प्रधानमन्त्री शाह आज दिल्ली उड्दै, यस्तो छ भ्रमणको औपचारिक कार्यतालिका
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि आज (आइतबार) नयाँदिल्ली प्रस्थान गर्दैछन्। प्रधानमन्त्रीको पदभार सम्हालेपछिको उनको यो पहिलो राजकीय भ्रमण मंसिर ६ र ७ गते (नोभेम्बर २२ र २३) सम्म चल्नेछ।
परराष्ट्र मन्त्रालयका अनुसार दिउँसो १:४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत जाने प्रधानमन्त्री शाहलाई भारतीय समयअनुसार दिउँसो ३:१५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ मा भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्नेछन्।
प्रधानमन्त्रीको नेतृत्वमा रहेको ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र परराष्ट्र सचिव अमृत राईलगायत उच्च अधिकारीहरू सहभागी छन् भने निजी क्षेत्रका ५२ जना उद्योगी–व्यवसायी तथा सञ्चारकर्मीहरू पनि आफ्नै खर्चमा भ्रमण दलमा सामेल भएका छन्।
यस्तो छ भ्रमणको औपचारिक कार्यतालिका
भ्रमणको पहिलो दिन आज साँझ ६:०० बजे नयाँदिल्लीस्थित होटल ताजमहलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। दोस्रो दिन सोमबार बिहान १०:०० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई विशेष ‘गार्ड अफ अनर’ सहित औपचारिक सम्मान दिइनेछ भने १०:४० बजे उनले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्।
त्यसपछि बिहान ११:०० बजे हैदरावाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच एकल (वान–टु–वान) तथा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ। वार्तापछि दिउँसो १२:२५ बजे दुई देशबीच विभिन्न समझदारीपत्र आदानप्रदान गर्नुका साथै दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन् र भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा शाह सहभागी हुनेछन्।
सोमबार अपराह्न ३:१५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता सम्पन्न गरी प्रधानमन्त्री शाह भारतीय समयअनुसार साँझ ४:५० बजे स्वदेश फर्कने कार्यतालिका छ।
यस उच्चस्तरीय भ्रमणका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्धको समग्र समीक्षा हुनुका साथै पारस्परिक हितका विविध विषयमा महत्वपूर्ण सहमति हुने अपेक्षा गरिएको छ। विशेषगरी भैरहवा, जनकपुर र महेन्द्रनगरका लागि थप हवाई प्रवेश मार्ग, अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन परियोजनाको शिलान्यास, ऊर्जा व्यापार विस्तार, सीमापार कनेक्टिभिटी, सूचना प्रविधि तथा बन्दरगाह सहकार्यलगायतका एजेन्डामा दुई देशबीच ठोस छलफल हुनेछ।















