काठमाडौंमा मासु जाँच ऐनको कार्यान्वयन, पहिलो दिनमै २० हजार कुखुराको ‘हेल्थ चेकअप’ !
काठमाडाैँ । वर्षौंदेखि कागजमै थन्किएको ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ अन्ततः काठमाडौं उपत्यकामा कडाइका साथ कार्यान्वयनमा आएको छ।
उपभोक्तालाई स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यसहित सरकारले ऐनको पूर्ण पालना गराउन थालेपछि उपत्यकाका मुख्य वधशाला र मासु प्रशोधन केन्द्रहरूमा पहिलो पटक व्यापक रूपमा स्वास्थ्य परीक्षण सुरु भएको हो।
ऐनको कार्यान्वयनसँगै अब उपत्यकावासीले किनेर खाने मासु कति सुरक्षित छ भन्ने पहिचान गर्न सहज हुने देखिएको छ।
ऐन कार्यान्वयनको पहिलो दिन काठमाडौं उपत्यकाका पाँच फरक स्थानमा भेटेरिनरी चिकित्सकहरूलाई खटाइएको छ। नेपाल पशु चिकित्सा परिषद् र भेटेरिनरी कम्प्लेक्स त्रिपुरेश्वरको सक्रियतामा यो अभियान थालिएको हो।
बालाजुको काठमाडौं भ्याली कोल्डस्टोर, टोखाका सिन्धु चिकेन र थ्रिस्टार फुड प्रालि, मध्यपुरथिमीको न्यु पञ्चकन्या सप्लायर्स तथा टेकुस्थित राँगाको मासु पसललाई पहिलो चरणको केन्द्र बनाइएको छ। तोकिएका ती स्थलहरूमा पशु चिकित्सकहरूको टोली आफैं उपस्थित भएर मासुको गुणस्तर जाँच गरेका हुन्।
पहिलो दिनको अभियानले निकै उत्साहजनक परिणाम दिएको छ। भेटेरिनरी कम्प्लेक्सका उपाध्यक्ष मनोजकुमार शाहीका अनुसार उद्घाटनकै दिन उपत्यकाका ती वधस्थल तथा प्रशोधन केन्द्रहरूमा करिब २० हजार कुखुरा, सात वटा राँगा र दुई वटा खसीको स्वास्थ्य परीक्षण गरिएको छ। लामो समयदेखि विना परीक्षण बजारमा पुग्ने गरेको मासुलाई अब वैज्ञानिक विधिबाट जाँच गरेर मात्रै उपभोक्तासम्म पुर्याउने प्रबन्ध मिलाइएको छ।
नयाँ व्यवस्थाअनुसार अब कुनै पनि पशुपन्छीलाई वध गर्नुअघि र गरिसकेपछि अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गर्नुपर्नेछ। पशुपन्छी जीवित हुँदा गरिने ‘एन्टिमोर्टम’ र वध गरिसकेपछि गरिने ‘पोस्टमार्टम’ परीक्षणबाट मासुको अवस्था यकिन गरिन्छ। निरीक्षणका क्रममा यदि कुनै पक्षी वा पशुपन्छी मरेको वा अस्वस्थ भेटिएमा त्यसलाई तत्काल हटाइन्छ।
पूर्ण रूपमा स्वस्थ र उपभोगका लागि योग्य ठहरिएका मासुमा मात्र आधिकारिक छाप लगाउने गरिएको छ।
उपभोक्ताको स्वास्थ्यमा कुनै पनि असर नपरोस् भन्ने तर्फ भेटेरिनरी विज्ञहरू पूर्ण सचेत देखिएका छन्। मासुमा लगाइने छापका लागि विशेष ‘फुड ग्रेड’को मसी प्रयोग गरिएको छ, जसले मानव स्वास्थ्यलाई कुनै किसिमको हानि पुर्याउँदैन।
यो अभियानलाई प्रभावकारी बनाउन बालाजुमा डा. कमलेश्वर भाट, टोखामा डा. गौरीमान श्रेष्ठ र डा. जस्मिन अधिकारी, भक्तपुरमा डा. पुजन सिंह कुँवर तथा टेकुमा डा. उदयलाल खत्रीलाई मासु निरीक्षकको जिम्मेवारी दिएर खटाइएको छ। यसले अब उपत्यकामा खुला र लापरबाहीपूर्ण तरिकाले बिक्री हुने मासुको अन्त्य गर्ने विश्वास लिइएको छ।















