्धिलाई प्राथमिकतामा राख्दै आएको फाइनान्सले श्रेष्ठको नेतृत्वमा डिजिटल सेवा र व्यावसायिक विस्तारमा थप फड्को मार्ने विश्वास गरिएको छ।















