प्रधानमन्त्री शाह र मोदीले गरे तल्लो अरुणको भर्चुअल शिलान्यास, नेपालले २१ प्रतिशत बिजुली निःशुल्क पाउने
भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्यास गरेका छन् । सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा आयोजित विशेष समारोहका बीच दुई देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट आयोजनाको शिलान्यास गरेका हुन् ।
काठमाडाैँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्यास गरेका छन् । सोमबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा आयोजित विशेष समारोहका बीच दुई देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट आयोजनाको शिलान्यास गरेका हुन् ।
यससँगै संखुवासभामा निर्माण हुने बहुचर्चित तल्लो अरुण जलविद्युत् आयोजना औपचारिक रूपमा निर्माणको चरणमा प्रवेश गरेको छ । लगानी बोर्ड कार्यालयकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) याङकी उक्याबले हैदराबाद हाउसबाट भर्चुअल शिलान्यास सम्पन्न भएको पुष्टि गर्दै भौतिक रूपमा शिलान्यासको कार्य भने नेपालबाटै गरिने जानकारी दिइन् ।
उनका अनुसार अब तल्लो अरुण आयोजना तीव्र गतिमा निर्माणको चरणमा अघि बढेको छ ।
छनोट प्रक्रिया
नेपाल सरकारले वि.सं. २०७५ को लगानी सम्मेलनमा तल्लो अरुणलाई ‘सोकेस’ परियोजनाका रूपमा प्रस्तुत गरेको थियो । सो समयमा आयोजना निर्माणका लागि तीनवटा कम्पनीले इच्छा देखाएका थिए ।
इच्छुक कम्पनीहरूमा भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन), हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड (पावर चाइना) को संयुक्त उपक्रम (जेभी) तथा ग्रिन रिसोर्स र जापानको इलेक्ट्रिक पावर डेभलपमेन्ट कम्पनी रहेका थिए ।
सरकारले प्रस्ताव माग गरेकामध्ये एसजेभीएन र पावर चाइनाले मात्रै औपचारिक प्रस्ताव पेस गरेका थिए । ती दुवै कम्पनीले नेपाललाई २० प्रतिशतभन्दा बढी विद्युत् ऊर्जा निःशुल्क उपलब्ध गराउने गरी प्रस्ताव पठाएका थिए ।
प्रस्तावहरूको मूल्याङ्कनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा वि.सं. २०७७ माघ १६ गते बसेको लगानी बोर्डको ४६ औँ बैठकले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना एसजेभीएनलाई नै निर्माण गर्न दिने निर्णय गरेको थियो ।
सोही निर्णयबमोजिम वि.सं. २०७८ असार २७ गते समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो भने वि.सं. २०८० जेठ १८ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा आयोजनाको परियोजना विकास सम्झौता (पीडीए) सम्पन्न भएको थियो ।
नेपाललाई हुने लाभ
अनुमानित ९२ अर्ब ६७ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको तल्लो अरुण जलविद्युत् आयोजनाबाट नेपालले उत्पादन हुने कुल बिजुलीको २१ प्रतिशत ऊर्जा निःशुल्क प्राप्त गर्नेछ । परियोजना विकास सम्झौताअनुसार प्रवर्द्धक कम्पनीले विद्युत् उत्पादन सुरु भएको १५ वर्षसम्म नेपाल सरकारलाई क्षमता रोयल्टी (क्यापासिटी रोयल्टी) बापत प्रतिकिलोवाट ४ सय रुपैयाँ र ऊर्जा रोयल्टी (इनर्जी रोयल्टी) बापत ७ दशमलव ५ प्रतिशत बुझाउनुपर्नेछ ।
त्यसैगरी, उत्पादन सुरु भएको १५ वर्षपछि भने प्रतिकिलोवाट क्षमता रोयल्टी १ हजार ८ सय रुपैयाँ र ऊर्जा रोयल्टी १२ प्रतिशतका दरले सरकारलाई बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
वित्तीय व्यवस्थापन
आयोजना निर्माणका लागि मुख्य संरचनाहरूको ठेक्का प्रक्रिया समेत अघि बढिसकेको छ । प्रवर्द्धक कम्पनी एसजेभीएनले प्याकेज–१ अन्तर्गत मुख्य सुरुङ, स्पिल सुरुङ, अडिट तथा पहुँच सडक निर्माणको ठेक्का १८ अर्ब ३८ करोड ७३ लाख रुपैयाँ (भारु ११ अर्ब ४९ करोड २१ लाख) मा दिनेशचन्द्र आर. अग्रवाल इन्फ्राकनलाई प्रदान गरेको छ ।
प्याकेज–२ को ठेक्काका सन्दर्भमा भने केही फरक विवरणहरू देखिएका छन् । भारतीय सञ्चारमाध्यम इकोनोमिक टाइम्सले २५ अर्ब ४८ करोड रुपैयाँ (भारु १५ अर्ब ९३ करोड) बराबरको प्याकेज–२ को ठेक्का पटेल इन्जिनियरिङले पाइसकेको समाचार प्रकाशित गरेको थियो । तर, प्रवर्द्धक कम्पनीको आधिकारिक वेबसाइटमा भने प्याकेज–२ को ठेक्का पनि दिनेशचन्द्र आर. अग्रवाल इन्फ्राकनले नै पाएको उल्लेख छ ।
आयोजनाको शिलान्यास र ठेक्का प्रक्रिया अघि बढे पनि तल्लो अरुण जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) भने अझै भइसकेको छैन । लगानी बोर्डका प्रवक्ता तथा सहसचिव भूपेन्द्र थापाले गत कात्तिकमा वित्तीय व्यवस्थापन र निर्माणका लागि ठेक्का प्रक्रियालाई एकैसाथ अघि बढाइएको बताएका थिए ।
कम्पनीले आफ्नो स्वपुँजीबाट तल्लो अरुणका लागि आवश्यक जग्गा अधिग्रहण गरिसकेको र एकातर्फ वित्तीय व्यवस्थापन तथा अर्कोतर्फ निर्माणका लागि ठेक्का आह्वानलाई सँगसँगै लगिएको उनले उल्लेख गरेका थिए ।
यता, प्रवर्द्धक कम्पनी एसजेभीएनका एक प्रतिनिधिले पीडीए भइसकेकाले वित्तीय व्यवस्थापनका लागि तीव्र रूपमा काम भइरहेको जानकारी दिए । कम्पनीकै स्वपुँजीबाट आयोजनाको टेन्डर लगायतका काम भइरहेको बताउँदै उनले अबको एक महिनाभित्र वित्तीय व्यवस्थापन टुङ्ग्याएर पूर्ण रूपमा निर्माणमा जाने तयारी रहेको बताए ।















