३० कार्तिक २०८३, सोमबार

रोयल इनफिल्डको पहिलो अफरोड इलेक्ट्रिक मोटरसाइकल ‘फ्लाइङ फ्लिया एस ६’ सार्वजनिक



रोयल इनफिल्डले इटालीको इक्मा अटो शोमा आफ्नो नयाँ स्क्र्याम्बलर इलेक्ट्रिक मोटरसाइकल ‘फ्लाइङ फ्लिया एस ६’ सार्वजनिक गर्दै अफरोड विद्युतीय बजारमा प्रवेश गरेको छ।

काठमाडाैँ । प्रतिष्ठित मोटरसाइकल निर्माता रोयल इनफिल्डले विद्युतीय सवारी साधनको बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्दै नयाँ स्क्र्याम्बलर मोडल ‘फ्लाइङ फ्लिया एस ६’ सार्वजनिक गरेको छ।

इटालीमा सम्पन्न इक्मा अटो शो २०२६ मा कम्पनीले यो अत्याधुनिक मोडललाई पहिलो पटक आधिकारिक रूपमा दुनियाँसामु प्रस्तुत गरेको हो। भारतमा उत्पादन हुने यो मोटरसाइकलले कम्पनीको इलेक्ट्रीक सेग्मेन्टमा नयाँ सम्भावना बोकेको छ।

रोयल इनफिल्डले यसअघि विकास गरेको ‘सी ६’ मोडलको हलुका आर्किटेक्चरमा आधारित रहेर नै एस ६ तयार पारिएको हो। तर, यसलाई विशेष गरी खराब सडक, कच्ची बाटो तथा ट्रेल राइडिङको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको छ।

यो मोटरसाइकल बजारमा मुख्यतया डार्ट पहेलो र लाइटनिङ ग्रे गरी दुई आकर्षक रङमा उपलब्ध हुनेछ। यसको बाहिरी बनावटमा अगाडि ठूलो र पछाडि तुलनात्मक रूपमा सानो आकारको वायर स्पोक ह्विल, ब्लक प्याटर्न टायर, सुनौला रंगको फिनिसिङयुक्त अपसाइड डाउन फ्रन्ट फोर्क, अग्लो फ्रन्ट मडगार्ड र लामो इन्ड्युरो शैलीको सिट समावेश गरिएको छ जसले यसलाई विशुद्ध स्क्र्याम्बलर लुक्स दिएको छ।

नवीन संरचना र पर्फर्मेन्स

नयाँ फ्लाइङ फ्लिया एस ६ को बनोटमा कम्पनीले निकै फरक र आकर्षक शैली अपनाएको छ। यसको निलो रंगको फ्रेम, बाइकको मध्य भागमा सेट गरिएको ब्याट्री प्याक र तल्लो भागमा जडान गरिएको इलेक्ट्रिक मोटर स्पष्ट रूपमा बाहिरैबाट देख्न सकिन्छ।

यसमा परम्परागत चेन ड्राइभको प्रयोग गरिएको छ। यद्यपि कम्पनीले यसका प्राविधिक विवरणहरू पूर्ण रूपमा खुलाएको छैन, तर यसअघिको सी ६ मोडलमा जस्तै ३.९१ किलोवाट आवरको ब्याट्री प्याक र १५.४ किलोवाट क्षमताको मोटर रहने अनुमान गरिएको छ।

उक्त मोटरले ६० एनएमसम्मको टर्क उत्पन्न गर्ने र एकपटकको पूरा चार्जमा १५४ किलोमिटरसम्मको दूरी तय गर्न सक्ने अपेक्षा गरिएको छ।

प्रविधिमैत्री फिचर

राइडरहरूको सुविधा र सुरक्षालाई मध्यनजर गर्दै यसमा अत्याधुनिक प्रविधिहरू जडान गरिएका छन्।

मोटरसाइकलमा गोलाकार रंगीन टचस्क्रिन डिस्प्ले राखिएको छ, जसमा रोयल इनफिल्डको आफ्नै ‘फ्लाइवेर ओएस’ अपरेटिङ सिस्टम प्रयोग गरिएको छ। उक्त डिस्प्लेमार्फत चालकले गति, ब्याट्रीको स्थिति, बाँकी रेन्ज र अन्य आवश्यक राइडिङ डेटा सहजै हेर्न सक्नेछन्।

यसबाहेक, विभिन्न राइडिङ मोडहरूसँगै अफरोड मोड पनि उपलब्ध गराइएको छ जसले कच्ची तथा अप्ठ्यारा बाटोहरूमा यात्रालाई सहज बनाउँछ। गोलाकार हेडलाइट, अग्लो मिरर, अपराइट ह्यान्डलबार, खुला सबफ्रेम र न्यूनतम बडीवर्कले यसको स्क्र्याम्बलर लुकलाई अझ निखारेको छ।

कम्पनीका अनुसार यो मोटरसाइकल आगामी वर्षको सुरुवाती महिनादेखि नै बिक्रीका लागि उपलब्ध हुनेछ।