साताको पहिलो कारोबार दिन नेप्सेमा १२.७९ अंकको गिरावट, ४ अर्ब ७३ करोडको कारोबार
काठमाडौँ। साताको पहिलो कारोबार दिन नेपाली शेयर बजारमा गिरावट आएको छ। अघिल्लो कारोबार दिन घटेको बजारले यस दिन पनि सुधारको संकेत देखाउन सकेन। नेप्से परिसूचकसँगै अधिकांश उपसूचक ओरालो लागे पनि बजारमा शेयर कारोबार रकम भने उल्लेख्य रूपमा वृद्धि भएको छ।
मंगलबार नेप्से परिसूचक १२.७९ अंकले घटेर २ हजार ६३६.१० विन्दुमा कायम भएको छ। बजार परिसूचक घटे पनि कारोबार रकममा भने वृद्धि देखिएको छ। गत शुक्रबार ३ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएकोमा मंगलबार ३५३ वटा कम्पनीका १ करोड १२ लाख ९३ हजार कित्ता शेयर किनबेच भएका छन्। कुल ४८ हजार ७८८ पटक भएको कारोबारबाट ४ अर्ब ७३ करोड ११ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको हो।
यस दिन अप्पर लोहोरे खोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक लाभ कमाएका छन्। कम्पनीको शेयरमूल्य ११.८४ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, सेन्ट्रल फाइनान्सको शेयरमूल्य ६ प्रतिशत र एपोलो हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढीले बढेको छ। यसको विपरीत एभरेष्ट कलरको शेयरमूल्य ५.३६ प्रतिशतले घट्दै सर्वाधिक गिरावट बेहोर्ने कम्पनी बनेको छ।
कारोबार रकमका आधारमा ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ पहिलो स्थानमा रहेको छ। उक्त ऋणपत्रको २८ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यसैगरी, घलेम्दी हाइड्रोको २० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार हुँदा सेन्ट्रल फाइनान्सको कारोबार रकम पनि १९ करोड ५० लाख रुपैयाँ नाघेको छ।
उपसमूहतर्फ १३ मध्ये १२ वटा समूहको परिसूचकमा गिरावट आएको छ भने एउटा समूह मात्र सकारात्मक देखिएको छ। म्युचुअल फण्ड उपसमूह सामान्य अंकले बढेको हो। अर्कोतर्फ होटल तथा पर्यटन उपसमूह सबैभन्दा बढी प्रभावित भएको छ। उक्त उपसमूहको परिसूचक १.२१ प्रतिशतले घटेको छ।















