३० कार्तिक २०८३, सोमबार

नियामकीय कारबाहीका कारण हिमालयन रिइन्स्योरेन्सको नाफामा भारी गिरावट, तर जाेखिमबाट जाेगियाे



खुद बीमाशुल्क आर्जन र लगानी आम्दानीमा आएको ठूलो संकुचनका कारण हिमालयन रिइन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ५७ प्रतिशतभन्दा धेरैले खुम्चिएको छ। तर नियामकीय कारबाहीका कारण त्रिशूली नदीकाे बाढीकाे क्षतिबाट याे कम्पनी जाेगिएकाे छ ।

काठमाडाैँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको वित्तीय कार्यसम्पादनमा ठूलो धक्का लागेको छ। कम्पनीले हालै सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार असोज मसान्तसम्म आइपुग्दा यसको खुद नाफामा भारी गिरावट आएको छ।

मुख्य व्यवसाय मानिने बीमाशुल्क आर्जन र लगानी तथा कर्जाबाट हुने आम्दानीमा आएको सुस्तताले कम्पनीको समग्र नाफा प्रभावित बन्न पुगेको हो।

विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले १० करोड ३६ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ५८ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

गत वर्षको तुलनामा यो नाफा ५७ दशमलव ८२ प्रतिशतले कम हो। असोज मसान्तसम्म आइपुग्दा खुद बीमाशुल्क घटेसँगै कर्जा तथा लगानीबाट प्राप्त हुने आम्दानीसमेत ओरालो लाग्दा नाफामा सोझो असर परेको विवरणमा देखिएको छ।

यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी १२ दशमलव १० प्रतिशतले घटेर २० करोड ५६ लाख ३४ हजार रुपैयाँमा झरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले यस्तो क्षेत्रबाट २३ करोड ३९ लाख ९३ हजार रुपैयाँ आम्दानी गरेको थियो। त्यस्तै, समीक्षा अवधिमा कम्पनीले ५९ करोड एक लाख ९७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

गत वर्षको तुलनामा यो आम्दानी ४१ दशमलव ६२ प्रतिशतले कम हो। गत वर्ष इन्स्योरेन्सले एक अर्ब एक करोड १० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। आम्दानीका स्रोतहरू खुम्चिरहेको अवस्थामा कम्पनीको कुल खर्च भने २७ दशमलव ९४ प्रतिशतले बढेर ६५ करोड ५९ लाख ६१ हजार रुपैयाँ पुगेको छ।

यद्यपि, यस अवधिमा कुल दाबी भुक्तानी भने ६२ दशमलव ७६ प्रतिशतले घटेर २० करोड २२ लाख ३९ हजार रुपैयाँमा सीमित भएको छ।

व्यापारमा आएको सुस्तताको असर कम्पनीको प्रतिशेयर आम्दानीमा पनि स्पष्ट रूपमा देखिएको छ। असोज मसान्तसम्म आइपुग्दा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी (इपीएस) ५ रुपैयाँ २३ पैसाले घटेर ३ रुपैयाँ ८२ पैसामा झरेको छ। यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ०८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १२५ दशमलव ५३ गुणा कायम भएको छ।

समीक्षा अवधिमा १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा एक अर्ब ४६ करोड रुपैयाँ र महाविपत्ती कोषमा १४ करोड ४४ लाख १५ हजार रुपैयाँ जम्मा रहेको छ भने रिटेन्ड अर्निङ्ग वा संचित मुनाफा ३ अर्ब २५ करोड २७ लाख रुपैयाँ नोक्सानीमा रहेको विवरणमा उल्लेख छ।