राष्ट्र बैंकको खुद नाफा साढे ८३ अर्ब नाघ्यो, रेमिट्यान्स र विदेशी मुद्रा सञ्चितिमा नयाँ कीर्तिमान
काठमाडौँ। बढ्दो विदेशी विनिमय सञ्चिति र ब्याज आम्दानीमा भएको सुधारका कारण नेपाल राष्ट्र बैंकको गत आर्थिक वर्ष २०८२/८३ को खुद नाफामा उल्लेखनीय वृद्धि भएको छ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा वर्षमा बैंकको खुद नाफा ३ अर्ब रुपैयाँभन्दा बढीले बढेर ८३ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३.८४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकको खुद नाफा ८० अर्ब ४८ करोड रुपैयाँ रहेको थियो ।
रेमिट्यान्स र विदेशी मुद्रा सञ्चितिमा नयाँ कीर्तिमान
रेमिट्यान्स र आयातमा आएको सुधारका कारण देशको विदेशी विनिमय सञ्चितिले नयाँ कीर्तिमान बनाएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कुल विदेशी विनिमय सञ्चिति ४५.६ प्रतिशतले वृद्धि भई ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो।
गत आव केन्द्रीय बैंकले विदेशी मुद्राको खुद ब्याज आम्दानी १ खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ गरेको छ । यो अघिल्लो आव सोही अवधिको तुलनामा २३ प्रतिशत बढेको छ। यद्यपि, वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था कायम रहँदा स्वदेशी मुद्रातर्फको ब्याज आम्दानीमा भने नकारात्मक असर परेको देखिएको छ।
सुनचाँदी तथा विनिमय दरमा आएको उतारचढावको प्रभाव
समीक्षा वर्षमा सुनचाँदीको मूल्य र विदेशी विनिमय दरमा आएको उतारचढावका कारण केन्द्रीय बैंकले क्रमश: ७१ अर्ब ७१ करोड र २ खर्ब ५४ अर्ब ८३ करोड रुपैयाँ बराबरको फेयर लाभ वा मूल्यांकन मुनाफा हासिल गरेको छ । तर, यो नाफा बैंकले पाइसकेको भने छैन । सम्पत्ति र त्यसको मूल्यांकनका आधारमा एक वर्ष अवधिमा विदेशी विनिमय तथा सुनचाँदी मूल्यमा भएको उतारचढावबाट भएको लाभ हो । त्यो नाफा नगदमा परिवर्तन भने भइसकेको छैन ।
यस्तै, कानुन बमोजिम विभिन्न सञ्चिति कोषहरूमा छुट्याउनुपर्ने रकम व्यवस्थापन गरेपश्चात बाँकी रहेको ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण गर्ने निर्णय केन्द्रीय बैंक सञ्चालक समितिले गरिसकेको छ।
यसैगरी गत आर्थिक वर्षमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.०८ प्रतिशतमा सीमित रहेको छ भने चालु खाता ९ खर्ब २३ अर्ब ५६ करोड र शोधनान्तर स्थिति १० खर्ब २७ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ। यस अवधिमा कायम विदेशी विनिमय सञ्चितिले करिब २३ महिनाको वस्तु आयात र १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता राख्छ।
त्यसैगरी, केन्द्रीय बैंकको कुल सम्पत्ति तथा दायित्व ४५.०६ प्रतिशतले बढेर ३८ खर्ब ७४ अर्ब ८२ करोड रुपैयाँभन्दा माथि पुगेको छ भने २०८३ असार मसान्तसम्ममा कुल ८ खर्ब ७ अर्ब ६९ करोड बराबर विभिन्न दरका नोटहरु चलनचल्तीमा छन्।















