७ मंसिर २०८३, सोमबार

साउदी अरबको दबाब र युरोपेली सङ्घको अस्वीकारपछि कोप–३१ वार्ता भङ्ग, हिमालको मुद्दा अलपत्र



विश्वव्यापी तापमान वृद्धिलाई रोक्ने ठोस योजना र खनिज इन्धनको प्रयोग घटाउने विषयमा सहमति जुट्न नसक्दा इतिहासकै सबैभन्दा लामो संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन बिनासहमति टुङ्गिएको छ। यससँगै हिमाली सङ्कट र क्षतिपूर्तिको मुद्दा उठाउन पुगेको नेपाल सरकारको आशाकाे महल गर्ल्यामगुर्लुम ढलेकाे मात्रै छैन, स्वदेशमा देखिएकाे राजनीतिक प्रचारबाजीकाे वास्तविकता पनि उदाङ्गो भएको छ।

काठमाडाैँ । टर्कीको अन्ताल्यामा आयोजित संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) बिनानिष्कर्ष टुङ्गिएसँगै जलवायु परिवर्तनको उच्च जोखिममा रहेको नेपालका लागि गम्भीर धक्का लागेको छ। सम्मेलनका अध्यक्षद्वय टर्की र अस्ट्रेलियाले प्रस्तुत गरेको अन्तिम मस्यौदालाई युरोपेली सङ्घ (ईयू) र अन्य देशहरूले अस्वीकार गरेपछि आइतवार वार्ता विफल भएको हो।

नेपालजस्ता पर्वतीय र अति कम विकसित मुलुकहरूले हिमाल पग्लने क्रम रोक्न, खनिज इन्धनको प्रयोग घटाउन र पर्याप्त जलवायु वित्त (क्षतिपूर्ति) सुनिश्चित गर्न ठोस सम्झौताको अपेक्षा गरेका थिए। तर, ठूला तेल उत्पादक राष्ट्रहरूको दबाब र शक्ति राष्ट्रहरूको स्वार्थका अगाडि साना तथा जोखिमयुक्त देशहरूको आवाज दबिन पुग्यो।

यसले एकातिर विश्वव्यापी जलवायु कूटनीतिको सीमा देखाएको छ भने अर्कोतिर सम्मेलनलाई आन्तरिक राजनीतिक प्रचारबाजीको थलो बनाएको नेपाल सरकारको कूटनीतिक असफलतालाई समेत सतहमा ल्याइदिएको छ।

हिमाली सङ्कट र नेपालको बढ्दो जोखिम

गत अक्टोबरमा संयुक्त राष्ट्रसङ्घको वातावरणीय निकायले विश्वको तापमान पेरिस सम्झौताको लक्ष्यअनुसार १.५ डिग्री सेल्सियसको सीमा नाघ्ने निश्चित भइसकेको पुष्टि गरेपछिको यो पहिलो कोप सम्मेलन थियो। वैज्ञानिकहरूका अनुसार तापमान यो सीमाभन्दा माथि जाँदा हिमाली क्षेत्रमा भयावह असर पर्छ। नेपालले पछिल्ला वर्षहरूमा बेमौसमी वर्षा, विनाशकारी बाढी, पहिरो, हिमताल विस्फोटको जोखिम, डढेलो र खडेरीजस्ता जलवायुजन्य विपद्को चर्को मार खेपिरहेको छ।

यस्तो संवेदनशील घडीमा नेपालले पर्वतीय क्षेत्रका मुद्दालाई विश्व मञ्चमा निर्णायक ढङ्गले स्थापित गर्नुपर्ने थियो। तर, विफल भएको मस्यौदामा न त तापमान वृद्धिको मुख्य कारक मानिएको खनिज इन्धन (तेल, ग्यास र कोइला) बाट बाहिरिने स्पष्ट मार्गचित्र समेटियो, न त विकासशील देशहरूले माग गरेअनुसार अनुकूलन र क्षतिपूर्तिका लागि ठोस वित्तीय सुनिश्चितता नै गरियो।

मस्यौदामा जलवायु वित्त तीन गुणा बढाउने अमूर्त भाषा राखिए पनि कुन आधार विन्दुबाट र कहिलेसम्म बढाउने भन्ने स्पष्ट पारिएको थिएन। साथै, टर्कीले सन् २०३५ सम्ममा विश्व ऊर्जा खपतमा विद्युत्को हिस्सा २३ प्रतिशतबाट ३५ प्रतिशत पुर्याउने प्रस्ताव अघि सारेको थियो, जसले खनिज इन्धन कटौतीको स्पष्ट बाटो नदेखाई नेपालजस्ता गरिब राष्ट्रहरूमाथि उल्टै आर्थिक भार थोपर्ने आलोचकहरूको तर्क छ।

सरकारकाे आन्तरिक प्रचारबाजी

कोप–३१ चलिरहँदा नेपाल सरकारको ध्यान भने ठोस कूटनीतिक लबिङभन्दा देशभित्र राजनीतिक प्रचारबाजी गर्नमै बढी केन्द्रित देखियो। सम्मेलनमा उच्चस्तरीय सहभागिता, जम्बो प्रतिनिधिमण्डलको भ्रमण, औपचारिक साइड–इभेन्ट र सामाजिक सञ्जालमा तस्बिर तथा भाषणको प्रचारलाई नै सरकारले ठूलो उपलब्धिका रूपमा प्रस्तुत गरिरह्यो।

नेपालले हरेक वर्षजस्तै यसपटक पनि “हिमालको मुद्दा उठायौँ” र “विश्वको ध्यानाकर्षण गरायौँ” भन्ने परम्परागत रटान दोहोर्यायो। मन्त्रीहरूले कुन भूगाेल र जातीका कपडा लगाएर सम्मेलनमा गएकाे भन्दै सामाजिक सञ्जालमा रिल्स र तस्वीरहरू पाेस्ट्याए । तर, बन्द कोठाभित्र हुने वास्तविक मोलमोलाइ (नेगोसिएसन) मा नेपालको उपस्थिति र प्रभाव नगन्य देखियो।

वार्ताकारहरूका अनुसार अन्ताल्या सम्मेलनमा साउदी अरबजस्ता ठूला तेल उत्पादक देशहरूको अस्वाभाविक पहुँच र प्रभाव रह्यो। सानो टापु राष्ट्रका एक वार्ताकारले त सम्मेलनका अध्यक्षहरूसँग तय भएको बैठकसमेत पटक–पटक रद्द गरिएको गुनासो गरे।

यस्तो विषम परिस्थितिमा नेपालले हिमाली राष्ट्रहरू, अतिकम विकसित मुलुकहरू (एलडीसी) र साना टापु राष्ट्रहरूसँग मिलेर बलियो मोर्चाबन्दी गर्न र निर्णायक दबाब सिर्जना गर्न सकेन। देशभित्र जलवायु न्यायको चर्को नारा लगाउने तर अन्तर्राष्ट्रिय मञ्चमा ठोस परिणाम निकाल्न नसक्ने सरकारी प्रवृत्तिले यसअघि संयुक्त राष्ट्रसंघकाे महासभामा पुगेर प्रधानमन्त्री बालेन्द्र शाहले गरेकाे भाषण हाेस् वा अहिले काेपकाे बेला परराष्ट्र मन्त्रालयले गरेका प्रचारहरू “बेकार” वा “परिणामहिन” देखिएका छन् ।

वार्ता विफलताको अन्तर्राष्ट्रिय दृश्य

दुई साताभन्दा बढी समयसम्म चलेको वार्ता निर्धारित समयभन्दा दुई दिन थप लम्बिएर इतिहासकै सबैभन्दा लामो कोप सम्मेलन बने पनि सहमति जुट्न सकेन। समापन सत्रमा टर्कीका सम्मेलन अध्यक्ष मुरात कुरुमले “अब गर्न सकिने केही बाँकी छैन, हामीले सक्दो प्रयास गर्यौँ” भन्दै अब नयाँ मस्यौदा अघि नबढाइने घोषणा गरे र प्रतिनिधिहरूले बोलिरहेकै बेला मञ्चबाट बाहिरिए।

अस्ट्रेलियाका तर्फबाट कोप–३१ वार्ताका अध्यक्ष क्रिस बोवेनले नतिजा “निकै निराशाजनक” रहेको बताउँदै खनिज इन्धन र जलवायु वित्तको मतभेद नै सहमतिको बाधक बनेको स्वीकार गरे। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले पनि जलवायु सङ्कटले माग गरेअनुसार सरकारहरू गम्भीर बन्न नसकेको भन्दै गहिरो निराशा व्यक्त गरे।

आयरल्यान्डका वातावरणमन्त्री डारा ओ’ब्रायनले खनिज इन्धनबाट टाढा जाने कुनै उल्लेख नभएको सम्झौता स्वीकार गर्नु अनैतिक हुने बताए। उनले यो कोप सम्मेलनलाई केही तेल उत्पादक राष्ट्रहरूले “हाइज्याक” (अपहरण) गरेको आरोपसमेत लगाए।

साउदी अरब र अन्य तेल उत्पादक देशहरूले भने खनिज इन्धनको प्रसङ्ग हटाएर वायुमण्डलबाट कार्बन हटाउने (कार्बन रिमुभल) प्रविधिमा जोड दिन लबिङ गरेका थिए, जसलाई आलोचकहरूले निरन्तर तेल उत्खनन गरिरहने लाइसेन्सका रूपमा व्याख्या गरे।

नेपालका लागि अबको बाटो

सन् २००९ को कोपनहेगन सम्मेलनपछि पहिलो पटक संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्ता यसरी पूर्ण रूपमा विफल भएको हो। सन् २०१५ को पेरिस सम्झौतापछि विश्वको तापमान वृद्धिको प्रक्षेपण ४ डिग्री सेल्सियसबाट घटेर २.८ डिग्रीमा झरेको भए पनि त्यो नेपालजस्ता हिमाली देशहरूको अस्तित्व जोगाउन पर्याप्त छैन।

बेल्जियमका जलवायुमन्त्री जाँ–लुक क्रुकले यो नतिजालाई “बहुपक्षीयताको अन्त्य नभएको” बताए पनि नेपालका लागि भने यो गम्भीर आत्मसमीक्षाको घडी हो। जलवायु परिवर्तनको कारक नै नभएको नेपालले हरेक वर्ष बढ्दो प्राकृतिक विपद्को मूल्य चुकाइरहेको छ।

यस्तो अवस्थामा सस्तो लोकप्रियता र आन्तरिक राजनीतिक प्रचारबाजी त्यागेर व्यावसायिक, तथ्यपरक र परिणाममुखी जलवायु कूटनीति नअपनाएसम्म अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज “रत्याैलीकाे नाच” जस्ताे केवल औपचारिकतामा मात्र सीमित रहने देखिने विज्ञहरूले बताएका छन् ।