५ मंसिर २०८३, शनिबार

एक सातामै २६ हजार रुपैयाँभन्दा बढीले घट्यो सुनको मूल्य, अब के होला?



काठमाडौँ। पछिल्लो सात दिनको अन्तरालमा नेपाली बजारमा सुनको भाउ उल्लेख्य रूपमा घटेको छ। कात्तिक २८ गते शनिबार प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा कायम रहेको सुनको मूल्य मंसिर ४ गते शुक्रबारसम्म आइपुग्दा २६ हजार ३०० रुपैयाँले सस्तिएर प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको हो।

साताभरि कुन दिन कति घट्यो ?

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार, गत साता सुनको मूल्य हरेक दिन घट्दो क्रममा रह्यो । कात्तिक २९ गते आइतबार प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर २ लाख ७० हजार २०० रुपैयाँमा झरेको सुनको भाउ कात्तिक ३० गते सोमबार थप १ हजार १०० रुपैयाँले घट्दै २ लाख ६९ हजार १०० रुपैयाँमा सीमित भयो ।

यस्तै, मंसिर १ गते मंगलबार प्रतितोला १ हजार ९०० रुपैयाँको गिरावटसहित सुन २ लाख ६७ हजार २०० रुपैयाँमा किनबेच भयो । मंसिर २ गते बुधबार भने भाउमा ठूलै धक्का लाग्दै एकैदिन ६ हजार ३०० रुपैयाँले घटेर २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

गिरावटको क्रम मंसिर ३ गते बिहीबार पनि रोकिएन। उक्त दिन ३ हजार ३०० रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा झर्यो। साताको अन्तिम दिन मंसिर ४ गते शुक्रबार त एकैदिन १२ हजार २०० रुपैयाँको भारी गिरावट आई सुनको मूल्य २ लाख ४५ हजार ४०० रुपैयाँमा आइपुगेको छ ।

यता, चाँदीको मूल्य पनि घट्दै घट्दै प्रतितोला ३ हजार ११० रुपैयाँ झरेको छ ।

किन आयो भाउमा यस्तो गिरावट ?

पछिल्लो समय सुनको मूल्यमा देखिएको यो उतारचढाव निकै तीव्र छ। विश्व बजारमा सुन बिक्री गर्ने क्रम बढ्नु, अमेरिकी डलर बलियो हुनु तथा अन्तर्राष्ट्रिय भूराजनीतिक घटनाक्रमको सीधा प्रभाव स्थानीय बजारको सुनको मूल्यमा परेको महासंघका पूर्वअध्यक्ष मणिकरत्न शाक्यको विश्लेषण छ ।

आगामी दिनमा सुनको बजार कता जाने भन्ने विषयमा अझै स्पष्ट भइसकेको छैन । ‘यो साता सुनको मूल्य लगातार ओरालो लागेको छ, अबको दिनमा बजार कता जान्छ भन्ने कुरा अहिल्यै भन्न सकिँदैन,’ शाक्यले भने, ‘मूल्य अझै घट्छ कि उकालो लाग्छ भन्ने बुझ्न केही समय पर्खिनैपर्छ।’

पछिल्लो साताको निरन्तरको गिरावट हेर्दा, सुनचाँदीको मूल्यमा आइरहेको यो पहिरो रोकिने छाँट भने अझै देखिएको छैन।