गुराँस जलविद्युत् आयोजनाको निर्माण ५० प्रतिशत नाघ्यो, स्थानीयलाई संस्थापक शेयर वितरण
भोजपुर र संखुवासभाको सीमामा निर्माणाधीन ४७.१ मेगावाट क्षमताको गुराँस जलविद्युत् आयोजनाको आधाभन्दा बढी काम सकिएसँगै प्रभावित क्षेत्रका ४२२ परिवारले संस्थापक शेयरको स्वामित्व पाएका छन् ।
काठमाडाैँ । पूर्वी पहाडी जिल्ला संखुवासभा र भोजपुरको सीमावर्ती क्षेत्रमा निर्माणाधीन ४७.१ मेगावाट क्षमताको गुराँस जलविद्युत् आयोजनाको भौतिक प्रगति ५० प्रतिशतभन्दा माथि पुगेको छ । सङ्खुवा खोलाको पानी उपयोग गरी निर्माण भइरहेको उक्त आयोजनाले ऊर्जा उत्पादनको लक्ष्यसँगै स्थानीयस्तरमा रोजगारी र आर्थिक चहलपहलसमेत बढाएको छ ।
आयोजनाले आज एक औपचारिक कार्यक्रमबीच प्रभावित क्षेत्रका ४२२ परिवारलाई संस्थापक शेयरको प्रमाणपत्र वितरण गरेको छ । गुराँस हाइड्रो लिमिटेडका कार्यकारी अध्यक्ष शिवप्रसाद घिमिरेले स्थानीय बासिन्दालाई न्यूनतम एक लाखदेखि अधिकतम पाँच लाख रुपैयाँसम्मको संस्थापक शेयरसम्बन्धी प्रमाणपत्र हस्तान्तरण गरे ।
समारोहमा अध्यक्ष घिमिरेले यो आयोजना स्थानीय समृद्धि र मुलुकको समग्र ऊर्जा विकासका लागि महत्वपूर्ण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरे । प्रभावित क्षेत्रका बासिन्दा, स्थानीय समुदाय र सरोकारवाला निकायको निरन्तर सहयोग र सहकार्यका कारण निर्माण कार्यले गति लिएको उनको भनाइ थियो ।
प्राविधिक संरचना र लागत
कुल ८ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाको निर्माण कार्य दुई जिल्लाको भूगोलमा फैलिएको छ । आयोजनाको मुख्य बाँध अर्थात् हेडवर्क्स संखुवासभाको साल्पासिलिचोङ गाउँपालिका वडा नम्बर १, २ र ३ अन्तर्गत बुधबारे क्षेत्रमा बनिरहेको छ । सङ्खुवा र सिसुवा खोलाको दोभानमा बाँध बाँधेर करिब ६ हजार ४ सय मिटर लामो सुरुङमार्फत पानी खसाल्ने संरचना तयार पारिँदै छ ।
सुरुङमार्गबाट ल्याइएको पानी भोजपुरको साल्पासिलिचो गाउँपालिका वडा नम्बर १ र २ को बेखुवा क्षेत्रमा निर्माणाधीन विद्युत् गृहमा पुर्याइने छ । विद्युत् उत्पादनपछि उक्त पानी अरुण नदीमा मिसाउने गरी पूर्वाधार निर्माण भइरहेको आयोजनाले जनाएको छ ।
रोजगारी र आगामी लक्ष्य
हाल आयोजनाको निर्माण स्थलमा प्राविधिक, निर्माण मजदुर, सुरक्षार्थ खटिएका नेपाल प्रहरी र नेपाली सेनासहित करिब सात सय जनशक्ति परिचालित छन् । यति ठूलो जनशक्तिको संलग्नताले स्थानीय स्तरमा प्रत्यक्ष रोजगारी सिर्जना गर्नुका साथै ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन टेवा पुर्याएको छ ।
आधाभन्दा बढी संरचना तयार भइसकेको अवस्थामा अब निर्माण कार्यलाई थप तीव्रता दिएर निर्धारित समयमै राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जोड्ने लक्ष्य राखिएको छ । आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि संखुवासभा र भोजपुरको स्थानीय अर्थतन्त्र उकासिनुका साथै देशको कुल विद्युत् उत्पादन क्षमतामा समेत महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।















