भोटेकोशी बाढी विश्वकै लागि चेतावनी : कोप–३१ मार्फत हिमाल जोगाउन नेपालको अपिल
काठमाडौँ। टर्किएको अन्ताल्यामा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–३१) मा नेपालले हिमाली तथा पर्वतीय क्षेत्रका संकटलाई विश्वव्यापी बहसको मुख्य एजेन्डा बनाउन सशक्त पैरवी गरेको छ।
सम्मेलनका क्रममा नेपालले विशेषगरी हिमाली भेगमा बढ्दो जलवायु जोखिम, भोटेकोशी बाढीले निम्त्याएको क्षति, जलवायु न्याय र अनुकूलनका विषयलाई प्रमुखताका साथ उठान गर्यो। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बिहीबार नेपाल पेभिलियनको समापन समारोहलाई सम्बोधन गर्दै हिमालका समस्या केवल नेपालको मात्र नभई समग्र विश्वकै साझा जलवायु संकट भएको स्पष्ट पारिन्।
अन्ताल्यामा नेपाल स्पष्ट पर्वतीय एजेन्डासहित उपस्थित भएको उल्लेख गर्दै मन्त्री चौधरीले नेपाल पेभिलियनले आफ्ना पीडा र मुद्दाहरू विश्वसामु राख्ने साझा मञ्चको काम गरेको बताइन्। उनले आफू एक मन्त्रीको हैसियतमा मात्र नभई हिमाली मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न चाहने करोडौँ नेपालीको प्रतिनिधिका रूपमा सहभागी भएको धारणा राखिन्। रसुवा–भोटेकोशी बाढीपीडितको आवाज विश्व समुदायलाई सुनाउनु आफ्नो मुख्य दायित्व रहेको उनको भनाइ थियो।
सम्बोधनका क्रममा मन्त्री चौधरीले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवार र सम्बन्धित राष्ट्रहरूप्रति समवेदना प्रकट गरिन्। नेपालको विकास, पर्यटन र पूर्वाधार निर्माणमा साझेदार बनेर आएका विदेशी नागरिकहरूको निधन नेपाल र सम्बन्धित मुलुक दुवैका लागि अपूरणीय क्षति भएको बताउँदै उनले भविष्यमा यस्ता विपद् दोहोरिन नदिन ठोस कदम चालेर उनीहरूको सम्मान गरिने प्रतिबद्धता जनाइन्।
भोटेकोशीको त्रासदीलाई विश्व समुदायका लागि एक गम्भीर चेतावनीका रूपमा लिनुपर्ने बताउँदै उनले हिमालमा पर्ने जलवायु असरले तल्लो तटीय क्षेत्रसम्मका बासिन्दालाई प्रत्यक्ष प्रभाव पार्ने जिकिर गरिन्।
पर्वतीय एजेन्डालाई बलियो बनाउन सम्मेलन अवधिभर विभिन्न मुलुकका समकक्षी मन्त्री, जलवायु वित्त निकायका प्रमुख तथा संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता गरिएको मन्त्री चौधरीले जानकारी दिइन्। जटिल विषयहरूमा सहमति जुटाउन नेपाली वार्ताटोली, सांसद, विज्ञ तथा सञ्चारकर्मीहरूले देखाएको धैर्य र सक्रियताको उनले उच्च प्रशंसा गरिन्।
साथै, सम्मेलन सफल बनाउन भूमिका खेल्ने आयोजक राष्ट्र टर्किए, विकास साझेदार, नागरिक समाज, युवा र पेभिलियन व्यवस्थापन टोलीप्रति आभार व्यक्त गर्दै उनले जलवायु संकटविरुद्ध एक्लाएक्लै नभई सामूहिक रूपमा लड्ने अठोटका साथ फर्कन सबैलाई आह्वान गरिन्।
पेभिलियनमा ४७ सत्र र २८८ वक्ताको सहभागिता
नोभेम्बर ९ देखि १९ सम्म सञ्चालन भएको नेपाल पेभिलियनमा जलवायु परिवर्तनका विविध आयाममा केन्द्रित रहेर कुल ४७ वटा कार्यक्रम सम्पन्न भएका छन्। ती सत्रहरूमा १३३ नेपाली र १५५ विदेशी गरी कुल २८८ जना विज्ञ, अनुसन्धानकर्ता तथा सरोकारवालाहरूले वक्ताका रूपमा आफ्ना विचार राखेका थिए, जसमा १७१ पुरुष र ११७ महिलाको सहभागिता थियो।
पर्यावरण मन्त्रालयको अगुवाइमा स्थापित उक्त पेभिलियनमा स्वास्थ्य मन्त्रालय, वन विभाग, जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतका सरकारी निकायहरूसँगै इसिमोड, एसियाली विकास बैंक (एडीबी), यूएनडीपी, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), अक्सफाम, सेभ द चिल्ड्रेन, हेफर इन्टरनेसनल, प्राक्टिकल एक्सन लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले विभिन्न सत्रको आयोजना गरेका थिए।
जलवायु वित्तदेखि हरित ऊर्जासम्मका बहस
पेभिलियनमा आयोजित विभिन्न सत्रहरूमा जलवायु वित्त, कार्बन बजार, हरित हाइड्रोजन तथा हरित युरियाको सम्भावना, जीवाश्म इन्धनबाट न्यायोचित रूपान्तरण र हिमाली क्षेत्रको संरक्षणबारे गहन विमर्श भयो।
साथै जलवायु अनुकूलित कृषि र खाद्य प्रणाली, स्वास्थ्य, पूर्वसूचना प्रणाली, शून्य फोहोर, जलवायुजन्य बसाइँसराइ, विपद् जोखिम न्यूनीकरण, महिलामाथि परेको जलवायु असर तथा आर्थिक र गैरआर्थिक हानि–नोक्सानीका विषयमा समेत सरोकारवालाहरूले बहस गरेका थिए।















