विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा तेस्रो स्थानमा उक्लियो काठमाडौं
काठमाडौं । विश्वका अति प्रदूषित सहरहरूको सूचीमा काठमाडौं तेस्रो स्थानमा उक्लिएको छ ।वायुको गुणस्तर अनुगमन गर्ने संस्था आईक्यूएयरले बिहीबार बिहान अद्यावधिक गरेको विवरणअनुसार विश्वभरका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो नम्बरमा देखिएको हो ।
आईक्यूएयरको तथ्यांक अनुसार यहाँको वायु गुणस्तर सूचकांक (यूएस एक्यूआई) १८१ मापन गरिएको छ। उक्त सूचीको शीर्ष स्थानमा रहेको पाकिस्तानको लाहोरमा एक्यूआई ३२७ पुगेको छ भने दोस्रो स्थानको बंगलादेशको ढाकामा २६१ रहेको छ ।
त्यसैगरी, १७७ एक्यूआईसहित भारतको दिल्ली चौथो, १६७ सहित पाकिस्तानको कराँची पाँचौँ र १७० सहित इजिप्टको कायरो छैटौँ स्थानमा रहेका छन् ।
आईक्यूएयरको पछिल्लो विवरणले काठमाडौंको हावा अस्वस्थकर अवस्थामा पुगेको देखाएको छ। वायु प्रदूषण बढेसँगै बालबालिका, वृद्धवृद्धा तथा दम वा श्वासप्रश्वासका बिरामीलाई स्वास्थ्यसम्बन्धी जोखिम बढ्न सक्ने देखिएको छ।















