४ मंसिर २०८३, शुक्रबार

निर्माण व्यवसायीको क्षमता वृद्धिका लागि विकास साझेदार र सरकारी निकायसँग सहकार्य गर्नुपर्छ : अध्यक्ष पाण्डे



काठमाडौं। नेपाली निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले नेपाली निर्माण व्यवसायीको क्षमता अभिवृद्धिका लागि विकास साझेदार र सरकारी निकायसँग सहकार्य गर्नुपर्ने धारणा रोखेका छन्। अध्यक्ष पाण्डेले निर्माण व्यवसायीहरूलाई आफ्नो क्षमता, सुशासन र व्यावसायिक मापदण्ड सुधार गर्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयार रहन पनि सुझाव दिएका हुन्।

राजधानीमा एशियाली विकास बैंक, विश्व बैंक र एशियन इन्फ्रास्ट्रक्चर बैंकले संयुक्त रुपमा आयोजना गरेको “बिजनेस अपरट्युनिटी सेमिनार“ लाई सम्बोधन गर्दै महासंघ अध्यक्ष पाण्डेले साझेदार संस्थाहरूद्वारा सञ्चालित परियोजनामा निर्माण व्यवसायीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न जोड दिए।

समयमै गुणस्तरीय निर्माणका लागि विविध पक्षमा ध्यान पुर्‍याउनुपर्ने धारणा पनि अध्यक्ष पाण्डेले राखे । पाण्डेले आयोजना तथा बोलपत्रसम्बन्धी सूचना समयमै उपलब्ध गराउनुपर्ने, नेपाली निर्माण कम्पनीको वास्तविक सहभागिता र क्षमता विकास सुनिश्चित गर्नुपर्ने, जग्गा प्राप्ति, वन स्वीकृति, मूल्यवृद्धि तथा भुक्तानी ढिलाइको जोखिम निर्माण व्यवसायीमाथि मात्र थोपर्न नहुने, खरिद प्रक्रियालाई पारदर्शी, निष्पक्ष र वास्तविक क्षमतामा आधारित बनाउनुपर्ने लगायतका विषय महत्वपूर्ण भएको बताए ।

मध्यपूर्वको युद्धका कारण भएको पेट्रोलियम पदार्थमा अस्वभाविक रुपमा भएको मूल्यवृद्धिलाई सम्बोधन गर्न चालु आयोजनामा समेत उचित मूल्य समायोजन तथा क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने अध्यक्ष पाण्डेको भनाइ थियो।

कार्यक्रममा सहभागी विश्व बैंक, एशियाली विकास बैंक, एशियन इन्फ्रास्ट्रक्चर बैंकका वरिष्ठ प्रतिनिधिहरूले महासंघ अध्यक्ष पाण्डेले उठान गरेका विषयहरू नेपालको सन्दर्भमा अत्यन्त सान्दर्भिक भएको धारणा राखेका थिए। कार्यक्रममा पूर्वाधार क्षेत्रमा क्रियाशील व्यवसायी, परामर्शदाता लगायतको सहभागिता रहेको थियो।