६ मंसिर २०८३, आइतबार

रक्षा उत्पादनमा आत्मनिर्भर बन्दै भारत, अडानी डिफेन्सले परीक्षण गर्‍यो आधुनिक ट्याङ्कभेदी क्षेप्यास्त्र



आधुनिक ट्याङ्कका सुरक्षा कवचलाई समेत निस्तेज पार्न सक्ने र दिनरात दुवै समयमा काम गर्ने गरी तयार पारिएको यो स्वदेशी प्रणालीले भारतको रक्षा आत्मनिर्भरता अभियानमा नयाँ इँटा थपेको बताइएकाे छ।

काठमाडाैँ । अडानी डिफेन्स एन्ड एरोस्पेसले भारतकाे राजस्थानको “स्वर्ण नगरी” अर्थात् पोखरण (जैसलमेर) स्थित सैन्य अभ्यास क्षेत्रमा गाडीमा जडान गरी प्रहार गर्न सकिने नयाँ ट्याङ्कभेदी निर्देशित क्षेप्यास्त्र प्रणालीको सफल प्रदर्शन गरेको छ।

आठ किलोमिटर टाढासम्मका बख्तरबन्द लक्ष्यलाई ध्वस्त पार्न सक्ने क्षमता रहेको यो प्रणालीले भारतीय सशस्त्र बलका लागि आधुनिक ट्याङ्कभेदी प्रविधि विकास गर्ने कम्पनीको अभियानलाई दर्शाएको छ।

लेजर बिमको सहायताले लक्ष्य पहिल्याउने प्रविधि र आधुनिक ट्याङ्कहरूमा जडान गरिएका सक्रिय सुरक्षा प्रणालीलाई समेत निस्तेज पार्न एकैपटक दुईवटा क्षेप्यास्त्र प्रहार गर्न सक्ने विशेष क्षमता यसमा छ।

अठार महिनाको अवधिमा विकसित गरिएको ‘बघिरा एटी१’ नामक यो प्रणालीलाई भारतको भौगोलिक बनावट, हावापानी र सैन्य आवश्यकता अनुसार तयार पारिएको हो।

कम्पनीले शनिवार जारी गरेको आधिकारिक विज्ञप्ति अनुसार अडानी डिफेन्सले नै डिजाइन गरेको ‘फोर बाई फोर’ उच्च गतिशील बख्तरबन्द गाडीमा यो प्रणाली जडान गरिएको छ। यसमा क्षेप्यास्त्र, स्वचालित लन्चर र दिन तथा रात दुवै समयमा लक्ष्य पहिचान गर्न सक्ने प्रविधिलाई एकीकृत गरिएको छ।

गत नोभेम्बर २० मा आयोजित उक्त परीक्षण कार्यक्रममा भारतीय सेना, सैन्य मामिला विभाग र रक्षा मन्त्रालयका वरिष्ठ प्रतिनिधिहरू सहभागी थिए।

परीक्षणका क्रममा दिन र रातको समयमा लक्ष्य भेदन गर्ने क्षमता, बख्तरबन्द गाडीविरुद्ध एकैसाथ दुईवटा क्षेप्यास्त्र प्रहार गर्ने तरिका र लामो दूरीमा रहेको हवाई लक्ष्यमाथि प्रहार गर्ने क्षमताको सफल प्रमाणीकरण गरिएको कम्पनीले जनाएको छ।

प्रहार क्षमता

कम्पनीका अनुसार यस क्षेप्यास्त्रले आठ किलोमिटरको दूरीसम्म अचूक प्रहार गर्न सक्छ भने यसको बृहत् संरचनाले १० किलोमिटरसम्मको निर्देशित प्रहारलाई समेत धान्न सक्छ।

यसमा लेजर बिम-राइडिङ गाइडेन्स प्रविधि प्रयोग गरिएकाले शत्रु पक्षको इलेक्ट्रोनिक अवरोध वा जामिङले यसलाई खासै असर गर्दैन।

एउटा गाडीमा तत्काल प्रहारका लागि तयार अवस्थामा चारवटा र पुनः लोड गर्न मिल्ने गरी थप आठवटा गरी कुल १२ वटा क्षेप्यास्त्र बोक्ने क्षमता छ।

विशेष गरी आधुनिक ट्याङ्कहरूको प्रतिरक्षा प्रणालीलाई छल्न यसमा एकैपटक दुईवटा क्षेप्यास्त्र प्रहार गर्न मिल्ने सुविधा राखिएको छ।

खरिद प्रतिबद्धताबिना नै परीक्षण

यो परीक्षण ‘नो कस्ट नो कमिटमेन्ट’ अर्थात् कुनै शुल्क र खरिदको पूर्वप्रतिबद्धताबिनाको व्यवस्था अन्तर्गत सम्पन्न गरिएको हो। यसले सशस्त्र बललाई तत्काल खरिदको बाध्यताबिना नै प्रणालीको कार्यक्षमता मूल्याङ्कन गर्ने अवसर दिएको छ।

भारतले आफ्नो ट्याङ्कभेदी क्षेप्यास्त्र भण्डारलाई आधुनिकीकरण गर्ने र आयातमाथिको निर्भरता घटाउने प्रयास गरिरहेका बेला यो विकासक्रम सार्वजनिक भएको हो।

भारतसँग हाल मिलान-२टी र कोन्कर्स-एम जस्ता प्रणालीहरू छन् भने स्पाइक क्षेप्यास्त्र भित्र्याउने प्रक्रियासँगै थप आधुनिक ट्याङ्कभेदी क्षमता हासिल गर्ने प्रयास निरन्तर जारी छ।

अडानी डिफेन्सका लागि यो सफल प्रदर्शन भारतको रक्षा उत्पादन क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्ने अर्को महत्त्वपूर्ण कदम बनेको छ।

कम्पनीले यस कार्यक्रम अन्तर्गत एक पूर्ण युद्ध प्रणालीको विकास, एकीकरण र परीक्षण गरिएको बताउँदै स्वदेशमै उत्पादन, मर्मतसम्भार र दीर्घकालीन प्राविधिक सहयोगको क्षमता निर्माणमा ध्यान केन्द्रित गरिएको उल्लेख गरेको छ।