पायनियर मोटो कर्पले ल्यायो नयाँ विद्युतीय क्रसओभर ‘चेरी क्यु’, एकपटक चार्ज गर्दा ४०० किमी गुड्ने दाबी
काठमाडौं। नेपालका लागि चेरी गाडीहरूको आधिकारिक वितरक पायनियर मोटो कर्प प्रालीले आफ्नो नयाँ विद्युतीय क्रसओभर चेरी क्यु नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । आधुनिक प्रविधि, प्रिमियम आराम र अत्याधुनिक सुरक्षा सुविधासहित सार्वजनिक गरिएकोचेरी क्युले नेपालको बढ्दो विद्युतीय सवारीसाधन बजारमा नयाँ आयाम थने अपेक्षा गरिएको छ ।
चेरी क्युको लम्बाइ ४,१९५ मिमी, चौडाइ १.८११ मिमी र उचाई १.५६८ मिमी रहेको छ भने यसको ह्विलबेस २,७०० मिमी रहेको छ। १७५ मिमी ग्राउन्ड क्लियरेन्स, २१ डिग्रीको अप्रोच एंगल र २६ डिग्रीको डिपार्चर एंगलले यसलाई नेपाली सहक तथा विविध ड्राइभिङ अवस्थाका लागि उपयुक्त बनाएको छ । व्यावहारिकतालाई ध्यानमा राख्दै यसमा ७० लिटर क्षमताको इलेक्ट्रिक फ्रक ( अगाडिको स्टोरेज) र ३७५ लिटर क्षमताको पछाडिको बुट स्पेस उपलब्ध छ, जसलाई पछाडिका सिट फोल्ड गर्दा १,४५० लिटरसम्म विस्तार गर्न सकिन्छ । आरामदायी र स्थिर ड्राइभिङ अनुभवका लागि यसमा अगाडि म्याकफर्सन स्ट्रट र पछाडि मल्टिलिंक सस्पेन्सन सिस्टम जडान गरिएको छ ।
सुरक्षाका लागि चेरी क्युमा ६ वटा एयरब्याग, ५४० डिग्री प्यानोरामिक क्यामेरा, इलेक्ट्रोनिभ स्टेबिलिटी कन्ट्रोल (ESC), हिल असिस्ट लगायतका सुविधाहरू उपलब्ध छन् । साथै, एडाप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन र अटोमेटिक इमर्जेन्सी ब्रेकिङ लगायतका एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) सुविधाहरूले ड्राइभिङलाई थप सुरक्षित र सहज बनाउँछन्।
चेरी क्युमा ४१.२ किलोवाट/आवर क्षमताको एलएफपी ब्याट्री प्याक र रियर ह्वील ड्राइभ पर्मेन्ट म्याग्नेट सिन्क्रोनस मोटर जडान गरिएको छ । यसको मोटरले अधिकतम ९० किलोवाट पावर र ११५ एनएम टर्क उत्पादन गर्छ । एकपटक पूर्ण चार्ज गर्दा यसले एनइडीसी परीक्षण चक्रअनुसार ४०० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । यसमा उपलब्ध फास्ट चार्जिङ प्रविधिमार्फत ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब १६.५ मिनेट लाग्ने कम्पनीले जनाएको छ ।
पायनियर मोटो कर्प प्रालीका प्रबन्ध निर्देशकले चेरी क्युको सार्वजनिक कार्यक्रममा भने, “चेरी क्युको सार्वजनिकरणले नेपालमा विश्वस्तरीय अटोमोटिभ प्रविधि र स्मार्ट मोबिलिटी समाधानहरू भित्र्याउने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । अत्याधुनिक सुरक्षा सुविधाहरू, प्रिमियम आराम, स्मार्ट पार्किङ प्रविधि र दैनिक प्रयोगका लागि उपयुक्त व्यावहारिकताको उत्कृष्ट संयोजनसहित चेरी क्यु नेपाली ग्राहकहरूको बदलिँदो अपेक्षालाई पूरा गर्न डिजाइन गरिएको छ । नवीन उत्पादनहरू प्रस्तुत गर्नुका साथै हामी देशभर आफ्नो पूर्वाधार विस्तार गर्दै ग्राहकहरूलाई सहज र उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्न निरन्तर प्रतिबद्ध छौं।”
चेरी विश्वभर सन् २००३ देखि लगातार नम्बर १ यात्रुवाहक सवारीसाधन निर्यातकर्ता रहँदै आएको छ। २ करोडभन्दा बढी प्रयोगकर्ता तथा विश्वका १३० भन्दा बढी क्षेत्र र देशहरूमा आफ्नो उपस्थिति स्थापित गरेको चेरीले नवीनता, गुणस्तर र अत्याधुनिक अटोमोटिभ प्रविधिमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।
नेपालमा चेरीको उपस्थितिलाई थप सुदृढ बनाउँदै पायनियर मोटो कर्प प्रालीले आफ्नो देशव्यापी पूर्वाधार तथा ग्राहक सेवा सञ्जाल विस्तार गरिरहेको छ । ग्राहकहरूले चेरी क्यु प्रिमियमलाई काठमाडौंको थापाथलीस्थित चेरी शोरुमका साथै बुटवल, विराटनगर, दाङ, चितवन र बिर्तामोडस्थित शोरुमहरूमा अवलोकन तथा अनुभव गर्न सक्नेछन् । चेरी क्युको सार्वजनिकरणसँगै पायनियर मोटो कर्प प्रालीले नेपाली ग्राहकहरूलाई नवीन प्रविधि, आराम, सुरक्षा र उत्कृष्ट मूल्यको संयोजनसहितको विद्युतीय सवारी अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ ।















