ज्याला वृद्धिको माग गर्दै बंगलादेशका गार्मेन्ट श्रमिक आन्दोलित, विश्वव्यापी आपूर्ति प्रणालीमा असर पर्न सक्ने
काठमाडौँ। न्यूनतम पारिश्रमिक वृद्धिको माग गर्दै श्रमिकहरू आन्दोलित बनेपछि बंगलादेशको प्रमुख निर्यातमुखी तयारी पोशाक (गार्मेन्ट) क्षेत्र गम्भीर संकटमा फसेको छ। आन्दोलन चर्किएसँगै सावर, आशुलिया र गाजीपुरलगायतका मुख्य औद्योगिक क्षेत्रका करिब १५० वटा कारखानाको उत्पादन पूर्ण रूपमा ठप्प भएको हो।
बंगलादेशको अर्थतन्त्रको मुख्य आधार मानिने गार्मेन्ट उद्योगले देशको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा करिब १० प्रतिशत हिस्सा ओगट्दै आएको छ। चीनपछि विश्वकै दोस्रो ठूलो पोशाक निर्यातकर्ता रहेको बंगलादेशले वार्षिक ४० अर्ब अमेरिकी डलरभन्दा बढीको कपडा निर्यात गर्छ।
प्रत्यक्ष रूपमा करिब ४० लाख श्रमिक आश्रित रहेको यस क्षेत्रले ‘एचएन्डएम’, ‘प्राइमार्क’ र ‘जारा’ जस्ता विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय ब्रान्डहरूका लागि पोशाक तयार पार्दै आएको छ।
महँगी धान्न नसकिने भन्दै ज्याला दोब्बरभन्दा बढी बढाउन माग
वर्तमान बजार महँगी र दैनिक जीवनयापन खर्चको तुलनामा पारिश्रमिक निकै कम भएको भन्दै श्रमिकहरू सडकमा उत्रिएका हुन्। हाल गार्मेन्ट मजदुरको न्यूनतम मासिक ज्याला १२ हजार ५०० टाका मात्र तोकिएको छ, जसलाई बढाएर कम्तीमा ३० हजार टाका पुर्याउनुपर्ने श्रमिकहरूको मुख्य अडान छ। यही मागसहित आइतबार गाजीपुरस्थित ढाका–टाङ्गैल राजमार्गमा भेला भएका प्रदर्शनकारीहरूले सवारी आवागमन अवरुद्ध पारेका थिए, जसलाई करिब एक घण्टापछि प्रहरीले हस्तक्षेप गरी खुलाएको थियो।
प्रहरी सुपरिटेन्डेन्ट मोहम्मद अमजद हुसेनका अनुसार असुरक्षा र अशान्तिकै कारण शनिबार राति १३ वटा र आइतबार थप १६ वटा कारखाना बन्द गर्नुपरेको छ। आज पनि विभिन्न क्षेत्रहरुमा प्रदर्शन जारी छ।
बंगलादेशको श्रम कानुनमा रहेको ‘नो वर्क, नो पे’ (काम छैन, ज्याला छैन)को प्रावधानअनुसार उत्पादन अवरुद्ध भएको अवस्थामा उद्योगीहरूले कारखाना बन्द गर्ने र सो अवधिको तलब रोक्ने कानुनी अधिकार राख्छन्।
औद्योगिक अशान्ति बढ्दै गएपछि बंगलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एण्ड एक्सपोर्टर्स एसोसिएसन (बीजीएमईए) र बंगलादेश निटवेयर म्यानुफ्याक्चरर्स एण्ड एक्सपोर्टर्स एसोसिएसन (बीकेएमईए)ले कारखानाहरूको तत्काल सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
बीजीएमईएका अध्यक्ष महमूद हसन खानले औद्योगिक क्षेत्रमा सुरक्षा सुनिश्चित नभए ज्याला निर्धारण बोर्डको छलफललाई निरन्तरता दिन कठिन हुने बताएका छन्। असहज परिस्थितिका कारण सञ्चालन हुन नसक्ने कारखानाहरू श्रम कानुनबमोजिम अनिश्चितकालका लागि बन्द रहने चेतावनीसमेत उनले दिएका छन्।
अर्कोतर्फ, श्रमिक अधिकारकर्मीहरूले भने अन्तर्राष्ट्रिय बजारमा सस्तो मूल्यमा प्रतिस्पर्धा गर्न उद्योगीहरूले मजदुरको श्रम शोषण गरिरहेको आरोप लगाएका छन्। गार्मेन्ट वर्कर्स ट्रेड युनियन सेन्टरकी उपाध्यक्ष जोली तालुकदारले उद्योग मालिक र विदेशी ब्रान्डहरूले श्रमिकको पसिनाबाट अकुत नाफा कमाए पनि महँगीको मार मजदुरले मात्रै खेप्नुपरेको भन्दै सम्मानजनक जीवनयापनका लागि आधारभूत ज्याला अनिवार्य रहेको बताइन् ।
डिसेम्बरदेखि नयाँ ज्याला लागू गर्ने सरकारी गृहकार्य
श्रमिकहरूको बढ्दो असन्तुष्टि साम्य पार्न बंगलादेश सरकारले गत १ नोभेम्बरमा वरिष्ठ जिल्ला न्यायाधीशको नेतृत्वमा ‘न्यूनतम ज्याला बोर्ड’ गठन गरिसकेको छ। उक्त बोर्डले नोभेम्बर महिनाको अन्त्यसम्ममा नयाँ तलबमान सिफारिस गर्ने र आगामी डिसेम्बर १ देखि नयाँ ज्यालादर कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ।
बंगलादेश विश्वकै दोस्रो ठूलो तयारी पोशाक निर्यातकर्ता भएकाले त्यहाँको उत्पादन रोकिँदा युरोप र अमेरिकाका ठूला फेसन स्टोर तथा खुद्रा बजारहरूमा कपडाको अभाव सिर्जना हुन सक्छ। यदि यो हड्ताल र औद्योगिक अशान्ति अझै लम्बिएमा ‘एचएन्डएम’, ‘जारा’ र ‘प्राइमार्क’ जस्ता विश्वप्रसिद्ध ब्रान्डहरूको विश्वव्यापी आपूर्ति प्रणाली (ग्लोबल सप्लाई चेन) नै नराम्ररी बिथोलिने जोखिम बढेको छ।
तोकिएको समयमा सामान ढुवानी हुन नसके अन्तर्राष्ट्रिय खरिदकर्ताहरू भियतनाम, भारत वा अन्य वैकल्पिक बजारतर्फ मोडिन बाध्य हुनेछन्, जसले एकातिर विश्व बजारमा तयारी पोशाकको मूल्य र उपलब्धतामा असर पार्नेछ भने अर्कोतिर बंगलादेशको वैदेशिक मुद्रा आर्जन र समग्र अर्थतन्त्रमै गम्भीर धक्का पुर्याउने जोखिम छ।















