३ मंसिर २०८३, बिहिबार

धान उत्पादनमा उछाल आएपछि विश्व बजारमा सस्तो चामल बेच्दै भारत, नेपालमा कस्तो असर पर्ला?



काठमाडौँ। भारतमा धान तथा चामलको उत्पादनमा ऐतिहासिक छलाङ आएपछि सरकारी गोदामहरू भरिभराऊ भएका छन् भने अतिरिक्त चामल अन्तर्राष्ट्रिय बजारमा सस्तो मूल्यमा निर्यात भइरहेको छ। देशभित्र खपत हुनेभन्दा करिब ४ करोड ७० लाख टन बढी उत्पादन भएपछि सरकारी गोदाम भरिएका हुन्। 

दशकौँदेखिको सरकारी अनुदान, न्यूनतम समर्थन मूल्यमा राज्य सरकारहरूले थप्ने अतिरिक्त बोनस तथा उन्नत बीउको प्रयोगले भारतको उत्पादनलाई कीर्तिमानी स्तरमा पुर्‍याएको हो।

विश्वव्यापी चामल व्यापारको करिब ४० प्रतिशत हिस्सा ओगट्ने भारतको यो अवस्थाले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा चर्काएको छ भने यसको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव नेपाली अर्थतन्त्र, उपभोक्ता र किसानमाथि समेत पर्ने देखिएको छ।

भारतमा किन बढ्यो चामलको अतिरिक्त मौज्दात ?

भारतले आर्थिक वर्ष २०२५/२६ मा मात्रै १५ करोड ४० लाख टन चामल उत्पादन गरेको छ। भारतको आन्तरिक चामल खपत करिब १० करोड ७० लाख टनको हाराहारीमा रहँदा उत्पादन त्यसभन्दा निकै बढी पुगेको छ, जसले उत्पादन र खपतबीच असन्तुलन सिर्जना गरेको छ। यही कारण एक दशकमा भारतको चामल निर्यात दोब्बर भएर २ करोड २३ लाख टन नाघिसकेको छ।

केन्द्र सरकारले तोक्ने न्यूनतम समर्थन मूल्यमा कतिपय राज्य सरकारले थप रकम दिन थालेपछि किसानहरू धान खेतीतर्फ आकर्षित भएका छन्। यसले सरकारी गोदामहरूको भण्डारण क्षमतामा दबाब पार्नुका साथै अनुदानको खर्चसमेत बढाएको छ।

अतिरिक्त उत्पादनसँगै सस्तो भारतीय चामल विश्व बजारमा पुगेपछि थाइल्यान्ड र भियतनामजस्ता प्रमुख चामल निर्यातक मुलुकका उत्पादकहरूमाथि मूल्यको दबाब परेको छ।

नेपालमा कस्तो असर पर्ला ?

नेपाल आफैँ वार्षिक रूपमा अर्बौँ रुपैयाँको धान, चामल र कनिका आयात गर्ने मुलुक भएकाले भारतको चामल नीति र मूल्य परिवर्तनको असर यहाँको बजारमा छिट्टै देखिन्छ।

नेपालमा आयात हुने चामलको ठूलो हिस्सा भारतबाटै आउँछ। विज्ञहरुका अनुसार भारतमा चामलको आपूर्ति सहज र मूल्य प्रतिस्पर्धी हुँदा नेपाली बजारमा चामलको भाउ आकासिने जोखिम कम हुन्छ, जसले खाद्य मुद्रास्फीति नियन्त्रणमा राख्न र सर्वसाधारण उपभोक्तालाई तत्काल राहत तथा सस्तो वा सुपथ मूल्यमा चामल उपलब्ध गराउन सहयोग पुर्‍याउन सक्छ।

अर्कोतर्फ, सस्तो भारतीय चामल सहजै उपलब्ध हुँदा वा सीमावर्ती क्षेत्रबाट अनौपचारिक तथा सस्तो आयात बढ्दा नेपाली किसानले उत्पादन गर्ने धान र चामलले उचित मूल्य नपाउने जोखिम रहन्छ। भारतमा उत्पादन लागत र अनुदानको संरचना फरक भएकाले स्वदेशी उत्पादनसँग मूल्यमा प्रतिस्पर्धा गर्न कठिन हुने र दीर्घकालमा धान खेती निरुत्साहित हुन सक्ने चिन्ता कृषि क्षेत्रका जानकारहरूले व्यक्त गर्दै आएका छन्।

पछिल्ला वर्षहरूमा भारतका निर्यात नीति र कोटा प्रणालीका कारण नेपालमा चामलभन्दा धान वा कच्चा पदार्थको व्यापार र मिल सञ्चालनको सन्तुलनमा उतारचढाव देखिँदै आएको छ। भारतमा चामलको मौज्दात थुप्रिएर निर्यात सहज बन्दा तयारी चामलको आयात बढ्ने र स्वदेशी मिलहरूको पेलाइ क्षमता वा प्रशोधन व्यापारमा असर पर्न सक्ने सम्भावना रहन्छ।

चामल सस्तो हुँदा प्रतियुनिट आयात लागत घट्न सक्छ, तर समग्रमा आयातको परिमाण बढेमा खाद्यान्नमाथिको परनिर्भरता कायमै रहन्छ। यस्तो अवस्थामा उपभोक्ताको हित, किसानको आम्दानी सुरक्षा र स्वदेशी उत्पादन प्रवर्द्धनबीच सन्तुलन कायम गर्न सरकारले भन्सार, क्वारेन्टिन तथा कृषि समर्थन नीतिमा समयमै ध्यान दिनुपर्ने देखिन्छ।