७ मंसिर २०८३, सोमबार

जनकपुरधाम-अयोध्या रेल सेवा उद्घाटन : मधेसको पर्यटन र अर्थतन्त्रमा नयाँ उत्साह



काठमाडौँ। धार्मिक, ऐतिहासिक र सांस्कृतिक नातालाई अझ बलियो बनाउने लक्ष्यका साथ सोमबारदेखि जनकपुरधाम र अयोध्याबीच विशेष रेल सेवा सञ्चालनमा आएको छ। नयाँदिल्लीको हैदरावाद हाउसबाट भर्चुअल विधिमार्फत नेपालका प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकैसाथ यस सेवाको शुभारम्भ गरेका हुन्।

उद्घाटन सम्पन्न हुनासाथ अयोध्याबाट जनकपुरतर्फको रेल यात्रा सुरु हुनेछ, जसलाई अयोध्या रेलवे स्टेसनबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ तथा रेल प्रशासनका वरिष्ठ अधिकारीहरूले औपचारिक बिदाइ गर्ने कार्यक्रम रहेको छ। योसँगै नेपाल र भारतका यी दुई अति महत्त्वपूर्ण धार्मिक केन्द्र सिधा रेल सञ्जालमा जोडिएका छन्।

यसअघि नै भारतीय रेलवे विभागले जनकपुरधाम र उत्तर प्रदेशको अयोध्या क्यान्टबीच साप्ताहिक रेल सञ्चालनका लागि अनुमति प्रदान गरिसकेको थियो। लगभग ६०४ किलोमिटर लामो यो सोझो रेल मार्गले सीमापार यातायात र धार्मिक पर्यटनलाई थप सरल बनाउने विश्वास भारतीय रेल मन्त्रालयले व्यक्त गरेको छ।

रेलवे बोर्डको कार्यतालिकाअनुसार यो विशेष रेल हप्तामा एक दिन दुवै दिशामा चल्नेछ, जसमा जनकपुरधामबाट प्रत्येक शनिबार दिउँसो १:१० बजे हिँड्ने रेल आइतबार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्नेछ भने फर्किने क्रममा प्रत्येक सोमबार साँझ ५:५० बजे अयोध्या क्यान्टबाट (रेल नं. १५५९६) छुटी जनकपुरधामतर्फ आउनेछ।

करिब ६०४ किलोमिटर दूरी तय गर्ने क्रममा रेलले जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाम गरी प्रमुख स्टेसनहरूमा बिसौनी लिनेछ।

यस रेलको सुरक्षा व्यवस्थाबारे दुई देशबीच पहिले निकै बहस र संवाद भएको थियो। नेपाली भूभागमा भारतीय रेल सञ्चालन हुँदा सुरक्षाको जिम्मेवारी कसले लिने भन्ने विषयमा नेपालले आफ्नै भूमिमा आफ्नै सुरक्षा निकाय खटिनुपर्ने अडान राखेको थियो भने भारतले आफ्नो रेल पुग्ने क्षेत्रसम्म आफ्नै सुरक्षाकर्मी रहने धारणा अघि सारेको थियो।

मधेसको पर्यटन र अर्थतन्त्रमा उत्साह

सीता माताको जन्मस्थल जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्यालाई सिधा रेलमार्गले जोड्दै ‘रामायण सर्किट’ पर्यटनलाई गति दिने उद्देश्यसहित दुवै मुलुकले यो कदम चालेका हुन्। रेल सेवा सुरु भएसँगै जनकपुरबाट नेपालका अन्य गन्तव्यमा हवाई उडान विस्तार गर्ने योजना पनि अघि सारिएको छ। विशेषगरी जनकपुर–पोखरा हवाई मार्ग सञ्चालन गरी जनकपुर आइपुग्ने पर्यटकलाई देशका अरू भागमा लैजाने लक्ष्य राखिएको छ।

नयाँ रेल सेवाले स्थानीय बासिन्दालाई यात्रामा सहजता प्रदान गर्नुका साथै दुई देशबीच लामो समयदेखि रहँदै आएको सांस्कृतिक र आध्यात्मिक सम्बन्धलाई भौतिक पूर्वाधारमार्फत अझ नजिक्याउने ठानिएको छ।

पौराणिक एवं धार्मिक विश्वासअनुसार जनकपुरधाम सीता माताको जन्मभूमि र अयोध्या श्रीरामको जन्मभूमि मानिन्छ। त्रेतायुगमा जनकपुरका राजा जनककी छोरी सीता र अयोध्याका राजकुमार रामबीच सम्पन्न विवाहले यी दुई नगरीलाई रामायणकालीन साझा परम्परामा बाँधेको छ। जनकपुरका जानकी मन्दिर, राम मन्दिर, विवाहमण्डप र अयोध्याको राम मन्दिरजस्ता धरोहरहरूले दुई देशको साझा आस्था र सम्पदाको प्रतिनिधित्व गर्छन्।

हरेक वर्ष विवाहपञ्चमीमा अयोध्याबाट आउने जन्ती र जनकपुरधामबाट पठाइने भारको परम्पराले यी दुई सहरबीचको पुरानो सम्बन्धलाई जीवन्त राखेको छ। साथै, प्रत्येक विवाहपञ्चमीमा अयोध्याबाट जनकपुरधाम पुग्ने साधुसन्त एवं भक्तजनहरूको उपस्थितिले आपसी सद्भावलाई अझ गाढा बनाउँदै आएको छ।

जनकपुरधाम र अयोध्याबीचको यो प्रत्यक्ष रेल सम्पर्कले धार्मिक पर्यटनको ढोका खोल्दै मधेसको आतिथ्य, व्यापार र स्थानीय अर्थतन्त्रमा नयाँ ऊर्जा र उत्साह भरिदिएको छ, जसले यहाँको समग्र विकासलाई समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।