बंगलादेशमा फेरि भड्कियो हिंसा: सवारीसाधन र सरकारी संरचना ध्वस्त पारिँदै
काठमाडौँ । राजनीतिक स्थिरतातर्फ अघि बढ्ने अपेक्षा गरिएको बंगलादेश पुनः हिंसात्मक प्रदर्शन र अस्थिरताको चपेटामा परेको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाको दल अवामी लिगले देशव्यापी बन्द आह्वान गरेपछि देशका विभिन्न भागमा आगजनी, विस्फोट, तोडफोड र झडपका शृङ्खलाबद्ध घटना भएका छन् ।
प्रदर्शनकारीहरूले सार्वजनिक यातायात, रेलमार्ग, सरकारी कार्यालय, अस्पताल तथा वित्तीय संस्थाहरूलाई निशाना बनाएका छन् । यसै क्रममा नोबेल शान्ति पुरस्कार विजेता तथा पूर्वअन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको चटगाउँस्थित पैतृक निवासमा समेत आगजनी भएको छ ।
पृष्ठभूमि र पछिल्लो तनावको कारण सन् २०२४ को विद्यार्थी आन्दोलनले हसिनाको १५ वर्षे शासन ढालेपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो । उक्त सरकारले सन् २०२६ मा निर्वाचन सम्पन्न गरेपछि तारिक रहमानको नेतृत्वमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) सत्तामा आएको हो ।
तर, हाल भारतमा निर्वासित जीवन बिताइरहेकी हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्कने घोषणा गरेपछि राजनीतिक माहोल पुनः तातेको छ । सन् २०२४ को आन्दोलन दबाउँदा मानवताविरुद्धको अपराध गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएकी हसिनालाई राहदानी र परिचयपत्र दिन वर्तमान सरकारले अस्वीकार गरेको छ।
यसैको विरोध र आफ्ना नेता–कार्यकर्तामाथिको धरपकडविरुद्ध प्रतिबन्धित अवामी लिगले बिहीबार बन्द आह्वान गरेको थियो । यद्यपि बन्दले जनजीवन पूर्ण रूपमा ठप्प नपारे पनि हिंसात्मक गतिविधिले सुरक्षा चुनौती बढाएको छ ।
बंगलादेशभर क्षतिको विवरण
अन्तर्राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमहरूका अनुसार नोभेम्बर ७ यता देशका २२ जिल्लामा भएका झडप, सडक अवरोध र आक्रमणमा ३० भन्दा बढी बस जलाइएका छन् भने कम्तीमा ८० वटा घरेलु बम विस्फोट गराइएको छ । प्रहरीका अनुसार बुधबार रातिदेखि बिहीबारसम्म मात्र ६ वटा सवारीसाधनमा आगजनी र रेलमार्गको एक खण्डमा आगो लगाइएको छ भने ढाका–चटगाउँ राजमार्गमा बस र ट्रक जलाइए पनि यात्रु समयमै बाहिर निस्कँदा मानवीय क्षति हुन पाएन ।
हिंसाको प्रभाव पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगन्जमा बढी देखिएको छ, जहाँ बीएनपीका दुई सांसदको घरमा तोडफोड र आगजनी हुनुका साथै बजार क्षेत्रमा आक्रमण भएका छन् ।
यसैगरी, बुधबार मध्यरातअघि चटगाउँस्थित मोहम्मद युनुसको पुर्ख्यौली घरको भुइँतलामा प्रज्वलनशील पदार्थ प्रयोग गरी आगो लगाइए पनि प्रहरी गस्ती टोलीले समयमै आगो निभाएकाले माथिल्लो तलामा रहेका परिवारका सदस्य सुरक्षित रहे । यता, नोभेम्बर १० देखि १९ सम्म युनुसद्वारा स्थापित ग्रामीण बैंकका ७२ वटा शाखामा समेत आक्रमण भएको बैंकले जनाएको छ ।
विभिन्न आक्रमणमा परि कैयौ मानिसहरुले ज्यान गुमाएका खबरहरु पनि त्यहाँका संचार माध्यमहरुमा आइरहेका छन्।
कूटनीतिक संशय र सुरक्षा कडाइ
हसिनाको सुपुर्दगीको विषयले बंगलादेशको आन्तरिक राजनीतिमा छिमेकी मुलुक भारतको भूमिकालाई समेत बहसमा ल्याएको छ । प्रधानमन्त्री तारिक रहमानले संसदमा बोल्दै देशलाई आत्मनिर्भर बनाउने प्रयास भइरहँदा अपदस्थ शक्ति र बाह्य तत्वले अस्थिरता फैलाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
स्थिति नियन्त्रणमा लिन सरकारले गोपालगन्ज र फरीदपुरसहित सात जिल्लामा अर्धसैनिक बल (बीजीबी) का ९७ प्लाटुन परिचालन गरेको छ । पछिल्लो २४ घण्टामा ढाकाबाट पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसहित अवामी लिग र भ्रातृ संगठनका १०७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अवामी लिगको हिंसात्मक गतिविधिपछि जमात–ए–इस्लामी नेतृत्वको ११ दलीय गठबन्धनले मूल्यवृद्धि, लोडसेडिङ र असुरक्षाको विरोधमा नोभेम्बर २१ देखि डिसेम्बर ३१ सम्म शान्तिपूर्ण जनदबाबका कार्यक्रम घोषणा गरेको छ । उता, नेसनल सिटिजन पार्टी (एनसीपी)ले भने शान्ति सुरक्षा कायम गर्न सरकारलाई सघाउने निर्णय गरेको छ।
यसैबीच, राजनीतिक तनावभन्दा अलग विषयमा कपडा उद्योगका मजदुरहरूले पनि तलब वृद्धिको माग गर्दै ढाका प्रवेश गर्ने मुख्य राजमार्ग अवरुद्ध पारेका छन्। प्रदर्शनका कारण राजधानी आसपासका केही उद्योग बन्द गर्नुपरेको छ। करिब ४० लाख श्रमिक कार्यरत रहेको बंगलादेशको मुख्य निर्यातमुखी तयारी पोसाक उद्योगमा मजदुर प्रदर्शनका कारण उत्पादन तथा ढुवानी प्रभावित बनेको छ।















