६ मंसिर २०८३, आइतबार

कोरला नाकाको आयातमा नयाँ रेकर्ड : ७ हजार इभी भित्रिए, राजस्व असुलीले नाघ्यो वार्षिक लक्ष्य



काठमाडौँ। चालु आर्थिक वर्षको सुरुवाती चार महिनामा नेपाल–चीन सीमामा अवस्थित कोरला नाका हुँदै ७ हजार थान विद्युतीय सवारीसाधन (इभी) नेपाल आयात भएका छन्।

मुस्ताङ भन्सार कार्यालयको तथ्याङ्कअनुसार यति छोटो अवधिमा यति ठूलो परिमाणमा विद्युतीय सवारी भित्रिएको यो पहिलो पटक हो । यसअघि गत आर्थिक वर्षभरिमा यो नाकाबाट जम्मा ३ हजार २२३ वटा मात्रै इभी नेपाल भित्रिएका थिए ।

भन्सार अधिकृत अमिन्द्र सिंहका अनुसार गत भदौ १० गते भोटेकोसीमा आएको बाढीका कारण रसुवागढी नाका पूर्ण रूपमा अवरुद्ध भएपछि व्यापारीहरूले वैकल्पिक मार्गका रूपमा कोरला नाका रोजेका हुन् । नाका परिवर्तन भएसँगै इभीलगायत अन्य व्यापारिक सामग्रीको आयात ह्वात्तै बढेको हो ।

मासिक विवरणअनुसार साउनमा १००, भदौमा १ हजार २५३ र असोज–कात्तिक महिनामा ५ हजार ६४७ वटा विद्युतीय गाडी भित्रिएका छन् ।

भन्सार जाँचपास भएर छुटेका सवारीसाधनलाई गन्तव्यसम्म पुर्‍याउन भने निकै कठिनाइ भइरहेको छ । मुस्ताङ भन्सार प्रमुखका अनुसार कच्ची तथा जोखिमपूर्ण सडक र अनुभवी चालकको अभावका कारण सवारी ढुवानीमा समस्या देखिएको हो ।

यही चुनौतीका कारण भन्सार पास भइसकेका दर्जनौँ नयाँ विद्युतीय गाडीहरू अझै पनि बीच बाटोमै अलपत्र अवस्थामा रहेका छन् ।

राजस्व असुलीले नाघ्यो वार्षिक लक्ष्य

सवारीसाधन र अन्य वस्तुको आयातमा आएको उछालसँगै मुस्ताङ भन्सार कार्यालयको राजस्व सङ्कलनमा कीर्तिमान कायम भएको छ।

चालु आवको पहिलो चौमासिकमै कार्यालयले १२ अर्ब ५५ करोड १४ लाख रुपैयाँ राजस्व उठाएको छ, जुन वार्षिक लक्ष्य ९ अर्ब रुपैयाँ भन्दा ३ अर्ब ५५ करोड १४ लाख रुपैयाँले बढी हो ।

भन्सार कार्यालयका अनुसार चालु वर्षको पहिलो चार महिनामा चीनतर्फबाट ३० अर्ब ९ करोड ९ लाख रुपैयाँ बराबरका सामग्री आयात भएका छन् ।

आयातित मुख्य वस्तुहरूमा विद्युतीय सवारीसहित लत्ताकपडा, कस्मेटिक, इलेक्ट्रोनिक्स, निर्माण सामग्री, फलफूल र खाद्यान्न पर्दछन् । सोही अवधिमा नेपालबाट भने २९ करोड ५२ लाख रुपैयाँभन्दा बढीका हस्तकला तथा स्वदेशी उत्पादनहरू चीनतर्फ निर्यात भएका छन् ।