३ मंसिर २०८३, बिहिबार

विश्व सेयर बजारमा एन्थ्रोपिकको धमाका, स्पेसएक्सको रेकर्ड तोड्दै पुँजी सङ्कलनमा नयाँ कीर्तिमान



सेयर बजारमा सूचीकृत हुने तयारीसँगै कृत्रिम बौद्धिकता कम्पनी एन्थ्रोपिकको मूल्य १५ खर्ब डलरसम्म पुग्ने देखिएको छ, जसले लगानीकर्ताको उत्साहसँगै एआईको नाफा र जोखिमबारे नयाँ बहस छेडेको छ।

काठमाडाैँ । सेयर बजारमा बिहीबारदेखि कारोबार सुरु हुने तयारीसँगै एन्थ्रोपिकको मूल्य १५ खर्ब (१.५ ट्रिलियन ) अमेरिकी डलरसम्म पुग्ने देखिएको छ।

लोकप्रिय च्याटबट क्लाउड बनाउने कृत्रिम बौद्धिकता (एआई) कम्पनी एन्थ्रोपिकले न्युयोर्कस्थित प्रविधि केन्द्रित सेयर बजार नास्डाकमा सूचीकृत हुँदा आफ्ना सेयरको मूल्य प्रतिसेयर ८३ डलर तोकिने बताएको छ। यसले यसलाई विश्वकै सर्वाधिक मूल्यवान् कम्पनीहरूमध्ये एक बनाउनेछ।

एन्थ्रोपिकको सेयर बजार प्रवेशले यसलाई पूर्ण रूपमा एआईमा केन्द्रित भएर सार्वजनिक हुने पहिलो अमेरिकी कम्पनी बनाउनेछ। तीव्र गतिमा बढिरहेको यो उद्योगका लागि यो एउटा महत्त्वपूर्ण परीक्षा पनि हुनेछ, किनकि यस प्रविधिमा खन्याइएको विशाल पुँजीबाट नाफा कमाउन सकिन्छ कि सकिँदैन भन्ने प्रश्न उठिरहेका छन्।

कम्पनीले यसै महिनाको सुरुमा आफ्ना सेयर ७० देखि ७८ डलरसम्ममा प्रस्ताव गर्ने बताएको थियो, जसले कम्पनीको मूल्य १३ खर्ब डलर (१.३ ट्रिलियन डलर) सम्म आकलन गरेको थियो। तर नाम नखुलाउने सर्तमा बीबीसीसँग कुरा गरेका कम्पनीका एक सुरुवाती लगानीकर्ताका अनुसार प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि एन्थ्रोपिकको सेयरमा अत्यधिक माग छ।

ती व्यक्तिका अनुसार सार्वजनिक सूचीकरणअघि उपलब्ध सेयरको सङ्ख्याभन्दा १० गुणाभन्दा बढी आवेदन परेको छ। यदि यही अवस्था कायम रहेमा बिहीबार कारोबार सुरु भएलगत्तै एन्थ्रोपिकको मूल्याङ्कन तोकिएको लक्ष्यभन्दा निकै माथि पुग्न सक्छ।

एआईका लागि महत्त्वपूर्ण परीक्षा

माग कति बलियो रहन्छ भन्ने आधारमा एन्थ्रोपिकले एलन मस्कको कम्पनी स्पेसएक्सको सुरुवाती बजार मूल्याङ्कनलाई समेत उछिन्न सक्छ। गत जुन महिनामा २२ खर्ब डलर (२.२ ट्रिलियन डलर) मूल्याङ्कनसहित सेयर बजारमा आउँदा स्पेसएक्स विश्वकै सबैभन्दा उच्च मूल्याङ्कन भएको सेयर प्रवेश बनेको थियो। यद्यपि, त्यसपछिका हप्ताहरूमा स्पेसएक्सको सेयर मूल्यमा उल्लेख्य गिरावट आएको थियो।

हालको अवस्थाअनुसार एन्थ्रोपिकले सूचीकरणमार्फत आफ्ना सुरुवाती लगानीकर्ताबाट ६८ अर्ब डलरभन्दा बढी रकम जुटाउनेछ। निजी प्लेसमेन्टबाट थप २६ अर्ब डलर आउने अपेक्षा गरिएको छ। यसअनुसार कम्पनीले कुल ९४ अर्ब डलर रकम उठाउने अनुमान छ। सूचीकरणबाट एन्थ्रोपिकले जुटाउने नगद रकम गत जुनमा स्पेसएक्सले उठाएको रकमभन्दा पहिल्यै बढी भइसकेको छ।

च्याटजीपीटीको निर्माता तथा एन्थ्रोपिकको सबैभन्दा ठूलो एआई प्रतिस्पर्धी ओपनएआई अर्को वर्ष सेयर बजारमा जाने अपेक्षा गरिएको छ। त्यति बेलासम्म एन्थ्रोपिक पूर्ण रूपमा यही प्रविधिमा केन्द्रित वा एआई उपकरण र उत्पादनकै वरिपरि स्थापना तथा निर्माण गरिएको अमेरिकाको एक मात्र सार्वजनिक कम्पनी हुनेछ। यसको दायरा गुगल र माइक्रोसफ्टजस्ता ठूला प्रविधि कम्पनीभन्दा फरक छ, जसले एआई विकास गरे पनि अन्य प्रविधि सेवामा संलग्न छन्।

एन्थ्रोपिकको सेयर सूचीकरणलाई लिएर उत्साह भए पनि भविष्यमा आम्दानी र नाफा कमाउने क्षमताप्रति लगानीकर्तामा केही चिन्ता पनि देखिन्छ। काउन्टरप्वाइन्ट रिसर्चका प्रमुख वित्तीय विश्लेषक याङ वाङले आगामी केही वर्षमा सयौँ अर्ब डलरको वित्तीय दायित्व पूरा गर्नुपर्ने बेला एन्थ्रोपिकको व्यवसायले “त्यसको गति समात्न सक्छ कि सक्दैन” भन्ने नै मुख्य विषय रहेको बताए।

वाङले भने, “तैपनि, उत्पादकत्वको अर्को चरणलाई आकार दिने सम्भावना भएको फ्रन्टियर-मोडेल विकासकर्तामा सार्वजनिक लगानीकर्ताले प्रत्यक्ष पहुँच पाउने कुरा दैनिकजसो हुने घटना होइन।”

अन्य लगभग सबै प्रमुख प्रविधि कम्पनीले आफ्नै एआई उपकरणका लागि आवश्यक प्रविधि र पूर्वाधारमा ठूलो रकम खन्याइरहे पनि ती कम्पनी सामाजिक सञ्जाल, अनलाइन खुद्रा व्यापार वा अनलाइन खोजीमा आधारित छन्। ती कम्पनीका लागि एआई उपकरण र एप्लिकेसन सहायक विषय मात्र हुन्।

लगानी कम्पनी एम्पावरमा रणनीति प्रमुख मार्टा नोर्टनले बीबीसीसँग भनिन्, “एन्थ्रोपिक सार्वजनिक हुँदा हामीले एआईको माग कस्तो छ भन्नेबारे पूरै नयाँ झ्याल पाएका छौँ।”

तीव्र उदय

डारियो अमोडेई र डेनिएला अमोडेई दाजुभाइ-दिदीबहिनीको नेतृत्वमा सुरु भएको एन्थ्रोपिकका सह-संस्थापकहरू सबैले नयाँ एआई कम्पनी खोल्न ओपनएआईको काम छाडेका थिए। जारी एआई प्रतिस्पर्धामा यो कम्पनीले सुरक्षालाई उच्च प्राथमिकतामा राखेर प्रविधि निर्माण गर्ने संस्थाका रूपमा आफ्नो पहिचान बनाएको छ।

एन्थ्रोपिकले आफ्ना उपकरणहरू मूलतः अप्रतिबन्धित रूपमा प्रयोग गरिनुपर्ने अमेरिकी रक्षा मन्त्रालयको माग मान्न अस्वीकार गरेको थियो। प्रमुख कार्यकारी अधिकृत (सीईओ) डारियो अमोडेई एआई उपकरणहरू चाँडै यति शक्तिशाली बन्न सक्छन् कि तिनले मानव अस्तित्वमै खतरा निम्त्याउन सक्छन् भन्ने आफ्नो धारणामा स्पष्ट रूपमा बोल्दै आएका छन्।

उचित सुरक्षा उपाय अपनाइएन भने उन्नत प्रणालीले मानवतामाथि “विनाशकारी” जोखिम निम्त्याउन सक्ने तर्क गर्दै कम्पनीले विकासकर्ताहरूलाई एआईको विकास सुस्त बनाउन आग्रह गर्दै आएको छ। प्रतिस्पर्धी कम्पनी ओपनएआईले पनि प्रविधिका जोखिमबारे यस्तै चिन्ता व्यक्त गरेको छ र एआई सुरक्षासम्बन्धी चासो सम्बोधन गर्न सेयर बजारमा सूचीकृत हुने आफ्नो योजना ढिलाइ गरेको छ।

यद्यपि, एन्थ्रोपिक छिटो वृद्धि गर्न चाहन्छ र त्यसका लागि सार्वजनिक बजारमार्फत वित्तीय स्रोतमा थप पहुँच खोजिरहेको छ। नोर्टनले बजारमा अस्थिरता रहेका बेला अहिले एन्थ्रोपिक सार्वजनिक हुनुको कारण कम्पनीलाई थप पैसाको पहुँच आवश्यक पर्नु नै रहेको बताइन्।

नोर्टनले भनिन्, “एआई आर्थिक रूपमा निकै खर्चिलो छ। सार्वजनिक बजारले वित्तीय धारलाई अलि बढी खोल्छ, त्यसैले यो समय आएको हो।”

तर महँगा कम्प्युटर चिप्सको अभावमा निर्भर एआई उद्योगको व्यावसायिक मोडललाई लिएर फराकिला चिन्ता बढ्न थालेका छन्। यो प्रविधि विवादास्पद डेटा सेन्टरहरूमा पनि निर्भर छ र त्यस्ता सञ्चालनको वित्तपोषणका लागि अन्य प्रविधि कम्पनीहरूसँग सम्झौता आवश्यक पर्छ।

सम्भावित ब्याजदर वृद्धिका विषयमा छलफल गर्न भएको अक्टोबर बैठकको कार्यसूचीअनुसार फेडरल रिजर्भ बैंकले “जटिल र अपारदर्शी” संरचनामार्फत एआईसम्बन्धी ऋण तीव्र रूपमा बढिरहेकोमा चिन्ता व्यक्त गरेको छ। बैठकमा सहभागी केहीले “एआईसम्बन्धी जोखिम थोरै कम्पनीहरूमा क्रमशः केन्द्रित हुँदै गइरहेको” पनि उल्लेख गरेका थिए।