६ मंसिर २०८३, आइतबार

जर्ज मुन्सीको विस्फोटक शतक, सुदूरपश्चिम रोयल्सले जित्यो एनपीएलको उपाधि



जर्ज मुन्सीको अविजित १२५ रनको कीर्तिमानी शतकसँगै सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्समाथि १० विकेटको सहज जित निकाल्दै तेस्रो संस्करणको नेपाल प्रिमियर लिगको उपाधि उचालेको छ ।

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल भिडन्तमा साविक विजेता लुम्बिनी लायन्सलाई पराजित गर्दै सुदूरपश्चिम तेस्रो प्रयासमा च्याम्पियन बनेको हो ।

लुम्बिनीले प्रस्तुत गरेको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३ ओभर ३ बलमा कुनै पनि विकेट नगुमाई भेट्टायो ।

सुदूरपश्चिमको एकतर्फी जितमा स्कटल्यान्डका ब्याटर जर्ज मुन्सीले फाइनलमा कीर्तिमानी अविजित शतक प्रहार गरे । उनले ५४ बलको सामना गर्दै ८ चौका र १२ छक्काको मद्दतमा १२५ रन बनाए । अर्को छेउबाट विनोद भण्डारीले अविजित ३० रन जोड्दै उनलाई साथ दिए ।

मुन्सी एनपीएलको फाइनलमा शतक बनाउने पहिलो खेलाडी बनेका छन् । समग्रमा एनपीएलमा शतक बनाउने उनी छैटौँ तथा जारी तेस्रो सिजनमा शतक प्रहार गर्ने तेस्रो खेलाडी हुन् । यसअघि पोखरा एभेन्जर्सका युवराज सम्रा र चितवन राइनोजका कमिल मिशाराले शतक बनाएका थिए ।

अघिल्ला हारको हिसाब चुक्ता

लगातार तेस्रो पटक फाइनल पुगेको सुदूरपश्चिमले यसपटक भने उपाधिको खडेरी तोड्यो । पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग र दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्ससँगै ६ विकेटले पराजित भएको सुदूरपश्चिमले निर्णायक खेलमा बाजी मार्यो ।

गत वर्षको फाइनलदेखि यसै संस्करणको क्वालिफायरसम्म लुम्बिनीले सुदूरपश्चिमलाई लगातार तीन खेलमा हराएको थियो ।

फाइनलमा मुन्सी चम्किएपछि सुदूरपश्चिमले ती हारको बदला लिँदै उपाधि हात पार्यो । प्लेअफका दुई खेलमा खासै जम्न नसकेका मुन्सीले फाइनलमा ४९ बलमा अर्धशतक पूरा गरेपछि झनै आक्रामक बन्दै ५४ बलमै १२५ रन पुर्याएका थिए ।

लुम्बिनीको इनिङ्स र बलिङ प्रदर्शन

टस हारेर पहिले ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनायो । लुम्बिनीका लागि दिलीप नाथले ३१ बलमा ३ छक्कासहित अविजित ३९ रन बनाए ।

कप्तान रोहित पौडेलले ३१ बलमा ४ चौकासहित ३० रन, निरोशन डिकवेलाले १७ बलमा १ चौका र २ छक्कासहित २८ रन, अली शेखले १२ बलमा समान २ चौका र २ छक्कासहित २४ रन तथा डार्सी सर्टले १८ बलमा ४ चौकासहित २१ रन जोडे । सन्दीप जोराले ४ रन र ओपनर आसिफ शेखले १ रन बनाउँदा रुबेन ट्रम्पलम्यान ४ रनमा अविजित रहे ।

तेस्रो ओभरमै आसिफ शेखलाई स्कट कुगेलेइनले एलबीडब्लू धरापमा पारे भने छैटौँ ओभरमा बलिङमा आएका सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले तेस्रो बलमै डार्सी सर्टलाई बोल्ड गरे । ३५ रनमा दुई विकेट गुमाएको लुम्बिनीको इनिङ्स रोहित र डिकवेलाले तेस्रो विकेटका लागि ३९ रनको साझेदारी गर्दै सम्हाले । ११औँ ओभरमा डिकवेलालाई थरिन्दु रत्नायकेले बोल्ड गरे ।

त्यसपछि रोहित र दिलीपले चौथो विकेटका लागि ३४ रन जोडे पनि १५औँ ओभरको अन्तिम बलमा रोहित रनआउट भए । सन्दीप जोरा ४ रनमा आउट भएपछि दिलीप र अलीले छैटौँ विकेटका लागि ३३ रनको साझेदारी गरे । सुदूरपश्चिमका लागि कुगेलेइनले २ विकेट लिँदा रत्नायके, दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले १–१ विकेट हात पारे ।

व्यक्तिगत अवार्ड र पुरस्कार

उपाधि विजेता सुदूरपश्चिम रोयल्सले १ करोड १२ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । फाइनलमा १० विकेटको जित दिलाउन निर्णायक बनेका जर्ज मुन्सी प्लेयर अफ द म्याच चुनिए ।

प्रतियोगितामा चितवन राइनोजका बलर रिजन ढकालले दुईवटा प्रमुख अवार्ड जिते । आठ खेलमा सर्वाधिक १७ विकेट लिएका ढकालले गोल्डेन क्यापसँगै सर्वोत्कृष्ट नेपाली खेलाडीको उपाधि पाए र ओमोडा कार प्राप्त गरे । उत्कृष्ट बलर घोषित हुँदै उनले पल्सर मोटरसाइकल पनि जिते । चितवन राइनोज प्लेअफसम्म पुगे पनि फाइनलमा पुग्न नसकी तेस्रो स्थानमा सीमित रह्यो ।

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । तीन अर्धशतकसहित २१८ रन बनाउनुका साथै ६ विकेट लिएका उनले पाँच लाख रुपैयाँ पाए । उत्कृष्ट ब्याटर बनेका विराटनगर किङ्सका लोकेश बमले २४२ रन बनाउँदै पल्सर मोटरसाइकल प्राप्त गरे । जनकपुर बोल्ट्सका युवा बलर राहुल यादव इमर्जिङ प्लेयर बन्दै पल्सर मोटरसाइकल पाए ।

उपविजेता लुम्बिनी लायन्सले स्पिरिट अफ क्रिकेट अवार्ड पायो भने चितवन राइनोजका श्रीलंकाली ब्याटर कमिल मिशारा दुई लाख रुपैयाँसहित रेड बुल इनर्जेटिक प्लेयर घोषित भए ।