१ मंसिर २०८३, मंगलबार

हिउँद कटाउन भारतबाट ३५० मेगावाट विद्युत् आयातका लागि नेपालले पायाे अनुमति



हिमबाढीले आन्तरिक उत्पादनमा धक्का लागेका बेला नेपालले भारतबाट ३५० मेगावाटसम्म बिजुली आयात गर्ने औपचारिक अनुमति पाएको छ।

काठमाडाैँ । नेपालले यसपालिको हिउँदयाममा देखिएको ऊर्जा संकट टार्नका लागि भारतबाट ३५० मेगावाटसम्म विद्युत् ल्याउने औपचारिक अनुमति पाएको छ। भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले ऊर्जा विनिमय बजार (आइएक्स) को डे–अहेड तथा रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा बिजुली खरिद गर्न बाटो खुलाइदिएको हो।

प्राकृतिक विपद्का कारण स्वदेशी उत्पादन प्रणालीमा आएको अवरोधका बीच प्राप्त भएको यो अनुमतिले यस वर्षको हिउँदमा लोड व्यवस्थापन गर्न सहज हुने देखिएको छ।

प्राप्त अनुमतिअनुसार नेपाल विद्युत् प्राधिकरणले आगामी मङ्सिर १ गतेदेखि २०८४ साल साउन १५ गतेसम्म भारतबाट बिजुली ल्याउन सक्नेछ। आइएक्सको बजारबाट दैनिक १७ घण्टासम्म यो परिमाणको विद्युत् आयात गर्न पाइनेछ। विशेष गरी बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मको समयबाहेक अन्य समयमा उक्त बजारबाट बिजुली आयात हुनेछ।

विद्युत् आयातका लागि विभिन्न प्रसारण लाइनहरू प्रयोग गरिने भएका छन्। कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनमार्फत ५० मेगावाट गरी कुल ३५० मेगावाट विद्युत् ल्याउने प्रबन्ध मिलाइएको छ।

यसरी हुने आयातले नेपालको ऊर्जा प्रणालीमा आउन सक्ने चुनौतीलाई समयमै ठेगान लगाउन मद्दत पुग्नेछ।

रसुवास्थित भोटेकोशी क्षेत्रमा आएको भीषण हिमबाढीले त्रिशूली नदी बेसिनका जलविद्युत् आयोजना र प्रसारण लाइनमा ठूलो क्षति पुर्‍याएको छ। यसैका कारण कुल ४३१ मेगावाट जडित क्षमता भएका आयोजनाहरू राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएका छन्। यही गम्भीर अवस्थालाई मध्यनजर गर्दै प्राधिकरणले हिउँदको माग धान्नका लागि बाह्य विकल्पलाई तीव्रता दिएको हो।

गत वर्षको माग र उत्पादनको तथ्याङ्क विश्लेषण गर्दा यस वर्षको पुस, माघ, फागुन र चैत गरी चार महिनासम्म आन्तरिक उत्पादनले मात्र धान्न नसक्ने देखिएको छ। यस अवधिमा भारतबाट नियमित रूपमा बिजुली ल्याउनैपर्ने बाध्यता रहेको छ। अझ माघ र फागुनको समयमा त दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म निरन्तर आयात गर्नुपर्ने आकलन गरिएको छ।

त्यसैगरी, साँझको उच्च माग (पिक आवर) का बेला त दैनिक ८०० देखि ९०० मेगावाटसम्म बिजुली आयात गर्नुपर्ने अवस्था आउन सक्ने अनुमान गरिएको छ। यद्यपि, पुस र चैतमा भने तुलनात्मक रूपमा कम परिमाण आयात गरे पुग्नेछ। आगामी वैशाख लागेसँगै नदीहरूमा पानीको बहाव बढ्ने र स्वदेशी उत्पादनले गति लिने हुनाले आयात स्वतः घटेर पुनः निर्यातको अवस्थामा पुग्ने अपेक्षा गरिएको छ।

आयातको अनुमतिसँगै नेपालले आफ्ना केही जलविद्युत् आयोजनाबाट उत्पादित थप ५६ मेगावाट बिजुली भारतीय बजारमा बिक्री गर्न अनुमति पाएको छ। यो अनुमतिसँगै भारतमा नेपालले बिक्री गर्न पाउने कुल बिजुलीको परिमाण १२३५ मेगावाट पुगेको छ।

यसले एकातिर आन्तरिक प्रणालीमा परेको चापलाई भारतबाट आयात गरेर टार्ने र अर्कोतिर अतिरिक्त क्षमता भएका आयोजनाको ऊर्जा बाहिर पठाएर सन्तुलन कायम राख्ने नीतिलाई बलियो बनाएको छ। कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार बदलिँदो परिस्थिति र आपतकालीन अवस्थामा पनि नेपालको ऊर्जा सुरक्षालाई सन्तुलनमा राख्न यी दुवै निर्णयहरू कोसेढुङ्गा साबित हुनेछन्।