४ मंसिर २०८३, शुक्रबार

७.३८ अंकले घट्यो नेप्से, कारोबार रकममा सामान्य सुधार



काठमाडौँ। साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य गिरावटसँगै बन्द भएको छ। बिहीबार सामान्य सुधार देखिएको नेप्सेमा शुक्रबार पुनः दबाब देखिएको हो। शुक्रबार नेप्से ७.३८ अंकले ओरालो लागेको छ।

कुल १३ उपसमूहमध्ये शुक्रबार बैंकिङ्ग र म्युचुअल फण्ड गरी २ उपसमूह मात्र हरियो रहे भने बाँकी ११ उपसमूह रातो देखिए। होटल तथा पर्यटन उपसमूहमा सबैभन्दा बढी १.३९ प्रतिशतको गिरावट आएको छ।

परिसूचक घटे पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि भएको छ। बिहीबार ३ अर्ब ८७ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ३५२ वटा कम्पनीका १ करोड ६ लाख २ हजार कित्ता शेयर ३९ हजार ९६६ पटक किनबेच हुँदा ३ अर्ब ८८ करोड ७५ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ।

आजको बजारमा दोल्ती पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्, जसको शेयर मूल्य ५.१४ प्रतिशतले बढेको छ। त्यसैगरी भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको मूल्य ४ प्रतिशतभन्दा बढीले उक्लिएको छ भने बाँकी कम्पनीको वृद्धिदर ३.५ प्रतिशतभन्दा कम छ। अर्कोतर्फ, मुक्तिनाथ म्युचुअल फण्ड–२ को इकाइ मूल्य सर्वाधिक ८.५० प्रतिशतले घटेको छ भने पाल्पा सिमेन्ट इन्डष्ट्रीजको शेयर मूल्य करिब ६.५ प्रतिशतले झरेको छ।

कारोबार रकमका हिसाबले ग्लोबल आइएमई बैंक अग्रस्थानमा रह्यो, जसको २० करोड २२ लाख रुपैयाँको शेयर किनबेच भयो। लक्ष्मी सनराइज बैंकको करिब १५ करोड रुपैयाँ र रिलायन्स स्पिनिङ्ग मिल्सको ११ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।